क्याफेमा पुरानो उधारोको विवादले विद्यार्थीको ज्यान लियो

काठमाडौं । ललितपुरको च्यासलस्थित हिमालय कलेजका बीई तेस्रो सेमेष्टर पुरा गरेका विद्यार्थी नयन गुरुङ सोमबार साँझ साथीहरूसँग खुसीयाली मनाउन कलेज नजिकैको ‘टाउन हब’ क्याफेमा पुगे । सुनसरी घर भई सातदोबाटोमा बस्दै आएका २३ वर्षीय नयनले क्याफेमा बसेर सेमेष्टर सकिएको खुसी बाँडे ।

करिब राति ९ बजेर २० मिनेटमा क्याफेबाट निस्कने क्रममा नयनले बिल तिर्न खोज्दा क्याफेको काउण्टरमा रहेका हेमराज भट्टले पुरानो उधारो रकम पनि माग गरे । नयनले आफूहरू लामो समयदेखि उक्त क्याफेमा ग्राहक रहेको र पहिलेको उधारो पछि तिर्ने बताएर नयाँ बिलको मात्र रकम तिरे ।

तर, केहीबेरपछि नयन साथीहरूसँग क्याफेमा पुनः फर्किए । त्यहीबेला नयन र क्याफे कर्मचारी भट्टबीच उधारो रकमको विषयलाई लिएर विवाद भयो । विवाद बढ्दै जाँदा डडेलधुराका २६ वर्षीय भट्टले नयनमाथि चक्कु प्रहार गरे । गम्भीर घाइते भएका नयनलाई तत्काल बिएण्डबी अस्पताल लगियो तर उपचारकै क्रममा उनको ज्यान गयो ।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार घटनाको कारण पुरानो उधारोको विवाद देखिएको छ । नयन करिब साढे ३ वर्षदेखि उक्त क्याफेका नियमित ग्राहक थिए । उनका अनुसार नयनको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । घटनामा संलग्न भट्टलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *