रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । रास्वपाले सोमबार अपराह्न ४ बजे सचिवालय बैठक बोलाएको हो ।
बैठकमा पार्टी सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध कास्की अदालतमा दायर मुद्धाका साथै पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने बताइएको छ ।
लामिछानेविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको थियो । लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ता भएसंगै उनको सांसद पद निलम्बनको तयारी भइरहेको छ । यसैबीच रास्वपाका सांसदहरू सभामुख देवराज घिमिरेलाई भेट्न उनकै कार्यकक्षमा पुगेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न माग गर्दै उनीहरू सभामुख भेट्न गएका हुन् । रास्वपाका सांसदद्धय सोविता गौतम र गणेश पराजुली सभामुख घिमिरेलाई भेट्न गएका हुन् ।
लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले मुद्धा दर्ता भएको जानकारी आइतबार संसदमा पठाएको थियो । यो विषयमा सभामुख देवराज घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरिसकेका छन् ।