फुटबल मैदानका लागि जग्गा हेरेको दुई महिना भयो, काठमाडौँमा भेटिएन : खेलकुदमन्त्री

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणका लागि सरकारसँग प्रविधियुक्त जनशक्तिको अभाव रहेको बताएका छन् ।

बुधवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री चौधरीले आवश्यक इन्जिनियरहरू नहुँदा पनि गौरवका योजनाहरू अघि बढ्न नसकेको उल्लेख गरे । उनले पछिल्लो समय क्रिकेटमा बढेको लोकप्रियताले खेलेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भएको बताए ।

उनले खेलकुदलाई अब आर्थिक आर्जन र खेल पर्यटनसँग जोड्नुपर्ने बताए । सरकारले अहिले पूर्वाधार अघि बढाउने प्रयास गरिरहेको र श्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाइएको बताए ।

उनले भने ‘नेपाल सरकारसँग आयोजना बनाउने मान्छेहरू पनि कम छ एउटा, यसमा ठूलो लागत हुने बित्तिकै विदेशबाट कम्पनीहरू पनि आउने चलन छ । नेपालमा अलिकति कम नै काम गर्ने मान्छेहरू देखिन्छ । त्यही पनि नेपाली ठेकेदारहरू पनि केही स्टेन्थहरु भइरहेको छ । अर्को हाम्रो समस्या भनेको हामीसँग खेलकुद मन्त्रालयअन्तर्गत प्रशस्त इन्जिनियरहरू छैनन् । राष्ट्रिय खेलकुद परिषद्मा पनि धेरै इन्जिनियरहरू छैन । करारमा लिएर सञ्चालन गर्ने हो । इन्जिनियरहरुको ठूलो अभाव छ । यसको सबैभन्दा ठूलो चुनौती भनेको राष्ट्रिय गौरवका योजनाको हो । अहिले जुन किसिमको नेपालमा क्रिकेटको एउटा अगाडि बढिरहेको छ, खेलाडीहरू जुन किसिमको नेपालमा क्रिकेट खेलकुदबाट खेलकुदले पनि पर्यटन विकास, आर्थिक आर्जन गर्नसक्छ खेलेर पनि बाँच्न सकिन्छ । त्यो कुरा अघि बढिरहेको छ । पूर्वाधार अघि बढाउन कोसिस भइरहेको छ । अहिले अर्थ मन्त्रालयमा श्रोत सुनिश्चितता हुँदैछ । श्रोत सुनिश्चितता बिना टेण्डर हुँदैन ।’

मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा जम्मा ३ अर्ब ५० करोड रुपैयाँ बजेट रहेको र यो पर्याप्त नभएको बताए । मन्त्रालयलाई प्राप्त बजेटबाट एक अर्ब ३२ करोड रुपैयाँ पुँजीगत खर्च रहेको बताए । त्यसमा ५० करोड रुपैयाँ एउटै मुलपानीमा र ६० करोड रुपैयाँ १० औं खेलकुदका लागि छुट्याएको बताए । बाँकी २० करोड रुपैयाँ कीर्तिपुर रंगशालाका लागि छुट्याइएको बताए । त्यसमध्येको ठूलो योजना कीर्तिपुर क्रिकेट मैदान श्रोत सुनिश्चितता नहुँदा अर्थ मन्त्रालयमा एक हप्तादेखि अड्किएर बसेको जानकारी दिए ।

उनले भने ‘खेलकुद मन्त्रालयमा जम्मा बजेट ३ अर्ब ५० करोड रुपैयाँ छ । हाम्रो मन्त्रालय २१ मध्ये सबैभन्दा कान्छो मन्त्रालयमा होला जस्तो मलाई लाग्छ । त्यसमध्येबाट ५० करोड रुपैयाँ टोटल पुँजीगत हाम्रो मन्त्रालयमा एक अर्ब ३२ करोड रुपैयाँ पुँजीगत खर्च छ । त्यसमध्येमा ५० करोड रुपैयाँ एउटै मुलपानीमा छ । ६० करोड रुपैयाँ १० औं खेलकुदका लागि छुट्याएको हो । त्यो पनि जोडेर । बाँकी २० करोड रुपैयाँ कीर्तिपुर रंगशाला । अरूमा कुनै पाँच करोड, कुनै एक करोड, मिलाएर जम्मा १ अर्ब ३२ करोड रुपैयाँ हामीसँग बजेट छ । त्यसमध्येबाट अहिले ठूलो योजना भनेको कीर्तिपुर अहिले श्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा एक हप्तादेखि अड्किएर बसेको छ । गिरिजाप्रसाद त्यस्तै भइरहेको छ ।’

मन्त्री चौधरीले काठमाडौँभित्र थप एउटा फुटबल रंगशाला, क्रिकेट रंगशाला र भलिबल कभर्ड हल आवश्यक रहेको बताए । उनले फुटबल मैदानका लागि काठमाडौँभित्र जग्गा हेर्न थालेको दुई महिना भइसक्दा पनि पाउन नसकेको उल्लेख गरे । उनले खेलकुदका लागि नीतिहरू बाधक बन्दा मित्र राष्ट्रहरूले सहयोग गर्छु भनेको रकम पनि ल्याउन नसकिरहेको बताए ।

उनले भने ‘हामीले अहिले काठमाडौँभित्रमा फुटबल रंगशालाको लागि २ महिनादेखि जग्गा खोजिरहेका छौँ । एन्फा, विश्व फिफाले हामी सहयोग गर्न तयार छौँ भनिरहेको छ । हामी भौतिक जग्गा दिन सकिरहेका छैनौँ । खोज्दा खोज्दा हामी थाकिसकेका छौँ । केही दिनभित्र भिजिट गरिसकेपछि त्यो फाइनल भयो भने अर्को रंगशाला बन्नसक्छ । विदेशबाट पैसा ल्याउन पनि त्यत्ति सजिलो छैन । कम्तीमा काठमाडौंमा अब तीन वटा रंगशाला आवश्यक परेको छ । एउटा फुटबलको चाहिन्छ । क्रिकेटको अर्को एउटा रंगशाला, एउटा भलिबलको कभर्ड हल, त्यो भइदियो भने राम्रो हुन्छ ।’

मन्त्री चौधरीले सबै रङ्गशालाहरू व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि २५ अर्ब रुपैयाँ आगामी वर्षको बजेटमा आवश्यक पर्ने बताए । आर्थिक र पर्यटकीय दृष्टिकोणबाट खेलकुद मन्त्रालयलाई अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *