सञ्चारमन्त्री गाउँ पुगेपछि…
काठमाडौं । लठ्ठीको साहारामा उभिएको बुढो शरीर । पावरवाला चस्माले परैबाट कसैलाई ठम्याउन खोज्दै थियो । आफ्नै जिल्लाबाट चुनिएर गएका नेता मन्त्री बनी गाउँघर आएका खबर सुनेर लमजुङ राइनास नगरपालिका–७ का ७९ वर्षीय वृद्ध धनश्याम गिरी हर्षित देखिन्छन् । आफूले भोट दिएर जिताएको जनप्रतिनिधि मन्त्रीका हैसियतले एक्कासी आफ्नै घरआँगनमा आउँदा खुशी देखिनलाई स्वभाविकै मान्नुपर्ला ।
प्रायः जन्मथलो सम्झेर गाउँमा पुग्ने नेताहरूमध्येमा पर्छन्, नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । जिल्लावासी तथा स्थानीय गाउँलेले उनीप्रति देखाएको आशा र भरोसालाई अझ जगाउनु पर्दछ भन्ने मूल्यमान्यतालाई आत्मसात् गर्दै जिल्लाबासी जनतासँग एकापसमा साक्षात्कार गरी रमाउन मनपराउने मन्त्री गुरुङ यही पुस ३ र ४ गते गृह जिल्ला लमजुङको राइनास नगरपालिका हुँदै क्व्हलासोथार गाउँपालिका र पर्यटकीय स्थल घले गाउँसम्म पुगे ।
क्व्हलासोथार गाउँपालिकाको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको भवन उद्घाटन गरेका मन्त्री गुरुङले स्थानीयवासीसँग प्रत्यक्ष भेटेर उनीहरूको दुःखसुख बुझे । मन्त्री भेट्नैका लागि काम छोडेर बाटामा हात जोड्दै उभिएका स्थानीयप्रति कृतज्ञ भई मन्त्री गुरुङ हालखबर सोध्दै भन्थे, ‘ज्यानलाई आरामै छ नि बुबा–मुवा, दाजू–दिदी, साथी’
मन्त्री गुरुङ आफू सदैव जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ भन्ने मान्यता राख्छन् । फोनको भरमा र सुनेको भरमा जनताका वास्तविक समस्या बुझिँदैन । त्यसैले त घर–दैलोमै पुगी स्थानीयका सुखदुःखमा साथ दिन उनी चाहन्छन् ।
राइनास नगरपालिका–८ तार्कुघाटस्थित श्री वीरभक्ति माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा पुगेका मन्त्री गुरुङले विद्यालयको अवस्था प्रत्यक्ष नियाले । विद्यार्थीका लागि आवश्यक पर्ने कम्प्युटर प्रयोगशाला, स्कुल बस र खेल मैदानलगायत भौतिक पूर्वाधारको अभाव भएको महशुस गर्दै उनले थपे, ‘शौचालय निकै फोहर रहेछ, यसलाई व्यवस्थित गर्नुहोस् ।’
सूचनाप्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यका साथ उनले जिल्लाका दश विद्यालयमा कम्प्युटर प्रयोगशालाका समेत व्यवस्था गरिदिएका रहेछन् । मन्त्री गुरुङ अहिले मन्त्रालयको जिम्मेवारीअन्तर्गत देशभर इन्टरनेट फोन सेवा विस्तार गर्न लागेका छन् ।
उनका अनुसार डिजिटल फेर्मवक बनाउने उद्देश्य सार्थक पार्न देशका कुना–कन्दरामा इन्टरनेट तथा टेलिफोन सेवा पुर्याउनै पर्छ । डिजिटल फेर्मवकको व्यवस्थासँगै इन्टरनेटमा आधारित शिक्षा, रोजगार तथा व्यापारको प्रवर्द्धन, विकास तथा विस्तारमा सहयोग पुग्ने भएकाले त्यसतर्फ सरकारले विशेष ध्यान दिएको उनले स्पष्ट गरे ।
गाउँमा मन्त्री पुग्दा जनताका असिमित आशा र माग त हुन्छन् नै राम्रो काम गरेको भनेर प्रशंसा गर्ने जनता पनि प्रसस्तै भेटिए । राइनास नगरपालिका–४ का पद्मराज पन्थीले मन्त्री गुरुङलाई हार्दिकता साथ धन्यवाद दिँदै भने, ‘यो चिल्लो सडक तपाईँकै कारणले सम्भव भएको हो मन्त्रीज्यू १’, ७२ वर्षीय स्थानीय पन्थीले भने, ‘सडक पक्की बनेपछि हामी गाउँलेको दैनिकी फेरिएको छ । रोजगार र व्यापार फस्टाएको छ । मान्छेहरूको चहलपहल बढ्दो छ ।’ वृद्ध पन्थीले आजभन्दा तीन दशकअघि सदरमुकामबाट हिँडेर गाउँ आउँदा खुट्टामा फोका उठ्ने गरेको विगत सम्झिए ।
दुई वर्षअघि धुलाम्मे हुने राइनास गाउँपालिकाको सडक अहिले मन्त्री गुरुङकै पहलमा कालोपत्र भएको छ । सडक पक्की भएपछि गाउँको जग्गाको मूल्य आकासिएकोमा स्थानीय खुसी छन् । ‘कुनै बेला एक हजार दुई सय पर्ने घडेरीको मूल्य अहिले ३० लाख रुपैयाँ भन्दामाथि पुगिसक्यो’, उनले भने, ‘यी सबै सडक विस्तारको चमत्कार हो, जुन मन्त्रीज्यूको कारण सम्भव भएको हो, हामी खुशी छौँ ।’
पुस ४ गते मन्त्री गुरुङ क्व्हलासोथार गाउँपालिका र मालिङ प्राथमिक अस्पताल भवन उद्घाटन गर्न जाँदाको दृश्य झनै रोचक देखिन्थ्यो । पञ्चेबाजासहित परम्परागत गुरुङ वेषवुषामा सजिएका आमा समूहले आफ्ना अभिभावक एवं नेतालाई फूलमालाले स्वागत गरे । दहीमा मुछिएको सेतो टीका लगाउँदै मन्त्री गुरुङको हातमा सयपत्री फूल थमाउँदै ७७ वर्षीय एक वृद्धले भने, ‘राम्रो गरेका छौ, अझै राम्रो गर्नु है छोरा ।’
गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उनले ल्याएका थुप्रै विकास निर्माणका योजना प्रशंसनीय रहेको स्थानीय सम्झन्छन् । वर्षाैंदेखि एउटै कोठामा खुम्चिएको प्राथमिक अस्पतालको सुविधा सम्पन्न भवन मन्त्री गुरुङकै पहलमा निर्माण भएको छ ।
सेवाग्राहीलाई बस्ने ठाउँसमेत नभएको पालिकाको प्रशासकीय भवन निर्माण भएपछि गाउँमै सिंहदरबार आएको स्थानीयले महसुस गरेका छन् । क्व्हलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पालिकाको भवन निर्माण भई उद्घाटन भएपछि अब दैनिक कार्य प्रणाली थप जनमुखी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसबाट जनतालाई परिवर्तनको महशुस हुनेगरी काम गर्न हौसला मिलेको बताए ।
‘हामीले भवन मात्र होइन, स्थानीय सिंहदरबार पाएका छौँ’, उनले भने, ‘जनताको सेवालाई प्रविधिमैत्री बनाउँदै छिटो र सहज सेवा प्रदान गर्नेतर्फ उन्मुख हुनेछौँ ।’ मन्त्री गुरुङले हालै चीनसँग गरेका विभिन्न सम्झौताबारे बुझिनेगरी सो अवसरमा स्थानीयवासीलाई अवगत गराएका थिए । गाउँमा व्यापार र रोजगारीका प्रशस्त सम्भावना रहेको बताउँदै उनले चीनलाई मकैको घाँस बेचेर आयआर्जन गर्न सकिने बताए । ‘हामीले चीनसँग सम्झौता गरेका छौँ, अब मकैको घाँस चीनमा बिक्री हुन्छ । घाँस लगाउनुहोस्’, मन्त्रीले यसो भनेको सुनिरहेकी स्थानीय रुपाकुमारी गुरुङ आश्चर्यचकित भए । गाउँमा घाँस बेचेर जीविकोपार्जन गर्न सकिने सम्भावना सुन्दा उनको मन कतै आशावादी देखिन्थ्यो । उनले रमाइलो भावमा भने, ‘अहा कस्तो नयाँ कुरा १ चीनमा घाँस बेच्ने १ मन्त्रीले भने जस्तै हो भने त अब यहीँ घाँस बेची पैसा कमाउँला, विदेश किन जाउँला, आयस्रोत भइदिए गावैँ रमाइलो ।’