सरकारले कर आतंक मच्चायो : प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको कर नीतिप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् । कोटेश्वरस्थित आम जनता पार्टी (आजपा) केन्द्रीय कार्यालयमा आयोजित आम विद्यार्थी मोर्चाको काठमाडौँ उपत्यका विशेष कमिटी बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उद्योग, व्यापार, र सर्वसाधारणको जीवन तहसनहस बनाएको आरोप लगाउँदै सडक संघर्षको तयारीका लागि आह्वान गरेका छन् । अध्यक्ष साहले सरकारलाई लुटतन्त्रमा मुछिएको आरोप लगाउँदै भने, ‘सरकार उद्योगी, व्यापारी र सर्वसाधारणलाई निचोर्दैछ। राज्यको ढुकुटी सिध्याइसकेको सरकारले अब विदेशी ऋण लिने र त्यो पनि लुट्ने कार्यमा लागेको छ । जनतालाई ऋणको भारी थोपर्दै, मनपरी करको आतंक सिर्जना गर्दै जीवन कठोर बनाइरहेको छ ।’

उनले कर नीतिले हरेक क्षेत्र तहसनहस बनाएको भन्दै जनतालाई जीवन निर्वाह गर्न कठिन भइरहेको उल्लेख गरे । वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीप्रति पनि कडा प्रतिक्रिया जनाउँदै अध्यक्ष साहले भने, ‘सरकारको लापरवाहीले नेपाली युवा ठगिने क्रम जारी छ। अब यसका विरुद्ध सडक आन्दोलन नै एकमात्र उपाय बनेको छ ।’

अध्यक्ष साहले नेपाली जनताको जीवन सहज बनाउन सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै अन्यथा जनताको आन्दोलनले सरकारलाई जवाफदेही बनाउने चेतावनी दिए । आजपाको केन्द्रीय कार्यालयमा आयोजित उक्त बैठकमा पार्टीका अन्य नेता तथा विद्यार्थीको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *