फाल्गुनन्द गोल्डकप : न्यू स्टारमाथि गोल वर्षा
पाँचथर । न्यू स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फुटबल क्लब, काठमाडौँ फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा न्यू स्टारलाई ६–२ गोलअन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा पुगेको हो । कमजोर प्रदर्शन गरेको न्यू स्टार प्रतियोगिताबाट बाहिरिएको छ ।
मछिन्द्रका लागि बिजु भुजेलले खेलको पाँचौँ र १५ औँ मिनेटमा गोल गरेका थिए । यस्तै आदित्य शाक्यले ४३ औँ, मनिष डाँगीले ५६ औँ, सञ्जय श्रेष्ठले ६२ औँ र सौरभ सुब्बाले ८५औँ मिनेटमा गोल गरे । न्यू स्टारका लागि सुशील राईले १३ औँ र सन्दीप श्रेष्ठले ६७ औँ मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बुधवार तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र विराटनगर सीटी फुटबल क्लब मोरङबिच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले जानकारी दिए ।
यसअघि क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा पुगिसकेको छ । यही पुस १५ गते सम्पन्न हुने प्रतियोगिताका विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर प्राप्त गर्ने छन् । विधागत रूपमा उत्कृष्ट खेलाडीहरू, प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले समेत पुरस्कार प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।