भुटानसँगको यूथ मैत्रीपूर्ण फुटबलमा नेपालको खराब प्रदर्शन

काठमाडौँ । नेपालले भुटानका दुई फरक उमेरसमूहका महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा खराब प्रदर्शन गरेको छ ।

घरेलु मैदानमा सम्पन्न भुटानको यू–१६ र यू–१९ महिला टोलीसँग नेपालले समान एक मैत्रीपूर्ण खेल खेले पनि जित निकाल्न भने सकेन । एक समय भुटानमाथि गोल वर्षा नै गर्ने नेपालको प्रदर्शन बिर्सनलायक नै रह्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार नेपाली यू–१९ महिला टोली भुटानसँग १–१ को बराबरीमा खुम्चियो ।

नेपालले बराबरीको नतिजा सामना गरे पनि भुटानी टोलीले सुन्दर फुटबल खेलेको थियो । सटिक र सुन्दर पाससँगै फिटनेसमा पनि भुटानी टोली अब्बल रह्यो । यसैको मद्दतमा भुटानले पुनरागमन गर्दै बराबरीको नतिजा ल्याएको हो ।

यससँगै नेपालले भुटानसँगको दुई मैत्रीपूर्ण खेलमा एक पनि निकाल्न सकेन । गत शुक्रवार नेपालको यू–१६ महिला टोलीले ५–१ को लज्जास्पद हार व्यहोरेको थियो । यू–१९ नेपाली टोलीले जित निकाल्ने अपेक्षा गरे पनि हुन सकेन । आइतबार सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाली यू–१९ टोली भुटानसँग रोकिएको हो । पाहुना टोलीले नेपालमाथि राम्रो फुटबल प्रदर्शन गरेको थियो ।

एकेडेमीका खेलाडी र लामो समयदेखि तयारी गरेको भुटानी टोलीको प्रदर्शनबाट स्पष्ट देखिन्थ्यो । नेपाली टोलीको प्रदर्शन भने सुखद रहेन । नेपाली खेलाडी शारीरिक रूपमा फिट देखिएन ।

यद्यपि पहिलो हाफ गोलरहित बराबरी नै भयो । तर दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै नेपालले अग्रता लियो । सुशीला केसीको गोलमार्फत नेपालले सुरुवाती अग्रता लिएको हो । भुटानका डिफेन्डरको खराब क्लियरेन्सको फाइदा उठाउँदै सुशीलाले डिबक्स बाहिरबाट वान टचमा टप कर्नरमा गोल गरेकी हुन् । तर उक्त अग्रता नेपालले अन्तिमसम्म कायम राख्न सकेन । निर्धारण समय सकिन ९ मिनेट बाँकी रहँदा फुन्टोस छोडेनले गोल गर्दै भुटानलाई खेलमा फर्काइन् ।

उनले प्रिया घलेको क्रसमा उनले गोल गरेकी थिइन् । त्यसपछि नेपाली टोलीले गोल फर्काउन सकेन र १–१ को बराबरीमा नै खेल टुंगियो । भुटानकी प्रशिक्षक टंकमाया घलेले लामो तयारी गरेअनुरूप नतिजा प्राप्त भएको उल्लेख गर्दै छिटै महिला साफ जित्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *