त्रिभुवन विमानस्थलको सुधारको कार्ययोजना १५ दिनभित्र पेस गर्न निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको लागि कार्ययोजना बनाएर १५ दिनभित्र पेस गर्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।

सोमवार त्रिभुवन विमानस्थलमा देखिएका समस्या र सुधारका योजनाबारे सरोकारवाला निकायहरूसँगको छलफलमा मन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन् । उनले विमानस्थलसँग सरोकार राख्ने निकाय र मन्त्रालयले गर्नुपर्ने सुधारका कामहरूबारे कार्य योजना बढाएर अगाडि बढ्न जरुरी रहेको बताए । उनले कार्ययोजना पठाएपछि सम्बन्धित निकायहरूमा कार्यान्वयनका लागि पठाउने र सरकारको तर्फबाट गर्नुपर्ने कामहरु गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।

उनले भने ‘समन्वय समितिले बसेर के काम भन्सारले गर्ने हो ? के काम अध्यागमनले गर्ने हो ? के काम क्यानले गर्ने हो ? के काम नेपाल एयरलाइन्सले गर्ने हो ? आफैँले गर्ने हो भने आफैँले गर्ने भनेर एउटा योजना बनाउनु पर्यो । आफू नगर्ने हो माथि नै पठाउनेले मन्त्रिपरिषद्मै पठाउनुपर्ने विषय छ कि । त्यसमा कति दिनको समय चाहिन्छ । आजको बैठकमा हाम्रा सबल र दुर्बल कुराहरू आएका छन् । अब यसको कार्ययोजन बनाउनुपर्याे । के हामीले गर्नसक्छौं ? के माथिल्लो निकायमा पठाउने भन्नेबारे १५ दिनको समय भयो भने तपाईँहरूले सक्नुहुन्छ होला ।’

उनले विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनुपर्ने बताए । उनले ४६ लाख यात्रुको ओहोरदोहोर गर्ने क्षमताको विमानस्थल टर्मिनलमा ९६ लाख यात्रु ओहोरदोहोर गर्ने गरेको उल्लेख गर्दै यसको समाधानको एउटा मात्र विकल्प प्रविधिको उच्चतम प्रयोग भएको बताए ।

उनले भने ‘हामीले विमानस्थलमा प्रविधिको प्रयोग गर्ने दिशामा अब जानैपर्छ । किनकि ४६ लाख यात्रुको ओहोरदोहोर गर्ने क्षमता विमानस्थलमा र त्यति पनि क्षमता नभएको टर्मिनलबाट हामी ९६ लाख मानिसलाई ओहोरदोहोर गराउँदैंछौं भने यसका लागि हामीसँग एउटा मात्र विकल्प प्रविधिको प्रयोग हो । प्रविधिको प्रयोग भन्नाले विमानस्थलका काम कारबाहीमा मानिसको प्रयोग घटाउने कुरा नै हो । त्यस्तो घटाउने उपायहरू के हुनसक्छन् । अघि उपकरणहरू राख्ने सन्दर्भ पनि आयो । कसले कहाँ कहाँ राख्नसक्ने रु हो सकेसम्म मान्छेको प्रयोग घटाएर प्रविधिको प्रयोग बढाउने विषयमा सोच्नुपर्ने लाग्यो ।’

छलफलमा क्यान, विमानस्थल कार्यालय, विमानस्थल भन्सार कार्यालय, नेपाल वायुसेवा निगम र सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *