रास्वपामा ‘संसदीय दल’ नेता बन्न हानथाप

कार्यवाहकले चलाउँदै पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ सालको आम निर्वाचनबाट राष्ट्रिय राजनीतिमा बैकल्पिक शक्तिका रुपमा उदाएको पार्टी हो ।

नेपाली जनतामा निहित राष्ट्रिय सार्वभौमिकतालाई आत्मसात् गर्दै नेपालको राष्ट्रिय हितलाई सर्वोपरी मानी जनउत्तरदायी,जनसहभागितामूलक लोकतान्त्रिक राज्य शासन व्यवस्था प्रवर्द्धन एवं दीगो शान्ती,सुशासन,विकास र समृद्धिको आकांक्षा पूरा गरी जनताको जीवनस्तरमा सुधार ल्याउने प्रतिवद्धता सहित रास्वपाको गठन भएपनि पछिल्लो समय आन्तरिक समस्याहरुबाट गुज्रिरहेको छ ।

रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने अहिले सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा छन् । लामिछाने गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाटै पक्राउ परेका थिए ।

उनी विरुद्ध गत आइतबारमात्रै जिल्ला अदालत कास्कीमा सहकारी ठगी सहित समपत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्धा दायर भएको छ ।

सरकारी वकिल कार्यालयले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद लामिछानेविरुद्ध अभियोग पत्र दर्ता गरेपछि उनी सांसद पद बाट निलम्बित भइसकेका छन् ।

उनी पक्राउ परेपछि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यवाहकको भरमा चलिरहेको छ । उनी विरुद्ध अदालतमा मुद्धा दर्ता भइसकेपछि गत मंगलबारमात्रै लामिछानेको सिफारिसमा पार्टी उपसभापति डोलप्रसाद (डीपि) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । केन्द्रिय सचिवालय बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो ।

कार्यवाहक सभापतिका लागि पार्टीमा नेताहरुबीच रस्साकस्सी नै चेलेको थियो । यद्यपी,लामिछानेले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाट नै टीका लगाइदिएको भन्दै पार्टीभित्रै असन्तुष्टिका स्वर पनि सुनिएका छन् ।

कार्यवाहक सभापति सहित रास्वपाको तीन महत्वपूर्ण पदमा कार्यवाहक नै तोकिएका छन् । रास्वपाले तत्कालिन महामन्त्री डा.मुकुल ढकाललाई कारबाही गरेपछि कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनिष झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

रास्वपामा कार्यवाहक सभापतिको विषय टुंगिएपनि अब फेरी संसदीय दलको नेता बन्नका लागि नेताहरुबीच हानथाप छ । लामिछाने सांसद पदबाट निलम्बनमा परेसंगै पार्टीमा अब संसदीय दलको नेता को बन्ने  विषयमा बहस सुरु भएको छ ।

अहिले रास्वपामा दल नेता बन्नका लागि संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ,कार्यवाहक सभापति डोल प्रसाद अर्याल,उपसभापति डा.स्वर्णीम वाग्ले,सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद प्रा.डा.चन्दा कार्की (भण्डारी) ले संसदीय दलको नेतामा दावी गरिरहेका छन् ।

सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीभित्र स्पष्ट रुपमा आफु संसदीय दल नेताको आकांक्षी रहेको बताइसकेकी छन् । उपनेता विराजभक्त श्रेष्ठले स्वाभाविक रुपमा संसदीय दलको नेतामा आफ्नो दावी रहने बताइरहँदा उपसभापति वाग्ले,कार्यवाहक सभापति अर्याल र सांसद कार्कीले पनि दल नेतामा दावी गरिरहेको बुझिएको छ । संसदीय दलको नेताले प्रधानमन्त्री बन्ने हैसियत राख्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *