नेगेटिभिटीमा रमाउने जमातले अफवाह फैलायो, अब नेपालमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको नाममा उद्योगी व्यवसायीहरुले नाफा बढाउन खोजेको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले यस्तो आरोप लगाएका हुन् ।
उनले नेपालमा अब लोडसेडिङको कुनै सम्भावना नरहेको र हालको विद्युत आपूर्ति समस्या केवल प्राविधिक कारणले भएको बताए । नेपालमा अब लोडसेडिङ हुँदैन,’ उनले भने, ‘हालका समस्याहरु प्राविधिक कारणले उत्पन्न भएका हुन् र केही समयमै समाधान हुनेछन् ।’
घिसिङले लोडसेडिङको हल्ला चलाएर उद्योगीहरुले आफ्नो नाफा बढाउन चाहेको आरोप लगाउँदै थपे, ‘उद्योगीहरुले अहिले बत्ती नपाएको भन्ने बहाना बनाएर उत्पादनको मूल्य बढाउन थालेका छन् । यसै गरी, लोडसेडिङ हुँदा एक किसिमका उद्योगीहरु खुसी हुने र प्राधिकरण नाफामा जाने साथमा अर्को समूह खुसी नहुने प्रवृत्ति देखिन्छ ।’
उनले लोडसेडिङको कुरा गर्दा जनतालाई २०/२२ घण्टा विद्युत आपूर्तिबाट वञ्चित राखेर उद्योगीहरुले ठूलो नाफा कमाएको स्मरण गराए । तामाकोशी आयोजनामा आएको बाढीले केही समयका लागि विद्युत आपूर्ति प्रभावित भएको र मर्मतको काम अन्तिम चरणमा रहेको उनले बताए । ‘प्राविधिक समस्याहरु केही समयको मात्रै कुरा हो, लोडसेडिङको यात्रा नेपालमा अब सम्भव छैन,’ उनले भने ।