संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छ : उपसभामुख रानामगर
भक्तपुर । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले देशको साझा हितमा संसदीय रिपोर्टिङ गर्नुपर्ने बताएकी छन् ।
आज भक्तपुरको नगरकोटमा आयोजित संसद्–सञ्चार अन्तरसंवाद कार्यक्रममा उपसभामुख रानामगरले संसदीय प्रक्रियाको रिपोर्टिङ व्यक्तिको इन्ट्रेसको आधार नगरी जनताको हित र राष्ट्रको हितमा गर्नुपर्ने बताइन् । संसद् र लोकतन्त्रलाई बलियो बनाउन सबैले जिम्मेवार बन्नुपर्ने र प्रतिबद्धता गर्नुपर्ने उनले बताइन् ।
संसदीय रिपोर्टिङ गर्दा संसदीय अभ्यास र प्रक्रियाको विषयमा पत्रकारहरूले जिम्मेवार र इमानदारी भएर रिपोर्टिङ गर्नुपर्छ । कहिलेकाही पत्रकारहरूले गलत रिपोर्टिङ गर्दा सोझा सिधा सांसद र जनता अन्यमा पर्ने गरेको उपसभामुख रानामगरले बताइन् ।
संसद्को इतिहासलाई सङ्ग्रह गर्न र सचिवालयलाई व्यवस्थित बनाउन आधुनिक पुस्ताकालय र सूचना केन्द्र बनाउनुपर्ने उनले बताइन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत संसद् सहयोग कार्यक्रमका प्रमुख यामबहादुर किसानले संसदीय प्रक्रियालाई बलियो मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
दुई दिनसम्म चल्ने कार्यक्रममा संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डे र पत्रकार जगत नेपालले संसदीय रिपोर्टिङ र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । संसदीय रिपोर्टिङ गर्ने पत्रकारको सहभागिता रहेको छ ।