अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवा विदेशिनुपरिरहेको छ : मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्नेमा जोड दिएका छन् । आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसद्वारा सञ्चालित विजनेश इन्क्युवेसन सेन्टर उद्घाटन गर्दै उनले प्रविधिमैत्री र अध्ययनअनुसारको सीप पनि जरुरी रहेको उल्लेख गरे ।

‘जे पढेका छौँ, जे सीप छ सोही सीपअनुसारको रोजगारी गर्नुपर्छ, अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवा विदेशिनुपरिरहेको छ’, उनले भने । औद्योगिक क्षेत्रसमेत रहेको मकवानपुरमा उद्योगसँगको सहकार्यमा विषयवस्तु अध्यापन गराउनुपर्नेमा जोड दिँदै उनले पढाइका क्रममा शिक्षक र विद्यार्थी दुवै सकारात्मक रहनुपर्ने बताए ।

कक्षा १२ सम्मको अध्ययनपछि युवा विदेश जानेको लर्को लागेकाले पढाइसँगै सीप सिकेर पढ्दै काम गर्दै गर्दा युवा शक्ति विदेशिनुमा रोक्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पनि विद्यार्थीलाई व्यवसाय, रोजगारी र सीपसँग जोडिनुपर्ने बताए । क्याम्पस पढ्ने विद्यार्थी सङ्ख्या बढ्दो रहेको अवस्थामा जति छन् ती विद्यार्थीलाई पढ्दै काम गर्दै अभियानमा सहभागी गराएर अबको उच्च शिक्षा अनुसन्धानमूलक कार्यमा लैजानुपर्ने बताए ।

क्याम्पस प्रमुख डा यमबहादुर सिलवालले विजनेश इन्क्युवेसन सेन्टर, इनोभेसन तथा स्कील ल्याबका विषयमा जानकारी गराएका थिए । उनले आवश्यकताका आधारमा अध्ययनसँगै रोजगारी र सीपलाई प्राथमिकतामा राख्दै सेन्टर सञ्चालन गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *