एनपिएल : फाइनलमा सुदुरपश्चिम र जनकपुर भिड्दै,कसले पाउला एक करोड १० लाख ?
काठमाडौं । जनकपुर बोल्ट्सले बिहीवार कर्णाली याक्सलाई दुई विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त तय गरेको छ ।
जिमी निसमको अलराउन्ड प्रदर्शनमा जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउँदै सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त पक्का गरेको हो । बुधवार नै सुदूरपश्चिमले जनकपुरलाई नै पहिलो क्वालिफायरमा हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८.५ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो । निसमले सर्वाधिक ४५ रन जोड्दै जितनजिक पुर्याएका हुन् । उनले १७ बलमा पाँच छक्का र दुई चौका प्रहार गरे । अलराउण्ड प्रदर्शन गरेका निसम म्यान अफ दी म्याच भए ।
यसैबीच पहिलो संस्करणको एनपिएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने छ ।
प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्दा तेस्रो स्थान हासिल गर्ने टोलीले रू २५ लाख प्राप्त गर्ने छ । त्यस्तै चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।
फाइनल खेल शनिवार हुँदैछ ।