कवाडी मजदुर कुलदिप भन्छन् – ‘महानगरले पाकेको भात पनि खान दिएन’

काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित कवाडी गोदाममा डोजर चलाएको छ । महानगरले शुक्रवार दिउँसो केही प्रहरीहरूसहित आएर कवाडी गोदाममा डोजर चलाएको हो ।

६ महिना अगाडि नै उक्त स्थानबाट गोदाम हटाउन भन्दै महानगरले सूचना जारी गरिसकेको थियो । गोदाम सञ्चालकले पनि गोदामका अधिकांश सामानहरू अन्तै सारी सकेका थिए । उक्त गोदाममा अब केही सामानहरू मात्र सार्न बाकीँ थियो ।

त्यहाँ करिब २०/२५ जना मजदुरहरूले काम गर्दै आएका थिए । उनीहरूमध्ये एक हुन् रौतहटका कुलदिप राय ।

उनको टाउकोको कपाल सेतै फुलेका देखिन्थ्यो । जिउमा मैलो खैरो ज्याकेट र घाटीमा सुन्तला रंगको गलबन्दी बेरेका देखिन्थे । उनी त्यस गोदाममा धेरै वर्षदेखि उपत्यकाकाबाट फलाम, बोतल, कागजहरू बटुलेर ल्याउने काम गर्दा रहेछन् ।

सदाझैँ उनी आज पनि एका बिहानै साइकलमा चढेर ‘फलाम, बोतल, कागज’ खोज्न उपत्यकाका विभिन्न ठाउँहरूमा पुगे ।

कुलदिप रायले आज अलि थोरै कवाडी पाए जस्तो देखिन्छ ।  किनकि उनको साइकलमा झुन्ड्याइएका बोराहरू खासै भरिएका थिएनन् ।

दिउँसो करिब १ बजेको समय । उनी खाना खान भनेर अनामनगरस्थित गोदाममा पुग्छन् । गोदाममा उनका लागि दाल, भात पाकिसकेको थियो । त्यसैबेला एक्कासि महानगर आएर उक्त गोदाममाथि डोजर चलाउन थाल्यो । डोजरले कवाडी सामानहरूसँगै कुलदिपका खाना, नाना र छाना सबै कुल्चीमिल्ची पारिदियो ।

उता कुलदिपका साथी (मजदुर) हरू भने एकछेउमा उभिएर महानगरको विरोध गर्दै बचाउको माग गरिरहेका थिए । केही मिडियाकर्मीहरू भने उनीहरूलाई क्यामेरामा कैद गर्न व्यस्त देखिन्थे ।

त्यसको केहिपर चुपचाप निःशब्द उभिएका थिए, उही सेतै कपाल फुलेका, शरीरमा मैले खैरो ज्याकेट र गलामा सुन्तला रंगको गलबन्दी भिरेका कुलदिप राय । अनि उनीसँगै उभिएका थिए, उनको सवारी ।

रायले महानगरले पहिल्यै सूचना दिएको भएपनि आज पाकेको खाना समेत खान नदिई गोदाममा डोजर चलाएको भन्दै गुनासो गरे ।

‘ केही सामान झिक्न पाइन् । भित्र खाना पाकिसकेको थियो । भात पकाएर राखेछ, दाल पकाएर राखेछ । लुगा सुगा सबै त्यही छ ।’ उनले भने ।

उनले महानगरले यहाँबाट आफूहरूलाई हटाएमा इनाटोलमाको गोदाममा गएर काम गर्ने योजना पहिल्यै बनिसकेको जानकारी दिए ।

महानगरले गोदाम भत्काउँदा गाह्रो हुँदैन भन्ने प्रश्नमा उनले भने ‘गाह्रो त भइहाल्यो नि, अब फेरी जस्ताको तस्तै बनाउन सकिदैन् । के गर्ने ?’ उनले भारी आवाजमा भने ।

(मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले गोदामका मजदुरमाथि कुलदिप रायसँग गरेको कुराकानीको आधारमा तयार पारेको सामाग्री)

अनामनगरस्थित कवाडी गोदाममा महानगरले चलायो डोजर (भिडिओ)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *