सार्वजनिक यातायातको भाडा बढ्यो लगायत यी हुन् आजका शीर्ष समाचार
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले देशको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रूपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासङ्घले पुर्याएको योगदान सराहनीय रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताए ।
उनले भने, ‘स्वतन्त्र, निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधारस्तम्भ भएकाले हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । त्यही भएर लोकतन्त्रको सुदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु ।’
राष्ट्रपतिले सूचनाप्रविधिको क्षेत्रमा भएको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताए ।
उनले सूचना प्राप्ति र सम्प्रेषणमा सहज भएसँगै चाँडो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुनसक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्नसक्ने जोखिमतर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी भएको बताए ।
राष्ट्रपतिले उपलब्ध नवीन सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अङ्गका रुपमा रहेका सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठताजस्ता व्यावसायिक धर्मको अधीनमा रही सत्यको अन्वेषण र त्यसको सम्प्रेषणमा वर्तमानमा देखिएका चुनौतीलाई चिर्दै सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि महासङ्घले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे ।
दश प्रतिशत निस्शुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालले मात्रै नभई निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्ने बताएका छन् ।
ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेको भक्तपुरस्थित नागरिक अस्पतालको अत्याधुनिक उपकरणयुक्त लेभल–३ आइसियु कक्षको आज उद्घाटन गर्दै उहाँले निजी अस्पतालले गरिब र भुइँ तहका मान्छेलाई सरकारी नीति अनुसार १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने बताए ।
उनले भने,“निजी स्वास्थ्य संस्था सेवामुखी व्यापार हो, सरकारको नीति र मापदण्डलाई पालना गरिदिनुस्, पारदर्शी रुपमा १० प्रतिशत निःशुल्क बेड भर्ना लिनुस् । यो अस्पताल भुइँमान्छेको पनि अस्पताल हो भन्ने अनुभूति दिलाइदिनुस् ।”
स्वास्थ्य बिमालाई एक लाखबाट पाँच लाख पु–याएर कार्यान्वयनको तयारी भइरहेको बताउँदै उनले विकसित मुलुकमाझैँ प्रत्येक नागरिकको योगदानलाई सुनिश्चित गर्नेगरी नागरिक योगदानमा आधारित बिमा प्रणाली लागू गर्न सके निःशुल्क सेवा दिन सकिने बताए ।
“स्वास्थ्य बिमामा सरकारको बजेट सात अर्ब छ, अहिलेकै अवस्थामा ४९ अर्ब बजेट व्यवस्था गरेपनि नपुग्ने देखिन्छ, यस्तै अवस्था रहे अर्को साल स्वास्थ्य बिमा सेवा नै बन्द हुन्छ”, मन्त्री पौडेलले भने, “हामी बिमा प्रणाली व्यवस्थित गरेर स्वास्थ्यको पुनःसंरचना गर्न लागि रहेका छौँ ।”
कार्यक्रममा ह्याम्स अस्पताल तथा नागरिक अस्पताल अध्यक्ष रामशरण भण्डारीले निजी क्षेत्रका अस्पतालहरुको सरकारले ग्रेडिङ गरेर शुल्क निर्धारण गर्नुपर्ने बताए । उनले निजी अस्पतालले सरकारको नीतिअनुसार चल्नुपर्छ भनेर ‘आइपीओ’मा गएको बताउँदै सबैमा यो नीति लागू हुनुपर्नेमा जोड दिए ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नेपाल कोरियामैत्री अस्पतालले मात्रै बिरामी थेग्न नसकेको अवस्थामा नागरिक अस्पतालले सेवा दिने बताउँदै भक्तपुरमा अत्याधुनिक अस्पताल सञ्चालनमा आउँदा उपचारका लागि काठमाडौँका अस्पतालको भर पर्नु नपर्ने बताए ।
कार्यक्रममा आइसियु विशेषज्ञ डा अर्जुन कार्कीले आइसियुमा उच्चस्तरीय प्रविधि, उपकरण, विज्ञ, दक्ष नर्स र औषधिको उपचार गर्ने र धेरै बिरामी निको पारेर पठाउने सकिने बताए ।
अस्पतालका मेडिकल डाइरेक्टर डा.कुन्दनसिंह कार्कीले अस्पताललाई अत्याधुनिक उपकरणयुक्त बनाउँदै उपचार सेवा र उपकरण दुवैमा भक्तपुरको उत्कृष्ट अस्पताल बनाउने लक्ष्यका साथ सेवा सञ्चालनमा ल्याएको बताए ।
राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको बताए ।
राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले भारतीय नागरिकले कञ्चनपुरको शुल्लाफाँटाको जग्गामा खेतीपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारले प्रक्रिया प्रारम्भ गरिसकेको जानकारी दिए ।
गृहमन्त्री लेखकले भने, ‘कञ्चनपुरको शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने हाम्रो भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको अवस्था छ । यसबारे सरकारलाई जानकारी छ, यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । समस्या समाधान गर्न कूटनीतिक छलफल पनि गरेका छौँ ।’
उक्त क्षेत्रमा सीमासम्बन्धी विवाद नरहे पनि सीमास्तम्भ राख्नपर्ने आवश्यकता औँल्याउँदै गृहमन्त्री लेखकले द्विदेशीय संयन्त्रमार्फत सीमास्तम्भ राखिने भएकाले त्यसनिम्ति कूटनीतिक माध्यमबाट छलफल भइरहेको बताए ।
उनले भने, ‘सीमासम्बन्धी द्विदेशीय संयन्त्रलाई पनि यस सम्बन्धमा ध्यानाकर्षण गराइएको छ । हामी हाम्रो भूमिको रक्षा गर्छौं । समस्या पनि समाधान गर्छौं ।’
बैठकको प्रारम्भमा समिति सदस्यद्वय रघुजी पन्त र दिलेन्द्रप्रसाद बडूले शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जग्गा भारतीयले प्रयोग गरेको विषयमा गृहमन्त्रीको जवाफ माग गरेका थिए ।
बढ्यो सार्वजनिक यातायातको भाडा
यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ ।
यात्रुवाहक सवारीमा तीन दशमलव ३०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा शून्य दशमलव ८१ र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा शून्य दशमलव ०५ प्रतिशत भाडा वृद्धि गरिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विगतदेखि सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानिँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरको यही पुस ११ गतेको सहमतिमा भाडा वृद्धि गरिएको विभागले जनाएको छ ।
निर्धारणका विभिन्न १३ सूचकलाई आधार मानी २०७८ असार २७ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरको सहमतिमा २०७८ असार २९ गते भाडादर समायोजन गरिएको थियो ।
त्यसपछि इन्धनमा पाँच प्रतिशत मूल्य घटी वा बढी हुँदा भाडादर समायोजन हुँदै आएको छ । अन्तिमपटक २०८० भदौ ३१ गते भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।
एउटै प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनमा भने भाडा वृद्धि भएको छैन । विभागका महानिर्देशक राजीव पोखरेलले प्रत्येक वर्षको चैत महिनामा भाडा समायोजन गर्ने व्यवस्था भए पनि दुई वर्षदेखि समायोजन नभएकाले यसपटक गरिएको बताए ।
माओवादी नेताहरूको प्रस्ताव- नेता, कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्छ
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीका नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव गरेका छन् ।
सोमवारको केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्यहरुले अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव राखेका हुन् ।
पार्टी अध्यक्ष पनि महिनामा कम्तिमा तीन पटक श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव राखिएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनले दण्डहिनताको अन्त्य गर्नुपर्ने, काँठ अभियान चलाउनुपर्ने र विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनेबारेमा नेताहरुले आवाज उठाएको बताए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक रहेको नेताहरुले बताएको पनि जानकारी दिए ।
उनले भने ‘आज अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडहरुले बोल्नुभयो । सबैको के छ भने स्पष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्ने छ । अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तिमा पनि महिनामा तीन पल्ट अध्यक्ष पनि जोडिनुपर्छ । दण्डहिनताको अन्त्य गरिनुपर्छ भन्नेछ । काँठ अभियान, विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनुपर्छ । संसद छिटो भन्दा छिटो बोलानका लागि दबाब श्रृष्टि गर्नुपर्छ । महाधिवेशन गर्ने कुरामा सबैको सहमति छ । अभियानमा गएर मात्रै महाधिवेशनको कार्यतलिका तोक्नुपर्ने भन्ने अधिकांशको भनाइ छ । प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक छ भन्नेकुरा उठाउनुभएको छ । पहिचानबारे सशक्त कुरा उठेको छ । स्वायत्तताबारे पनि सशक्त कुरा उठेको छ ।’
बैठकमा नेताहरुले स्थानीय तहलाई अधिकार दिनुपर्ने कुरामा आवाज उठाउन जोड दिएको बताए ।
सरकारले कुलमानलाई सोध्यो ९ बुँदे स्पष्टीकरण
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको हो । सरकारले यसअघि पनि घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेको थियो ।
ट्रान्सफर्मर खरिदको विवरण उपलब्ध नगराएको, मन्त्रालयले मागेको जवाफमा असन्तुलित जवाफ दिएको, सरकारले बनाएको जाँचबुझ समितिलाई सहयोग नगरेको लगायत विषयको ऊर्जा मन्त्रालयले जवाफ मागेको छ ।
त्यस्तै, कार्यसम्पादनमा कम अंक प्राप्त गरेकोजस्ता विषय स्पष्टीकरण पत्रमा सोधिएको छ । यी प्रश्नको जवाफ पठाउन सरकारले घिसिङलाई सात दिनको समय दिएको छ । चित्तबुझ्दो जवाफ नआए कानुनअनुसार हुने पत्रमा लेखिएको छ ।
शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ ।
विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आजको कारोबारपछि दुई २६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै, चार वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ७० प्रतिशत, साहास ऊजा लिमिटेडको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सुनको मूल्य स्थिर
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
काठमाडौंसहित सात जिल्लाका सीडीओ फेरिए
गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० सहित १२ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
गृह मन्त्रालयले सोमबार सात जिल्लाका सीडीओसहित गृहका १२ जना कर्मचारीको सरुवा एवं पदस्थापन गरेको हो ।काठमाडौंका सीडीओ जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा ऋषिराम तिवारीलाई पठाइएको छ ।
यसैगरी कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरीको सीडीओ बनाइएको छ । मोरङ, झापा, सर्लाही, दाङ र सल्यानका सीडीओको पनि मन्त्रालयले सरुवा गरेको छ ।
देशको आर्थिक विकासको लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन् ।
नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन् ।
“सरकारले आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने नीति अनुरुप काम गर्नु पर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्यो । निर्यातका लागि पनि सोही अनुरुप नीति बनाउन र कार्यान्वयन गर्नु पर्छ । यसो गर्न सकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ, ” उनले भने ।
अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरेअनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे ।
उनले सरकारलाई व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने बताए । यसका लागि सरकारले सीआइपी दिने दिन घोषणा गर्न र व्यवसायीलाई दिने मर्यादामा ध्यान दिन समेत अनुरोध गरे ।
यस्तै अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन र विदेशी लगानीका लागि विदेश स्थित नेपाली नियोगहरुलाई पनि नेपालको निर्यात व्यापारको लागि देश अनुरुप टार्गेट दिन र सो अनुरुपको मुल्याङ्कन गर्न समेत आग्रह गरे ।
अध्यक्ष ढकालले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको अवस्थाबाट विकासोन्मुखमा स्तरोन्नती हुने हुँदा नेपाल त्यसको लागि तयार रहनुपर्ने वा निश्चित समय थप गर्नका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा निजी क्षेत्रका अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले दीगो आर्थिक विकासका लागि निर्यात प्रर्वद्धन आवश्यक भएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी लगायतको सहभागिता रहेको थियो ।
पूर्व मुख्यमन्त्री थापालाई सुविधा दिने निर्णयमा उच्च अदालतको कारण देखाऊ आदेश
उच्च अदालत विराटनगरले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गाडी सुविधा दिने कोशी प्रदेश सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ ।
प्रदेश सरकारले कांग्रेस संसदीय दलका नेता थापालाई प्रदेश सरकाले दिएको सुविधा गैर कानूनी रहेको भन्दै अधिवक्ताद्वय कर्ण बहादुर राई र प्रेम कुमार घिमिरेले आइतबार उच्च अदालत विराटनगरमा अन्तरिम आदेशयुक्त परमादेशसहितको माग गर्दै रिट दायर गरेका थिए ।
उच्च अदालतका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले सोमबार उक्त निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी हुने वा नहुने भन्नका लागि दुवै पक्षलाई पुस २९ गते छलफलमा बोलाउने निर्णय गरेको छ ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन हुँदै हिक्मत कार्कीको नेतृत्वमा सरकार बनेपछि संसदीय दलका नेता थापालाई गाडी सुविधा दिने निर्णय भएको थियो । सो निर्णयपछि पूर्व मुख्यमन्त्री समेत रहेका थापाले सवारी सुविधा प्रयोग गर्दै आएका थिए ।
कोशी प्रदेश सरकारको गत असोज १३ गतेको मन्त्रिपरिषद् बैठकले थालाई गाडी सुविधा दिने निर्णय गरेको थियषे । उनलाई एउटा हलुका सवारी साधन, सवारी चालक र मासिक १२५ लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको थियो।
रिटमा थापालाई सुविधा दिने निर्णय गर्ने प्रदेश मन्त्रिपरिषद्सहित मुख्यमन्त्री हिक्मत कुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कांग्रेस संसदीय दलका नेता थापा, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र प्रदेश सभाका सातै वटा समितिका सभापतिसहित १३ जनालाई विपक्षी बनाइएको छ ।
राज्य व्यवस्था समितिमा ९२ उजुरी, अध्ययन गर्न उपसमिति गठन गरिने
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन् । सोमवार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले ९२ वटा उजुरी परेकोमा ५८ वटा उजुरीहरु दर्ता गरिएको जानकारी दिनुभयो ।
उहाँले बाँकी ३४ वटा उजुरीहरु अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो । उजुरीहरुको बारेमा अध्ययन गर्नको लागि उपसमिति गठन गरेर अघि बढ्ने सभापति खतिवडाको भनाइ छ । उहाँले कतिपय उजुरीहरु समितिको कार्यक्षेत्रमा नपर्ने भएका कारण समितिको नियमावलीअनुसार सर्वसाधारणबाट प्राप्त उजुरीका सन्दर्भमा सुनुवाई गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म ५८ वटा उजुरीहरु सचिवालयमा दर्ता भएका छन् । कतिपय बेनामेहरु, चिठीबाट आएका अन्य ३४ वटा गरी ९२ वटा उजुरीहरु समितिमा पुगेका छन् । उजुहरीहरुको सम्बन्धमा के गर्ने भनेर हामीले एउटा उपसमिति बनाउँछौं । कतिपय उजुरीहरु हाम्रो कार्यक्षेत्रभित्र पर्छन् कतिपय पर्दैनन् । हाम्रो समितिको नियमावलीमा सर्वसाधारणबाट प्राप्त उजुरीहरुको सुनुवाई गर्ने भनेर उल्लेख गरिएको रहेछ । अब हामी यी उजुरीको बारेमा अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्छौं ।’
बैठकमा अधिकांश सांसदहरुले समितिमा प्राप्त उजुरीहरुको अध्ययन उपसमिति गठन गर्नुपर्ने धारणा राख्नुभयो । उपसमितिको प्रतिवेदनको आधारमा कार्यक्षेत्रमा पर्ने उजुरीहरुमा सुनुवाई गर्नुपर्ने बताउनु भयो ।
बिर्तामोडका पूर्वमेयर पुर्पक्षका लागि थुनामा,१२ वर्षसम्म कैद सजाय माग दाबी
झापा जिल्ला अदालतले आज विर्तामोड नगरपालिकाका निवर्तमान नगर प्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश नविनकुमार जोशीको एकल इजलाशले शिवाकोटीलाई उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । आदेश बमोजिम उनी आजै पुर्पक्षका लागि झापा कारागार चलान भएका छन् ।
घरेलु कामदारको रुपमा बस्दै आएकी १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गत मङ्सिर २४ गते शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो ।
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व मेयर शिवाकोटी पक्राउ
पक्राउ परेपछि उनी थुनाकै क्रममा उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पताल भर्ना भएका थिए । “प्रहरीको अनुसन्धान सकिएपछि उहाँलाई अदालतमा उपस्थित गराइएको थियो”, सूचना अधिकारी बस्नेतले भने, “हिजो र आज दुई दिनमा बयान सकिएको छ । आज थुनछेकको बहसपछि उहाँलाई पछि ठहरे बमोजिम हुने गरी हाललाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश भएको हो ।”
प्रहरीले पेस गरेको अभियोगपत्रमा अभियुक्त शिवाकोटीमाथि १२ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ । उक्त मुद्दाको सुनुवाई अदालतको बन्द इजलासमा भएको थियो ।
भुटानी शरणार्थी प्रकरण : सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
उक्त प्रकरणमा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकामा थापाले त्यस विरुद्ध सर्वोच्च अदालतमा आज निवेदन दर्ता गराएका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईँकेलका अनुसार सोही निवेदनमाथिको सुनुवाइपछि थप कागजात मगाउने आदेश गरिएको जानकारी दिए ।
यसअघि गत असार १४ गते थापालाई सो प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले निजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो निर्णयविरुद्ध थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
उच्च अदालतले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि निजले धरौटीमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
माघ २ गते नेपाल सत्कार दिवस मनाइँदै
होटल संघ नेपाल (हान) ले माघ २ गते काठमाडौंमा सत्कार दिवस मनाउने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिइएको हो । संघले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघ २ गतेलाई सत्कार दिवसका रुपमा मनाउँदै आएको छ ।
यस वर्षको सत्कार दिवस होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले गर्न लागिएको हानले जनाएको छ ।
सत्कार दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुयाउने व्यक्तित्वहरुलाई पुरस्कृति समेत गरिने हानले बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै होटल संघका अध्यक्ष विनायक साहले होटलले जति सेवा दिनसक्यो त्यति नै बढी पर्यटकहरु नेपाल आउने बताए । उनले होटलहरुले पर्यटकहरु खुशी हुनेगरी सेवा दिनुपर्ने बताए ।
होटल संघ नेपालको वार्षिक साधारण सभा पनि सोही दिन आयोजना हुने बताइएको छ ।
पाँच महिनाको अवधिमा वन्यजन्तुको आक्रमणबाट ८३ र सर्पदंशबाट ७० जनाको मृत्यु
नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै, जनावरको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले तीमध्ये सबैभन्दा बढी सर्पले डसेर मृत्यु तथा घाइते भएका बताउनुभयो । उहाँका अनुसार सर्पले डसेर मात्रै ७० जनाको मृत्यु भएको छ भने पाँच सय ३२ जना घाइते भएका छन् ।
यस्तै, गैंडाको आक्रमणबाट चारको मृत्यु र १४ जना घाइते तथा बाघको आक्रमणबाट तीनको मृत्यु र २४ जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट छको मृत्यु र १४ जना घाइते तथा भालुको आक्रमणबाट १५ जना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मुख्यगरी निकुञ्ज आसपास क्षेत्रका बस्तीमा वन्यजन्तुको आक्रमण हुने गरेको छ । जङ्गलमा घाँस दाउरा लिन र जङ्गली तरकारी खोज्न जाँदा वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको जनाइएको छ । पछिल्लो समयमा भने बस्तीमै प्रवेश गरी वन्यजन्तुले हानी पुर्याउने गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले आहाराको खोजी र विभिन्न कारणले बस्तीमा प्रवेश गर्ने वन्यजन्तु नियन्त्रणका लागि निकुञ्जले काम गरिरहेको बताए । पछिल्लो २४ घण्टामा पनि जनावरको आक्रमणका घटना भएका छन् ।
जङ्गली हात्ती बस्तीमा प्रवेश गरी मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई जनाको घर भत्काएर खाद्यान्न खाइदिएको र दमकमा पनि हात्तीले एक घर भत्काएको प्रहरीले जनाएको छ ।
यस्तै बर्दिया, रौतहट र पाल्पामा पनि जङ्गली जनावरले घर तथा बाली नष्ट गरेको छ । भालुले आक्रमण गर्दा पाल्पामा एक जना घाइते भएका प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।
असदको सत्ताच्युत भएपछि ४० हजार सिरियालीहरू टर्कीबाट स्वदेश फर्किए
डिसेम्बर ८, २०२४ मा सिरियाको बसर अल(असद प्रशासनको पतनपछि लगभग ४० हजार सिरियालीहरू टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् ।
टर्कीका व्यापार मन्त्री ओमेर बोलातले टर्कीको दक्षिणपूर्वी हाते प्रान्तको सिल्भेगोजु बोर्डर गेटको निरीक्षण भ्रमणको क्रममा सो जानकारी दिएका हुन् ।
बोलातले गत वर्ष डिसेम्बर ९ देखि हातेको तीन सीमानाकाबाट २७ हजार ९४१ सिरियालीहरू घर फर्किएको बताए । टर्किएले सिरियासँग ९ सय किलोमिटर सीमाना साझा गरेको छ ।