बालकोटमा डेरामै मृत भेटिए बाबुछोरा, बाहिरबाट लगाइएको थियो ताला
काठमाडौँ । भक्तपुरमा डेरामै बाबुछोरा मृत भेटिएका छन् । सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा डेरा गरि बस्ने बाबुछोरा नै मृत भेटिएका हुन् ।
उनीहरू खोटाङको रुपाकोट मजुवागढीका हुन् । ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य मृत फेला परेका भक्तपुर प्रहरीले जनाएको छ ।
उनीहरु छुट्टा छुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले डेरामै बाबुछोरा मृत भेटिएको बताए ।
उनले कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा उनीहरू फरक फरक कोठामा मृत भेटिएका बताए ।
‘बाबुछोरा मृत भेटिएको पाइएको छ, घरबाहिरबाट ताला लगाइएको थियो, उनीहरू फरक फरक कोठामा मृत भेटिएका हुन्,’उनले भने,‘घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ, अनुसन्धान हुँदैछ ।’
घटनाबारे थप अनुसन्धान सुरु भएको उनले बताए ।