खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँ : सांसदहरू
काठमाडौँ । खेलकुदलाई पर्यटन प्रवर्द्धन र अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
बुधवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले खेल क्षेत्रलाई पर्यटन प्रवर्द्धनसँग जोडेर अर्थतन्त्र उन्नयनका लागि जोड दिनुपर्ने सांसहरुले बताएका हुन् ।
उनीहरुले नेपाल खेलकुद क्षेत्रको हब बन्नसक्ने भएकाले सरकारले सोहीअनुसारका योजना र बजेट छुट्याउनुपर्ने आवश्यकता औँल्याए । समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले खेल क्षेत्रको विकासका लागि युवा तथा खेलकुद मन्त्रालयले तदारुकता देखाउनुपर्ने बताए । उनले समस्या छन् भनेर बस्ने भन्दा पनि बजेट सुनिश्चिततासहितका समस्याहरू समाधान गर्न पहल गर्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय स्तरको खेलाडी जन्माए पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन नसक्नु दुःखको विषय भएको बताए ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले नेपालमा खेलकुदका लागि विश्वमै चर्चित हुनुपर्ने ठाउँ र आधारहरू रहेको उल्लेख गरे । उनले खेल क्षेत्रको भौतिक पूर्वाधारका लागि राज्य लाग्न नसकेको बताए । उनले खेल क्षेत्रलाई उत्साहित बनाउनुपर्ने योजना सरकारले प्रभावशाली रुपमा ल्याउन नसकेको गुनासो गरे ।
बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले संसारमा सबैभन्दा लोकप्रिय खेल फुटबल र क्रिकेट रहेको र नेपालमा पनि सोहीअनुसार लोकप्रियता कमाए पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहुनु दुःखको विषय भएको बताए । उनले दर्शकहरू दिनप्रतिदिन बढिरहने र पूर्वाधारको अभाव हुने कारणले खेलकुदबाट आर्थिकोपार्जनमा समस्या भएको बताए । क्रिकेटप्रतिको आकर्षणलाई सरकारले गम्भीर भएर ध्यान दिनुपर्ने बताए ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले समग्र देशको अर्थतन्त्रको स्थिति नै अहिले विकास निर्माणको लागि बाधक बनिरहेको बताए । उनले सार्वजनिक श्रण दायित्व २५ खर्ब १८ अर्ब हाराहारीमा रहेको उल्लेख गर्दै राजश्वले कर्मचारीलाई नियमित प्रशासनिक खर्च समेत धान्न नसकिरहेको अवस्था रहेको बताए । उनले नेपाल खेलकुदमा सम्भावनाको क्षेत्र भएको बताए । पर्याप्त र प्रशस्त पूर्वाधार अभावले सम्भावनाहरू प्रोत्साहन गर्न नसकिएको बताए ।
सांसद सार्कीले खेलका धेरै विषयहरूलाई सम्बोधन गर्नसकिने बताए । खेलबाट आर्जन गर्नुका साथै खेलबाट पर्यटन ल्याउनेतर्फ सरकार अग्रसर हुनुपर्ने बताए । खेलकुदबाट राज्यलाई आर्थिक हिसाबले सबल बनाउन सबैले पहल गर्नुपर्ने बताए ।