सचिवालय बैठक निर्णय

रास्वपाले न्यायिक प्रक्रियालाई पूर्ण रूपमा सघाउने,न्याय पाउनेमा विश्वस्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाउने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको रास्वपाको सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेको सन्दर्भमा  सो निर्णय गरेको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री लामिछाने अहिले प्रहरी हिरासतमा छन् ।

‘अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरियो । यस मुद्दामा सम्मानीत न्यायालयबाट न्याय पाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण विश्वास राख्दछ,’बैठकपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस्तै सचिवालय बैठकले उपसभापति डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकेको छ । त्यस्तै पार्टीको आगामी केन्द्रीय समितिको बैठक यथाशीघ्र राख्ने गरी तयारी गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।

बैठकमा पार्टी सभापति रवि लामिछाने विरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ्ग समेत गरिएको थियो ।

रास्वपा सभापति लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ। सभामुख देवराज घिमिरले भने यस विषयमा निर्णय गरिसकेका छैनन् ।

लामिछाने गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *