पार्टी भित्रैबाट रवि दाइलाई जेल हाल्नमा कम्मर कसेर लागे,आरोप म माथि खनाए : मुकुल ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्काशित महामन्त्री मुकुल ढकालले पार्टी भित्रैबाट सभापति रवि लामिछानेलाई जेल हाल्न लागिपरेका बताएका छन् । उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् ।
उनले भनेका छन्, ‘देश सानो टिमले बन्दैन । ठूलो टिम चाहिन्छ । अझ टिममा देशको अर्थतन्त्र बुझेको दरिलो साथी चाहिन्छ । त्यहि सोचेर, हामीले केहि साथीहरू भित्रायौँ तर समयक्रमले तिनीहरूलाई जे कुराका लागी ल्याएका थियौँ, सोच्यौँ देशका लागी बोल्छन्, जनताका लागी बोल्छन्, विज्ञ छन्, देश बनाउने केहि फर्मुला निकाल्छन्, तर हामी गलत सावित भयौँ, आएकै दिनबाट राजनीति गर्न शुरू गरे । राजनीतिक खेल यति साह्रो खेलिसकिएको रहेछ की , मुकुलको कुरा म बुझ्छु भन्ने रवि दाइलाई , दाइ, अब यस्तो तालले जेल जानुहुन्छू भनेर खबरदारी गर्दा , रवि दाइले पनि मेरो कुरा बुझ्न छोडिसक्नु भएछ । दाइलाई घेराबन्दीमा पारिसकेछन् । मुकुलले सत्य बोल्छ, बुझ्न जान्नुपर्छ भन्ने दाइले नै बुझेनन् । तर रवि दाइलाई यी खेलाडीहरूले यति बुरूक्क उफारिसकेका रहेछन् कि, मैले भुइँबाट चिच्याएको सुन्नु नै भएन । काश, यदि रवि दाइले मैले सावधान गराएको कुरा बुझेको भए , स्थिति फरक हुन्थ्यो ।’
लामिछाने हिरासत परेपछी आफुले भेट्न खोजेपनि भेट्न नदिइएको उनले बताएका छन् ।
उनले भनेका छन्, ‘हिरासतमा परेपछी पनि मैले रवि दाइलाई भेट्न खोजे, कानुनी पाटोमा सहयोग गर्न पनि खोजे, तर रवि दाइलाई घेरा हालिसकेका रहेछन् , भेट्न पनि दिएनन् । राजनीतिक रूपमा आफ्नो ठाउँ होला, तर वर्षौँ काम गरेको, मानवीयताको नाताले पनि भेट्न पाउनपर्छ भन्दा पनि खै, रवि दाइको कानमा के के भरे, सामान्य भेट पनि दिएनन् । यिनीहरू जसरी पनि रवि दाइलाई जेल हाल्नमा कम्मर कसेर लागे र आरोप जति ममाथि खनाए ।’
पार्टी हितविपरित गतिविधि गरेको भन्दै रास्वपाले गत भदौ ११ गते तत्कालिन महामन्त्री ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।