अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
बुटवल । सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) भएका बालबालिकाका लागि सञ्चालित यहाँ स्थित बालविद्या मन्दिरमा यस क्षेत्रका सुस्तमनस्थिति रहेका बालबालिकाले सेवा लिइरहेका छन् ।
सो विद्यालयका अध्यक्ष समेत रहेका लोकनाथ भुसालले विद्यालयमा अध्ययनरत बालबालिकालाई जीवन उपयोगी सीप सिकाउने गरेका छन् । उनका अनुसार यो विद्यालय सुस्तमनस्थिति भएका बालबालिकाकै अभिभावक मिलेर स्थापना गरिएको हो ।
उनले सुस्तमनस्थिति भएका बालबालिकालाई सेवा दिन समस्या भए पनि उनीहरूको भविष्यलाई ध्यानमा राखी काम गरिरहेको बताए । उनले भने, ‘विद्यालयमा सक्नेलाई सीप सिकाइन्छ, नसक्नेलाई जीवन उपयोगी व्यवहार सिकाइन्छ ।’
कमजोर बालबालिकाकालाई खाद्यान्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि दिने गरेको अध्यक्ष भुसालले जानकारी दिए । वि.सं २०५१ मा स्थापना भएको यस विद्यालय सञ्चालनमा लाग्ने खर्चका लागि अभिभावकहरूले पनि सहयोग गरेका छन् ।
बुटवल उपमहानगरपालिकाले हाल वार्षिक चार लाख अनुदान दिएको छ । यस विद्यालयमा भर्ना गरेपछि अपाङ्गता भएको १६ वर्षीय छोरामा धेरै सुधार भएको बुटवल उपमहानगरपालिका–७ की गङ्गा कुँवरले बताइन् । छोरालाई बालविद्या मन्दिरमा ल्याएपछि आएको परिवर्तनले धेरै खुसी लागेको उनी बताउछिन् ।
यस विद्यालयमा भर्ना गरेपछि तिलोत्तमा–२ शङ्करनगरकी खिमा रेग्मी पनि १२ वर्षकी छोरी आकृष्टामा सुधार देखिएको बताउछिन् । दुई वर्षअघि विद्यालय भर्ना गरिएकी आकृष्टा हाल अरूको साहारामा हिँड्नसक्ने भएको खिमाले बताइन् ।
गङ्गा र खिमामात्र होइनन् । उनीहरु जस्ता धेरै अभिभावकहरू यस विद्यालयले प्रदान गरेको सेवा र अध्यापनबाट सन्तुष्ट छन् । हाल यस विद्यालयमा ८० जना बालबालिका अध्ययनरत छन् । दिवा समयमा ५० जना बालबालिका विद्यालयमा आउँछन् भने ३० जना विद्यालय आउन नसक्नेलाई गृह भेटमार्फत सेवा दिइरहेको छ ।
बालविद्या मन्दिर विद्यालयका प्रधानाध्यापक मीना भुसालले शारीरिक र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई नियमित फिजियोथेरापी गराउने गरेको बताइन् ।
राष्ट्रिय अपाङ्गता महासङ्घका केन्द्रीय सदस्य एवं अपाङ्गता राष्ट्रिय निर्देशन समितिका सदस्य सावित्रा घिमिरे दिनप्रतिदिन बौद्धिक अपाङ्गता बढ्दो क्रममा रहेकाले सुस्तमनिस्थितिका बालबालिकालाई अभिभावकले पहिचान गर्न जरुरी रहेको बताउछिन् ।