दुर्घटनामा जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको मृत्यु
धनगढी । दुर्घटनामा परी जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको मृत्यु भएको छ । धनगढीमा आयोजना भएको तालिममा सहभागी हुन आउँदै गर्दा ऊनी दुर्घटनामा परेका हुन् ।
धनगढीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको मृत्यु भएको हो । खत्री बाजुराको बढीमालिका नगरपालिका-७ स्थित चुथी स्वास्थ्य चौकीमा कार्यरत थिए ।
प्रहरीका अनुसार बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढी आउँदै गरेका दुईवटा मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
डोटीको शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुप्रप ०१००७११प नम्बरको मोटरसाइक पछाडिबाट ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी-५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१२प ९४१६ नम्बरको मोटरसाइकलमा खत्री पछाडि सवार थिए ।
दुर्घटनामा मोटरसाइकल चालक पुरनको पेट र मुखमा चोट लागेको छ। खत्रीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा बिहीबार साँझ मृत्यु भएको हो । घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।