रवि लामिछानेसहित ४ जना अदालतमा उपस्थित
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसहित ४ जनालाई बयानका लागि अदालतमा उपस्थित गराइएको छ ।
कास्की जिल्ला अदालतमा रविसहित छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।
आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले उनीहरूको बयान भइरहेको छ ।
हिजोबाट छविलाल जोशीको बयान सुरु भएको छ । उनको बयान सकिएको छैन । उनको बयान सकिएपछि अन्यको बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरु भएको हो ।
अब राईकै इजलासले रविसहितका प्रतिवादीहरूलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ ।
लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादी बनाइएको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरिएको छ । उनीबाट यो बिगो भराउन र कैद सजाय गर्न पनि माग गरिएको छ ।
रवि र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति पनि जफत गर्न सरकारी वकिलको माग छ । निकितालाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ ।