खबर दिनभर : एमालेबाट भीम रावल निष्काशित लगायत यी हुन् आजका प्रमुख समाचार
भीम रावल एमालेबाट निष्काशित
काठमाडौं । नेकपा (एमाले)ले पार्टीका पूर्व उपाध्यक्ष डा.भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो । बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रिय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी समेत खोसेको छ ।
पार्टीको भवन निर्माणको सन्दर्भमा विधानभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै दुवैजनामध्ये पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रिय कमिटीबाट ६ महिनाका लागि निलम्वित गरिएको ज्ञवालीले बताउनु भयो । उहाँले बैठकमा पार्टी केन्द्रीय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रीय कार्यालय काठमाडौंमा गर्ने निर्णय भएको समेत बताउनु भयो ।
उहाँले केन्द्रिय कमिटि बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन एजेण्डा तय गरेको समेत बताउनु भयो । उहाँले बैठटकमा सरकारको पाँच महिनाको कार्यप्रगतिबारे समेत समिक्षा गरिएको बताउनु भयो । बैठकले सरकार सही दिशामा अगाडि बढेको बैठकले निष्कर्ष निकालेको बताउनु भयो । उहाँले सरकार अझै राम्रो दिशामा अगाडि बढनुपर्ने आवश्यता बोध गरेको समेत बताउनु भयो ।
बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भन्नुभयो, ‘बैठकले पार्टी केन्द्रिय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रिय कार्यालय काठमाडौंमा गर्ने निर्णय गरेको छ । बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन लगायतका चार वटा एजेण्डा तय गरेका छौं । सोहि एजेण्डामा केन्द्रित रहेर यो बैठक सम्पन्न हुनेछ । अनि हामीले वितेका पाँच महिनामा कांग्रेस–एमाले गठबन्धन सरकारको बारेमा समग्र समिक्षा ग¥यौं । यो पाँच महिनाको अवधीमा केही महत्वपूर्ण काम गरेको भन्दै बैठक सन्तुष्टि पनि व्यक्त गरेको छ । अझ थप गति सरकारका कामहरुमा ल्याउनुपर्ने र अझै धेरै सुधारका कामहरुलाई अगाडि बढाउने आवश्यकता पनि बोध गरेको छ । खासगरि अर्थतन्त्रमा केही सुधारहरु देखा परेका छन् । शेयरबजार उच्चबिन्दुमा छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास भएर कार्यान्वयनको पक्षमा गएको छ । बाह्य सम्बन्ध विस्तारमा प्रगति भएको छ । चीन सरकारसँग फ्रेमवर्कमा भएको हस्ताक्षर र अरु विभिन्न मुलुकसँग भएका निर्णयहरु महत्वपुर्ण छन् । पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई हामीले स्पष्टीकरण सोधेका थियौँ । तर उहाँहरूले गल्ती स्वीकारेको देखिएन । पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरूको जिम्मेवारी ६ महिनाका लागि स्थगित गरिएको छ । पार्टीका पूर्वउपाध्यक्ष रावलले पार्टीभित्र दिइएको जिम्मेवारी निर्वाह नगरेको भन्दै पार्टीको साधारण सदस्यबाट निस्काषन गर्ने निर्णय भएको छ ।’
उहाँले बैठकमा संविधान र संघीयताको गम्भिर समिक्षा गर्नुपर्नेबारे छलफल भएको भन्दै यसका लागि कार्यदल बनाउने काममा अघि बढ्ने निर्णय भएको बताउनु भयो ।
स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनालाई जिम्मेवारीबाट मुक्त
नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्द्रा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई छ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । बुधवार बसेको सचिवालय बैठकले उनीहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीले पाण्डे र तिमिल्सेनाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा सोधिएको स्पष्टीकरणमा पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती स्वीकार नगरेकाले जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिए ।
“उहाँहरू दुवैले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा प्रक्रियागत सङ्गत भएन भनेर सोधिएको थियो । स्पष्टीकरणमा उहाँहरूले पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती महशुस देखिएन”, उपमहासचिव ज्ञवालीले भने, “त्यही भएर उहाँहरूलाई पार्टीको निर्देशनमा थप चल्न र जिम्मेवारीबाट छ महिना मुक्त गर्ने निर्णय गरिएको छ ।”
रास्वपामा ‘संसदीय दल’ नेता बन्न हानथाप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)२०७९ सालको आम निर्वाचनबाट राष्ट्रिय राजनीतिमा बैकल्पिक शक्तिका रुपमा उदाएको पार्टी हो ।
नेपाली जनतामा निहित राष्ट्रिय सार्वभौमिकतालाई आत्मसात् गर्दै नेपालको राष्ट्रिय हितलाई सर्वोपरी मानी जनउत्तरदायी,जनसहभागितामूलक लोकतान्त्रिक राज्य शासन व्यवस्था प्रवर्द्धन एवं दीगो शान्ती,सुशासन,विकास र समृद्धिको आकांक्षा पूरा गरी जनताको जीवनस्तरमा सुधार ल्याउने प्रतिवद्धता सहित रास्वपाको गठन भएपनि पछिल्लो समय आन्तरिक समस्याहरुबाट गुज्रिरहेको छ ।
रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने अहिले सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा छन् । लामिछाने गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाटै पक्राउ परेका थिए ।
उनी विरुद्ध गत आइतबारमात्रै जिल्ला अदालत कास्कीमा सहकारी ठगी सहित समपत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्धा दायर भएको छ ।
सरकारी वकिल कार्यालयले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद लामिछानेविरुद्ध अभियोग पत्र दर्ता गरेपछि उनी सांसद पद बाट निलम्बित भइसकेका छन् ।
उनी पक्राउ परेपछि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यवाहकको भरमा चलिरहेको छ । उनी विरुद्ध अदालतमा मुद्धा दर्ता भइसकेपछि गत मंगलबारमात्रै लामिछानेको सिफारिसमा पार्टी उपसभापति डोलप्रसाद (डीपि) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । केन्द्रिय सचिवालय बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो ।
कार्यवाहक सभापतिका लागि पार्टीमा नेताहरुबीच रस्साकस्सी नै चेलेको थियो । यद्यपी,लामिछानेले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाट नै टीका लगाइदिएको भन्दै पार्टीभित्रै असन्तुष्टिका स्वर पनि सुनिएका छन् ।
कार्यवाहक सभापति सहित रास्वपाको तीन महत्वपूर्ण पदमा कार्यवाहक नै तोकिएका छन् । रास्वपाले तत्कालिन महामन्त्री डा।मुकुल ढकाललाई कारबाही गरेपछि कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनिष झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको थियो ।
रास्वपामा कार्यवाहक सभापतिको विषय टुंगिएपनि अब फेरी संसदीय दलको नेता बन्नका लागि नेताहरुबीच हानथाप छ । लामिछाने सांसद पदबाट निलम्बनमा परेसंगै पार्टीमा अब संसदीय दलको नेता को बन्ने विषयमा बहस सुरु भएको छ ।
अहिले रास्वपामा दल नेता बन्नका लागि संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ,कार्यवाहक सभापति डोल प्रसाद अर्याल,उपसभापति डा.स्वर्णीम वाग्ले,सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद प्रा।डा।चन्दा कार्की (भण्डारी) ले संसदीय दलको नेतामा दावी गरिरहेका छन् ।
सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीभित्र स्पष्ट रुपमा आफु संसदीय दल नेताको आकांक्षी रहेको बताइसकेकी छन् । उपनेता विराजभक्त श्रेष्ठले स्वाभाविक रुपमा संसदीय दलको नेतामा आफ्नो दावी रहने बताइरहँदा उपसभापति वाग्ले,कार्यवाहक सभापति अर्याल र सांसद कार्कीले पनि दल नेतामा दावी गरिरहेको बुझिएको छ । संसदीय दलको नेताले प्रधानमन्त्री बन्ने हैसियत राख्दछ ।
शुक्रबारदेखि वर्षा हुने
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।
“आज र भोलि खासै वर्षाको सम्भावना छैन, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ”, उनले भनिन्,“शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ । देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।”
मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गरिन् । आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार आउनेछ ।
पुसे झरी भएकाले चिसो क्रमशः बढ्दै जाने मौसमविद् मानन्धरको भनाइ छ । उनले भनिन्,“मङ्गलबारको हल्का वर्षाले आकाश खुलेकाले न्यूनतम तापक्रम घटेको छ । घाम लागेपछि अधिकतम तापक्रम वृद्धि हुन्छ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर विहान र राति बढी चिसो हुनेगर्छ ।”
महाशाखाको रेकर्डमा आज काठमाडौँको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्रिसेल्सियस र अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहनेछ । गत मङ्सिर २९ गते न्यूनतम तापक्रम घटेर २ दशमलव ५ डिग्रीसेल्सियस पुगेको थियो ।
आज आकाश खुलेकाले बिहीबार र शुक्रबार न्यूनतम तापक्रम घट्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । मौसम बद्ली हुँदा न्यूनतम तापक्रम नघटे पनि चिसो भइरहन्छ । घाम लागेपछि न्यूनतम तापक्रम घट्ने गरेको महाशाखाले उल्लेख गरेको छ ।
मौसमविद्को भनाइमा अङ्ग्रेजी जनवरी महिना सबैभन्दा चिसो महिना मानिन्छ । माघको दोस्रो र तेस्रो सातापछि दिन विस्तारै लम्बिने र तापक्रम पनि थोरै बढ्दै जान्छ । पुसे झरीले अझै जाडो बढ्ने जनाइन्छ ।
राति छिटफुट वर्षा भएर बिहान सामान्य बदली रहे पनि मध्याह्नतिर काठमाडौँको आकाशमा पारिलो घाम लागेकाले दिउँसो केही न्यानो महसुस गरिएको थियो ।
भव्यताका साथ मनाइयो ‘ख्रीष्टमस’ डे
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले ख्रीष्टमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर ख्रीष्टमस डे मनाइएको हो ।
उपत्यकाका भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटिसी मल, सिटी सेन्टर, काठमाडौँ मल, लविङ मल, आइप्लेक्स मल, पिपुल्स प्लाजा, विशालबजारलगायत क्षेत्रमा ख्रीष्टमसको साजसज्जासहितका ‘क्रिसमस ट्री’ आकर्षण बनेको थियो । बालबालिकादेखि युवायुवती तस्बिर खिचाउन र सेल्फी लिन व्यस्त देखिन्थे ।
बालबालिकालाई अभिभावकले सपिङ् मल तथा फनपार्क, चिल्ड्रेन पार्कलगायत स्थानमा लैजाँदा भीड बढेको थियो । ठाउँ–ठाउँमा साङ्गीतिक कार्यक्रम र जमघट भएको थियो । पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्गलगायत गन्तव्यमा भीडभाड रह्यो ।
काठमाडौँ नजिकका नगरकोट, धुलिखेल, चन्द्रागिरि, लाकुरीझञ्ज्याङ आदी गन्तव्यमा पर्यटकको बाक्लो चहलपहल रहेको होटल सङ्घ नेपाल ९हान०ले जनाएको छ । ख्रीष्टमस इभमा ठमेलका होटलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल रहेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले बताए ।
परिषद्को आयोजनामा कर्मचारी सञ्चयक कोष परिसरमा ‘फुड फेष्टिभल’ र सडक महोत्सव आयोजना गरिएको थियो । पर्यटकीय गन्तव्य र मुख्य चहलपहल हुने स्थानका रेष्टुरेन्टमा ग्राहकको ओइरो लागेको रेष्टुरेन्ट एन्ड बार एशोसिएशन अफ नेपाल ९रेबान० ले जनाएको छ ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको विश्वास गरिने नेपाल ख्रिष्टियन महासङ्घले जनाएको छ ।
मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने वि।सं। २०६३ पछि महोत्सवका रुपमा मनाउन थालिएको हो ।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले जनाएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज काठमाडौँमा ख्रीष्टमस महोत्सव २०८१ आयोजना गरिएको थियो ।
संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । आज भक्तपुरको नगरकोटमा सम्पन्न ‘संसद्–सञ्चार’ अन्तरसंवाद कार्यक्रममा उनले पत्रकारिता पेसालाई लोकतान्त्रिक पद्धतिमा सँगसँगै लिएर गए मात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गरे ।
‘लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद् बन्नुपर्छ । प्रभावकारी संसद् बनाउन सञ्चारमाध्यम र पत्रकारले निगरानी गर्न आवश्यक छ’, सभामुख घिमिरेले भने, ‘सत्यतथ्यमा आधारित भएर सही सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको पहिलो दायित्व हो । त्यसैले संसद्ले गर्ने गतिविधिलाई सुधार गर्न रचनात्मक रूपमा सञ्चारमाध्यम र पत्रकारको सहयोग आवश्यक पर्दछ ।’
अहिले संसद्मा बजेट र विधेयकहरूको प्रभावकारी छलफल भइरहेको बताउँदै सभामुख घिमिरेले यसको सूचना जनस्तरसम्म पुग्नुपर्नेमा जोड दिए । संसद्लाई थप प्रभावकारी बनाउन सचिवालयले नयाँ ढङ्गबाट काम गरिरहेको उनले बताए ।
उपसभामुख इन्दिरा रानामगरले संसदीय ‘रिपोर्टिङ’ गर्दा संसदीय अभ्यास र प्रक्रियाका विषयमा पत्रकार जिम्मेवार र इमानदार भएर समाचार सङ्कलन गर्नुपर्ने बताइन् । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले पत्रकारसँगको अन्तरक्रियाले सुधार गर्नुपर्ने कामका बारेमा जानकारी प्राप्त भएको उल्लेख गरे ।
कार्यक्रममासहभागी पत्रकारहरूले राजनीतिक दल, सांसद र सरकारलाई संसद्प्रति उत्तरदायी बनाउनुपर्ने र संसदीय मामिलाका विषयहरू छलफलका माध्यमबा संसद्को वरिपरि रहेर निर्णय हुनुपर्ने बताएका थिए ।
दुई दिनसम्म सञ्चालित कार्यक्रममा संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डे, वरिष्ठ पत्रकार एवं संसदीय रिपोर्टिङ विज्ञद्वय हरिबहादुर थापा र जगत नेपालले संसदीय रिपोर्टिङ र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूको सहभागिता थियो ।
मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैन : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली काँग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको बताउनु भयो ।
उहाँले संविधान सभाको कुरा नेपाली काँग्रेसले २००७ साल मै उठाएको दाबी गर्नुभयो । उहाँले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गर्नुभयो । निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध काँग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको बताउनु भयो ।
उहाँले भन्न्नुभयो, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्याङ्कन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली काँग्रेस पार्टीले जे जति काम गरेको छ अरु कुनैपनि पार्टीले त्यति काम गरेको छैन । यो त दाबाका साथ हामी भन्छौं । संविधान सभाको कुरा २००७ सालमै नेपाली काँग्रेसले उठाएको कुरा हो । पहिलोपटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए । त्यो नेपाली काँग्रेसकै पहलमा भएको हो । तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई । पार्लियामेन्ट भंग भयो । फेरि बहुदलीय लोकतन्त्र भंग गरेर अर्को संविधान जारी गरे । दरबारिया व्यवस्था । त्यो विरुद्ध हामीले निरन्तर संघर्ष गर्यौँ ।’
पछिल्लो समय जनतामा चरम निराशा रहेको उल्लेख गर्दै उहाँले जनतामा रहेको निराशा चिर्नको लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।
८१ वर्षीय षडानन्दले दिए बालकोटमा हत्या भएका छोरा र नातिलाई दागबत्ती
भक्तपुरको बालकोटमा हत्या गरेको अवस्थामा फेला परेका बाबुछोराको अन्त्येष्टि गरिएको छ ।
मृत अवस्थामा भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको अन्त्येष्टि गरिएको हो । मृतकलाई ८१ वर्षीय षडानन्द आचार्यले दागबत्ती दिएका हुन् । षडानन्द कूलप्रसादका बुवा हुन् ।
कुलप्रसाद र प्रवीणको हत्या कुलप्रसादकै जेठा छोरा मिलनले गरेका थिए । उनले आफूले हत्या गरेको प्रहरीसामु स्वीकार गरिसकेका छन् ।
गत सोमबार भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए ।
पढाइका लागि बालकोटमा बस्दै आएका छोराको कोठामा आएका बाबुसहित भाइलाई मिलनले हत्या गरेका थिए ।
पारिवारिक तनावका कारण आफूले बुवा र भाइको हत्या गरेको उनले स्वीकारेको प्रहरीले जनाएको छ ।
उनले आफू लोकसेवाको परीक्षामा फेल भएको र बुवा पनि डिप्रेसनको बिरामी भएका कारण बुवा र भाइको हत्या गरेको बताएका थिए ।
‘म पनि धेरै पटक लोकसेवाको परीक्षामा फेल भएँ, बुवा पनि डिप्रेसनमा हुनुहुन्थ्यो,’ उनले प्रहरीलाई भने,‘पारिवारिक तनावकै कारण म यस्तो निर्णयमा पुगेँ ।’
दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले समिकरणमा संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको बताउनु भयो । उहाँले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न नसके अर्को बलियो र फरक परिस्थितिको अनुमान गर्न सक्ने अवस्था नभएको बताउनु भयो ।
उहाँले दुई ठूला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्नसक्छ भन्ने आशा गर्नसक्ने स्थिति नभएको बताउनु भयो । उहाँले दुई ठूला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनुभएको बताउनु भयो । उहाँले एकिकृत स्वरुप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ नेपाली काँग्रेस र नेकपा एमाले समिकरणमा सरकार बनेको छ । संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको छ । यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न सकेन भने अब यो भन्दा बलियो र फरक परिस्थितिको अनुमान गर्नसक्ने त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिति हुन सक्दैन । त्यसैले सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु हो । एकिकृत स्वरुप निर्माण भएपछि निर्वाचित कमिटिले भेलिभर गर्नुपर्छ । नगर्ने छुट हुँदैन । वर्तमान सरकार पनि असफल हुन्छ भने अन्य कसले गर्न सक्छ ? कोबाट अपेक्षा गर्न सकिन्छ । सरकारको जस्तै अहिले पत्रकार महासंघमा पनि परिस्थिति बनेको छ । चुनौती पूर्ण सफलता प्राप्त भएको छ । त्यही अनुसार अघि बढ्नुपर्छ । पत्रकार महासंघको वर्तमान नेतृत्वले पत्रकारको पेशागत,मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी छ ।’
उहाँले सरकारको जस्तै पत्रकार महासंघमा पनि त्यही परिस्थिति बनेको भन्दै चुनौती पूर्ण सफलतालाई पत्रकारको पेशागत,मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।
लोकप्रियतावाद र अराजकतालाई सञ्चार क्षेत्रले प्राथमिकता दिनु हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताउनु भएको छ । बुधवार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
उहाँले नेपाली राजनीतिकमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताउनु भयो । उहाँले पपुलिजम र राजनीतिकमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीहरुका कमजोरीहरु बाहिर ल्याएर सुधारको लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरु रहेको बताउनु भयो । उहाँले राजनीतिक अराजकता र लोकप्रियतावादको पछाडी लागेर सञ्चार क्षेत्र अघि बढ्दा मुलुकको लागि दुर्भाग्य हुने बताउनु भयो । उहाँले पत्रकारीता पनि राजनीतिक अराजकता र लोकप्रियतावादबाट जोगिन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ पछिल्लो समय राजनीतिकमा अराजकता र पपुलिजम देखापरेको छ । यी दुई कुराले जरा फैलाउँदैछ । अराजकताको एउटा र पपुलिजमको अर्को समूह छ । यी दुवै कुरालाई हामीले ख्याल गर्नुपर्ने छ । राजनीतिक पार्टीहरुका कमजोरीहरु छन् त्यसलाई सञ्चार जगतले देखाउनु पनि पर्छ । सुधारको लागिसकारात्मक दबाब सिर्जना गर्नुपर्छ । सबैले बुझ्नुपर्ने कुरा नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरु छन् । भविष्यको मार्गचित्र बनाएका राजनीतिक पार्टीहरु छन् । मार्गचित्र पूरा गर्नको लागि संगठनात्मक सामथ्र्य र कार्यक्रममा निर्देशित छन् ।
गौरवशाली इतिहास र भविष्यको मार्गचित्र छैन । मार्गचित्र पूरा गर्ने संगठनात्मक सामथ्र्य र कार्यक्रम छैन । तर पपुलिजमका चिप कुराहरुका आधारमा अघि बढेका छन् । त्यसको पछि लागेर सञ्चार क्षेत्र अघि बढ्यो भने यो दुभाग्र्य हुन्छ । यसमा हामी सबैको ध्यान जान जरुरी छ । राजनीकित अराजकता र पपुलिजमबाट जोगिन जरुरी छ । यसमा हाम्रो ध्यान पुगेन भने मुलुक दुर्भाग्यतर्फ जान्छ । कम्युष्निट र काँग्रेस नेपाली राजनीतिमा मुल भुमिका निर्वाह गर्दै आएका पार्टी हुन् । काँग्रेस र कम्युष्निटको बहुआयामिक सम्बन्ध छ । मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेका छन् । सबै क्रान्तिहरु पूरा गरेका छन् ।’
उहाँले नेपालमा कम्युनिष्ट र काँग्रेस नेपाली राजनीतिमा मुल भुमिका निर्वाह गर्दै आएका पार्टी भएकाले बहुआयामिक सम्बन्ध रहेको बताउनु भयो । उहाँले मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेर सबै क्रान्तिहरु पूरा गरेको दाबी गर्नुभयो ।
सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् ।
काठमाडौंमा तमू(गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले आज आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा तयार भएको प्रतिवेदनमा उल्लेख गरिएका जो कोहीलाई कानुनको दायरमा ल्याई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कानुनभन्दा माथि कोही पनि नभएको उल्लेख गर्दै उनले सहकारी ठगी प्रक्ररणमा कांग्रेस, एमाले, माओवादी वा अन्य पार्टीसम्बद्ध नेता तथा कार्यकर्ता एवं अन्य जो कोहीलाई कानुन बमोजिम कारवाही गर्ने स्पष्ट गरे ।
सांसद थापाको प्रतिवेदनमा उल्लेख भएका सबैलाई अहिले एकै चोटि कारबाही प्रक्रियामा ल्याउन नसकिने बताउँदै मन्त्री गुरुङले भने, ‘पालैपालो गरेर कसैलाई पनि छोड्ने छैनौँ, सहकारी ठगी गर्नेले उम्किन्छु भन्ने नसोचेहुन्छ, कानुनबमोजिम सबै पक्राउ पर्नेछन् ।’
मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धान प्रक्रियामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई छुटाउन गरिएको विरोध असंवैधानिक कार्य रहेको बताए ।
अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने काम भइरहेकोप्रति आपत्ति व्यक्त गर्दै मन्त्री गुरुङले यस किसिमको लोकतान्त्रिक विधि र प्रक्रिया विपरितका गतिविधि नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गरे ।
‘आफ्ना नेता छानबिनको दायरामा रहेकाले अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने दायित्व रास्वपाको हो, सम्मानित अदालतबाट हुने आदेश तथा फैसला नआइन्जेल धर्ना–विरोध प्रदर्शन गरी अनुसन्धान प्रक्रियालाई प्रभावित पार्न खोज्नु कदापि राम्रो होइन, अलोकतान्त्रिक गतिविधिभन्दा विधि र कानुनी शासनको पक्षमा उभिन ‘रास्वपा’ सँग अनुरोध गर्दछु ।’
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा,राष्ट्र बैंकले गर्यो ‘टेक ओभर’
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । बुधवार बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो ।
राष्ट्र बैंकद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार समस्याग्रस्त घोषणापछि उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले आफै लिएको छ ।
“नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो । साथै, अर्को व्यवस्था नभएसम्मका लागि सोही ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ”, विज्ञप्तिमा भनिएको छ ।
उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ ।
समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले २०८१ पुस ११ देखि उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ ।
राष्ट्र बैंकले उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।
व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ‘ड्यु डेलिजेन्स अडिट’ सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको छ ।
न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्ने लगायत कारण देखाएर राष्ट्र बैंकले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।
संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिइराख्दा निक्षेपकर्ताको रकम सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको राष्ट्र बैंकले जनाएको छ ।
न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएपछि राष्ट्र बैंकले एक महिना अघि गत मङ्सिर ११ गते थप निक्षेप सङ्कलन र कर्जा प्रवाहमा रोक लगाएको थियो ।
संस्थामा देखिएका सबै समस्या हल गर्न सुधारात्मक कारवाहीसहित राष्ट्र बैंकले छ महिनाको समय दिएको थियो । तर बैंकमा थप समस्या देखिने अवस्था आएपछि समस्याग्रस्त घोषणा गरेर राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो ।
संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाउँदै कांग्रेस-एमाले
नेपालका प्रमुख दुई ठूला दल, नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १६ गते मध्यराति सातबुँदे सहमति भएको थियो, जसको एक प्रमुख बुँदा संविधान संशोधन थियो । यसै सहमतिका आधारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार ३१ गते चौथो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका हुन् ।
पाँच महिना बितिसक्दा पनि सत्ता साझेदारीको प्रमुख आधार रहेको संविधान संशोधनको मुद्दा अलपत्र रहेको आरोपबीच कांग्रेस–एमाले संशोधनका लागि राजनीतिक संयन्त्र बनाउने भएको छ । दुई दलका शीर्ष नेतासहित बालुवाटारमा भएको शृंखलाबद्ध बैठकले संविधान संशोधनको गृहकार्य गर्न संयन्त्र गठन गर्ने र असार १७ मा दुई दलबीच भएको सातबुँदे सहमति कार्यान्वयनका लागि ठोस योजना अघि सार्ने तयारी गरेको हो ।
पछिल्ला बैठकमा सहभागी हुँदै आएका गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको गृहकार्य अघि बढाउन दुई दल सम्मिलित कार्यदल गठन गर्ने निर्णय भएको बताए । उनका अनुसार संयन्त्रले नयाँ संविधान कार्यान्वयनको १० वर्षको समीक्षा गर्दै संशोधनका विषय पहिचान गर्नेछ ।
प्रधानमन्त्री ओलीले मंगलबार नै दुवै दलका प्रमुख सचेतकसहितको बैठक राखेर संविधान संशोधनको विषयमा संयन्त्र निर्माण गर्न खोजिएको जानकारी गराउँदै संसदीय समितिमा विचाराधीन विधेयकलाई ‘फास्ट ट्र्याक’ बाट अघि बढाउने दिशामा काम गर्न निर्देशन दिएका छन् ।
सिरियाको सत्तारुढ समूहसँग प्रत्यक्ष सम्बन्ध छैन : इरान
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले सिरियाको सत्तारुढ समूहसँग देशको कुनै प्रत्यक्ष सम्बन्ध नभएको बताउनुभएको छ । इरान र सिरियाको सत्तारुढ समूहबीच प्रत्यक्ष सञ्चार माध्यम खुलेको भन्ने प्रश्नको जवाफ दिँदै उहाँले पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो ।
सिरियामा इरानको अडानको सन्दर्भमा बगाइले अरब राज्यको सार्वभौमसत्ता र अखण्डतालाई कायम राख्नुपर्ने र यसको भविष्य सिरियाली जनताले विनाशकारी विदेशी हस्तक्षेप बिना तय गर्नुपर्ने बताउनु भयो ।
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु
अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन् ।
”प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने “मङ्गलबार राति पाकिस्तानले पक्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा बमबारी गरेको थियो । मृत्यु हुनेको कुल सङ्ख्या ४६ पुगेकोे छ । मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।”
उनका अनुसार घटनामा अन्य छ जना घाइते भएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै अफगान भूमिमा पाकिस्तानले गरेको पछिल्लो आक्रमणको निन्दा गर्दै यसलाई ‘बर्बर’ र ‘स्पष्ट उत्तेजना’ भनेको छ ।
सरकारमा रहेका तालिवान अधिकारीहरूको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘इस्लामिक इमिरेट्स (अफगानिस्तान)ले यो कायरतापूर्ण कार्यलाई अनुत्तरित छोड्ने छैन, अफगानिस्तान आफ्नो भूभाग र सार्वभौमिकताको रक्षालाई आफ्नो अविभाज्य अधिकार ठान्छ ।’
गत मार्चमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा आठ जना सर्वसाधारणको मृत्यु भएको तालिवान अधिकारीले जनाएका थिए ।
बरमालनिवासी मलीलले एएफपीसँग कुरा गर्दै मङ्गलबारको आक्रमणमा एकै परिवारका १८ जनाको मृत्यु भएको एएफपीसँग बताए ।
उनले भने “बमबारीले दुई–तीन वटा घरमा क्षति पुर्यायो, एउटा घरमा पूरै परिवारसहित १८ जनाको मृत्यु भएको छ ।”
अर्को घरमा भएको आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी उनले दिए ।
सन् २०२१ मा तालिवान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीच सीमा तनाव बढेको छ भने पाकिस्तानले आफ्नो पश्चिमी सीमा क्षेत्रमा लडाकू हिंसाको पुनरुत्थानसँग जुधिरहेको छ ।
इस्लामाबादले काबुलका तालिवान अधिकारीहरूले लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ र उनीहरूलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको छ । काबुलले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।
तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का नामले चिनिने र आफ्ना अफगान समकक्षीसँग साझा विचारधारा राख्ने पाकिस्तानी तालिबानले गत साता अफगानिस्तानसँग सीमा जोडिएको सेनाको चौकीमा आक्रमण गर्दा १६ सैनिकको मृत्यु भएको पाकिस्तानी गुप्तचर अधिकारीहरूले बताएका थिए ।
अफगान भूमिमा भएको पछिल्लो आक्रमणबारे पाकिस्तानी अधिकारीहरूले कुनै आधिकारिक टिप्पणी गरेका छैनन् ।
काबुलको भ्रमणमा रहेका अफगानिस्तानका लागि पाकिस्तानका विशेष दूतसँग तालिबानका उच्च अधिकारीहरूले मङ्गलबार भेटवार्ता गरेका थिए ।