शिक्षामन्त्री भट्टराईको गुनासो- शैक्षिक कार्यक्रम बजारका आवश्यकताहरूसँग मेल खाने बन्न सकेनन्

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक कार्यक्रमहरू उद्यम क्षेत्र र बजारका आवश्यकताहरूसँग मेल खाने बन्न नसकेको गुनासो गरेकी छन् ।

शनिवार त्रिभुवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भौतिक पूर्वाधारको सीमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयहरूलाई प्राथमिकिकरण गर्न नसक्नु जस्ता विषयहरू विश्वविद्यालयको विकासका लागि बाधक बनेको बताइन् ।

उनले विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रहरूमार्फत अनुसन्धानका कामहरु गरिरहेको बताइन् । उनले विश्वविद्यालयसँग थुप्रै उपलब्धिहरू हुँदाहुँदै पनि केही चुनौतीहरू रहेको र त्यसको सामना गरी समाधानका व्यवहारिक प्रयत्नहरू गर्न सक्नुपर्ने बताइन् । उनले उपाधि हाँसिल गरेपनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न नसकिरहेको भन्दै विदेशलाई पहिलो रोजाई बनाउँदै पढाइ र रोजगारीका लागि बिदेसिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको बताइन् ।

उनले भनिन् ‘त्रिभुवन विश्वविद्यालयले ज्ञान, सीप र नवप्रर्वनमा जोड दिँदै एक अविचलित संस्थाको रुपमा आफूलाई स्थापित गरिरहेको छ । व्यवस्थापन, शिक्षा, मानविकी, विज्ञान, कानुन, इन्जिनियरिङ, चिकित्सा, कृषि, वनविज्ञानजस्ता विविध विषयहरूमा स्नातकदेखि डाक्टरीसम्मका कार्यक्रमहरू मार्फत शिक्षा प्रदान गरिरहेको छ । विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रहरूमार्फत अनुसन्धानका कामहरु गरिरहेको छ । विश्वविद्यालयसँग थुप्रै उपलब्धिहरू हुँदाहुँदै पनि केही चुनौतीहरू छन् । जसलाई हामीले सामना गरी समाधानका व्यवहारिक प्रयत्नहरू गर्न सक्नुपर्दछ । विश्वविद्यालयका स्नातक उपाधि प्राप्त गरेका विद्यार्थीसँग व्यवहारिक ज्ञान र रोजगारीका अवसरहरूको अभाव छ । उपाधि हाँसिला गरेपनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न सकिरहेका छैनन् । विदेशलाई पहिलो रोजाई बनाउँदै पढाइ र रोजगारीका लागि बिदेसिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको छ । यस्तो अवस्था हुनुमा हाम्रा शैक्षिक कार्यक्रमहरू वृहत् रुपमा भएपनि उद्यम क्षेत्र र बजारका आवश्यकताहरूसँग मेल खाने बन्नसकेका छैनन् । भौतिक पूर्वाधारको सीमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयहरूलाई प्राथमिकिकरण गर्न नसक्नु जस्ता विषयहरू विश्वविद्यालयको विकासका लागि बाधक बनेका छन् ।’

मन्त्री भट्टराईले विश्वविद्यालयका चुनौतीहरू समयमै सुधार गर्नुपर्ने बताइन् । चुनौतीका रुपमा देखापरेका विषयलाई सुधार गर्नसकेमात्रै विश्वविद्यालयको उचाइलाई जीवित राख्नसक्ने बताइन् । शैक्षिक कार्यक्रमहरू रोजगार क्षेत्र र बजारको मागअनुरुप सान्दर्भिक बनाउने सुनिश्चितता गर्न सक्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *