राष्ट्रपतिको सन्देश- क्रिसमसले प्रेम भावलाई प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस्

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।

‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताए

इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिँदै आइएको छ ।

राष्ट्रपति पौडेलले इसाई धर्मावलम्बीहरूको यस पर्वले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने बताएका छन् । ‘क्रिसमस डे’, २०२४ को अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले पर्व/त्योहार र उत्सवहरु व्यापार र आर्थिक गतिविधिका लागि समेत उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

क्रिश्चियन धर्मका प्रवर्तक इसा मसिहको जन्म भएको दिनका रुपमा हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मका अनुयायी/धर्मावलम्बीहरुले धुमधामका साथ क्रिसमस मनाउने परम्परा रहिआएको छ ।

शान्ति, प्रेम र सद्भावको प्रतीक क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । यस अवसरमा इसाई धर्मावलम्बीहरुले आ–आफ्नो घरलाई झिलीमिली बत्ती, गुबारा, रङ्गीचङ्गी फूल आदिले सजाउने चलन छ । यो पर्वले साथीभाइ, परिवार र आफन्तबीच शुभकामना तथा उपहार आदानप्रदान गर्ने र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी रमाइलो गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ ।

चाडपर्वले सबैलाई एकता, सहिष्णुता र मानवताका मूल्यहरुमा आधारित एउटा समृद्ध र विकसित समाज एवं देश निर्माणमा उत्प्रेरणा प्रदान गर्ने उपराष्ट्रपति यादवले उल्लेख गरेका छन् । उनले क्रिसमसले आपसी सद्भाव, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव र मैत्रीभावलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले सबैलाई थप उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *