वर्तमान गठबन्धन फेल भए यो व्यवस्था नै ढल्छ : अमरेशकुमार सिंह
काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वर्तमान गठबन्ध फेल भएको खण्डमा वर्तमान व्यवस्था ढल्ने टिप्पणी गरेका छन् ।
बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले संसद्का दुई ठूला दल मिलेर गठन भएको यो सरकार नै वतएमान व्यवस्थाको अन्तिम सरकार भएको टिप्पणी गरेका छन् ।
उनले संसद्का दुई ठूला दल मिलेर सरकार बनेको अभ्यास नेपाल बाहेक संसारमा कहीँ नभएकाले उल्लेख गरे ।
उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएको कारणले व्यवस्था फेल भएको खण्डमा राजनीतिक दलभन्दा बढी कर्मचारी दोषि हुने जिकिर गरे ।
सांसद सिंहले सादा पोसाकका प्रहरीलाई फिल्डमा खटाउन नहुने समेत बताए । घुमुवा प्रहरी खटाउनु नै परे घुमुवा पोसाकका प्रहरी मात्र खटाउनुपर्ने बताए ।
उनले भन्सार तथा यातायात कार्यालयहरुमा विचौलियामार्फत मात्र जनताको काम हुने प्रवृत्ति अन्त्य गनुपर्ने बताए ।
उनले निजामति विधेयकलाई पास गर्दा राजनीतिक दबाब र प्रभावमा पर्न नहुने बताए । उनले सबै निजामति कर्मचारीका माग सम्बोधन हुनेगरी विधेयक ल्याउन जरुरी रहेको बताए । ‘विचौलिया बनाउने काम राज्यले ने गरेको छ । जनताको काम राज्यबाट नभई विचौलियाबाट हुने गरेको छ । ठूलो विचौलिया हटाउने त प्रधानमन्त्री कै क्षमता छैन हटाउने किनभने उहाँकै कार्यकर्ता हो,’उनले भने ‘त्यसकारण मेरो एउटै भनाइ के छ भने यो विधेयकलाई कुने राजनीतिक दलको दबाबमा परेर पास नगरौं । कर्मचारीका माग सम्बोधन हुनेगरि गरौं ।’
बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रश्तावकर्ता सांसदहरुसँग छलफल भएको थियो ।