माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापति पोखरेलको राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी केन्द्रले सभापति पोखरेलको राजीनामा माग गरेको हो । सार्वजनिक लेखा समिति सरकारको चेक एण्ड ब्यालेन्स गर्ने निकाय भएकाले समिति सभापति प्रतिपक्षको हुनुपर्ने माग गरेको हो । समिति बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरे ।

सांसद मोदीले समिति भ्रष्टाचार, कुशासन र बेथितिको छायाँजस्तो देखिएको आरोप लगाए । उनले समिति सभापति आफैँ र परिवारका सदस्यमा समेत धेरै नकारात्मक प्रश्नहरू उठेको भन्दै तत्काल सभापतिमा मार्गप्रशस्त गरिनुपर्ने बताए ।

उनले भने ‘समिति सभापति प्रति केही प्रश्नहरू उठेका छन् । सभापतिलाई थाहा छ । प्रश्न तपाईँको परिवारसँग पनि जोडिएको छ । सार्वजनिक लेखा समिति सभापति माथि प्रश्न उठेपछि सरकारलाई सुशासनमा राख्नुपर्ने वा सरकारलाई ब्यालेन्समा राख्नुपर्ने समिति सभापति माथि प्रश्न उठेपछि केही न केही बोल्नुपर्ने हुन्छ । जवाफ दिनुपर्छ । मैले धेरै पटक उठाएको छु । धेरै महिनापछि समिति बैठक बस्यौँ । चेक एण्ड ब्यालेन्सको कुरा गर्दा सार्वजनिक लेखा समितिमा सरकार र प्रतिपक्षको विषय पनि छ । आफै सभापति र पार्टी सरकारमा रहेको छ । भ्रष्टाचार र बेथिति हुनुको छायाँ सार्वजनिक लेखासमिति हो भन्ने पनि भएको छ । यो बारेमा सभापति गम्भीर हुनुहुन्छ । सभापतिले मार्ग प्रशस्त गरिदिएको राम्रो । सभापति र परिवारमा पनि प्रश्न उठेको छ । सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ । मार्ग प्रशस्त गरे राम्रो हो भन्ने पहिला देखि भन्दै आएका छौं । सार्वजनिक लेखा समितिले धेरै विषयहरू उठाउनुपर्ने छ ।’

उनले सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने समितिका सभापतिविरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए । उनले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले समितिमा सभापतिको जवाफ माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *