पूर्वतिर सर्दै हिउँदे वर्षा, खपिनसक्नु गरी चिसो बढ्ने
काठमाडौं । पश्चिम नेपालबाट सुरु भएको मौसम परिवर्तन क्रमिक रूपमा मुलुकभर फैलिँदै गएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली सुरु भई विस्तारै देशभरको मौसममा असर पार्दैछ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार कर्णाली प्रदेशमा सोमबार रातिसम्म यो प्रभाव फैलिएको थियो । यो प्रणाली विस्तारै गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्ने क्रममा छ । माथिल्लो भूभागतर्फ सर्दै जाँदा प्रणाली केही कमजोर हुने भए पनि यसको असर देखिने छ ।
महाशाखाले दिनभर बदली रहिरहने र बुधबारदेखि प्रणाली कमजोर हुँदै जाने जानकारी दिएको छ । हालसम्म वर्षा नभए पनि राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव मुख्यतया सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा देखिएको छ । अन्यत्र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा बागमती र मधेस प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
चिसो पुनः बढ्दै
मौसममा आएको बदलीसँगै चिसो थप बढ्ने संकेत देखिएको छ। मङ्सिरको अन्त्यतिर बढेको चिसो केही समय घटेपछि सोमबारदेखि पुनः बढ्न थालेको महाशाखाका मौसमविद्ले जनाएका छन् ।
विभागको अभिलेखअनुसार सोमबार काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यसअघि पुस ४ गते ४.८ डिग्री थियो । जुम्लामा तापक्रम माइनस ७.८ डिग्रीमा झरेको छ, जुन पुस ४ गते माइनस ७.२ डिग्री थियो । देशका अन्य भागमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।