नेपाली काँग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा.शेखर कोइराला
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो काँग्रेस बनाउने दाबी गरेका छन् ।
उनले नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अबको काँग्रेस बलियो र गतिशील काँग्रेस हुनुपर्ने बताए ।
उनले पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनु पर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको जनाए ।
‘नेपाली काँग्रेसको १५ औँ महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसका किन्तु परन्तु भन्न पाइदैन् ।’ उनले भने ।
उनले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने भएकाले महाधिवेशन बेलैमा हुनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुदृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको बताए ।
पार्टीमा एकता नभएको भन्दै उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेको सुनाए ।
उनले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारका क्रियाकलापले आफू निराशा भएको बताए । छिटो छिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थिरता कायम गर्न दुई ठुला दलको सरकार बनाएको तर सो अनुसार परिणाम दिन नसकेको बताए ।
नेता कोइरालाले एमालेसँग नेपाली काँग्रेसले सहकार्य र प्रतिस्पर्धा सँगसँगै गर्नु परेको बताए । सरकारमा सहकार्य र राजनीतिमा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता रहेकाले काँग्रेस चनाखो हुनुपर्ने बताए ।