रविमाथि लगाइयो ३ कसुर, मुद्दा दर्ताको अन्तिम तयारी
काठमाडौं । कास्कीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयले पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो, जसमा लामिछाने र गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसहित अन्य व्यक्तिहरूविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
अदालतले प्रतिवेदनको अध्ययनका लागि पुस १ गतेदेखि चार दिनको म्याद थपेको थियो, जुन आज, शुक्रबार मध्यराति १२ बजेपछि सकिँदै छ । शनिबार सार्वजनिक बिदा भएकाले मुद्दा दर्ता गर्न आजै वा आइतबारको दिनमा तयारी गरिएको छ । कास्की प्रहरीले रविसहित ५१ जनलाई प्रतिवादी बनाउँदै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
संसदीय छानबिन विशेष समितिले लामिछानेको संलग्नतासहित गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न सहकारी संस्थाहरूको रकम अपचलन गरेको रिपोर्ट तयार गरेको थियो । यसमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र अन्य संस्थाहरूका रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरिएको आरोप छ ।
संसदीय रिपोर्टपछि, छविलाल जोशीलाई असोज ६ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो, र कात्तिक २ गते रवि लामिछानेलाई पक्राउ गरिएको थियो । यस क्रममा उनीहरूको बयान बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा पनि लिइएको थियो । संगठित अपराधको मुद्दामा ९० दिनभित्र मुद्दा अदालतमा पेश गर्नुपर्ने प्रक्रिया अनुसार, रवि लामिछानेका लागि म्याद थपेर मुद्दा दर्ता गर्ने तयारी छ ।