नबिल बैंकद्वारा भूकम्प प्रभावितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण (भिडिओ)

काठमाडौँ । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।

आज एक विशेष कार्यक्रमका बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायत उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई सहयोग पुर्याउने उद्देश्यले नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो परियोजना अघि बढाएको बताए ।

नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।

कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिएका छन् । उनीहरूले निजी क्षेत्रले राज्यको दायित्वमा साथ दिएर सामाजिक उत्तरदायित्व पूरा गरेको कार्य प्रशंसनीय रहेको बताए ।

२०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो । नबिल बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरुप तत्काल राहत सामाग्री वितरण साथै पराकम्पको त्रास, चिसो मौसमको कष्ट तथा घरसम्पत्ति र परिवारका सदस्य गुमाउनु पर्दाको पीडासँगै त्रिपालमा बस्न बाध्य भएका भूकम्प प्रभावितहरुका लागि नबिल बैंकले राहत प्रदान गर्न अस्थायी आवास निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो ।

नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा विपद् प्रभावितहरुलाई राहत उपलब्ध गराउँदै आएको छ । बैंकले भविष्यमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *