छविलाल र लिलाको बयानपछि रविको पालो
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा मंगलबार, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग थुनछेक बहस सकिएको छ । त्यसपछि अर्का प्रतिवादी लिला पछाईंसँग बयान सुरु भयो । रवि लामिछाने अदालत पुगे पनि पालो नआएको कारण हिरासत फर्कनुपरेको थियो । अब भने लामिछानेको बयानको पालो आउने अपेक्षा गरिएको छ ।
सरकारी वकिलको कार्यालय, कास्कीले आइतबार लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको थियो । ५ जनालाई भने बिगो अनुसारको सम्पत्ति जफत गर्ने उद्देश्यले प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध तीनवटा कसुर-संगठित अपराध, सहकारी ठगी, र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग दर्ता भएको छ ।
प्रहरीको अनुसन्धान अनुसार, रबि लामिछाने र जीवी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको आरोप छ । यसमध्ये ५ करोड ४८ लाख गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर दुरुपयोग भएको दाबी गरिएको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
थुनछेक बहस सकिएपछि अदालतले लामिछानेसहितका प्रतिवादीलाई धरौटीमा छाड्ने, साधारण तारेखमा राख्ने, या पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गर्नेछ । यस घटनाले सहकारी ठगी र संगठित अपराधबारे सार्वजनिक चासो थप बढाएको छ ।