सरकारले माओवादीलाई सिध्याउने षडयन्त्र गर्‍यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन् ।

बुधवार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन नसक्ने अवस्था रहेको बताएका हुन् । ‘पीडितहरुले पटक पटक यो विषयलाई उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु, किनकी अन्तिममा चाहीँ त सडक नै हुने हो की जस्तो मलाई अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो,’उनले भने‘त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन । त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ । तर यहाँ विषय कानूनी भन्दा पनि राजनीतिक नै छ । १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैँमा राजनीतिक सहमतिका दस्ताबेज हुन् ।’

उनले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको बताए ।

शान्ति प्रक्रियाका कामहरु टुंग्याउने विषयलाई कतिपयले बिजनेसको रुपमा लिएको र कतिपयले माओवादीलाई तह लगाउने अन्तिम अस्त्रको रुपमा लिएकाले टुंगिन नसकेको बताए । ‘एउटा प्रवृत्ति यो बिजनेस किन टुंग्याउनु भन्ने छ । अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुंग्याउनु र ? माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौँला भन्ने छ’ उनले भने ।

अध्यक्ष दाहालले सडकबाट राज्यलाई र राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्‍याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *