अहिले काँग्रेसमा विचलन छ : डा. शेखर कोईराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन् ।
सोमवार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पार्टीमा विचलन रहेको बताएका हुन् ।
उनले आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरुको कुरा नसुनेपछि बाध्य भएको बताए । उनले सभापति शेरबहादुर देउवाले सबै नेताहरुको कुरा नसुन्दा चुप लागेर बस्न नसकेको उनको स्पष्टीकरण थियो ।
सभापतिले केही पनि कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्ने जिकिर गरे । उनले पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व. भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गटलाई फस्टाइदिने गतिविधि गर्नुभएको आरोप लगाए ।
उनले भने– ‘अहिले पार्टीमा वास्तवमा हामीको विचलन छ । स्वीकार्नुपर्छ । अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०÷६० को भागबण्डा भनेर भन्नुभयो । मैले पहिला भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । उहाँले केही पनि सुन्दै नसुन्ने हो भने सभापतिजीले अनि त अफ्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ । इतिहासकारहरुले पनि यो बुझ्न जरुरी छ । त्यसलाई कसले म्यानेज गर्ने भन्दा किसुनजीकै अनुयायीहरुले हो । अहिलेको आदरणीय सभापति किसुनजीको एकदम अनुयायी हो । गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँरो रहेछ । अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरु भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । विपी, गणेशमान र अरु नेताहरु भएको के गर्नुहुन्थ्यो ।’
नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने एजेण्डा लिएर अघि बढ्नुभएको स्मरण गरे । अग्रजहरुले देखाएको बाटोमा नेपाली काँग्रेस हिँड्नुपर्ने बताए ।