एनसेल बन्यो सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आइएसओ मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी
काठमाडौँ । एनसेलले प्रतिष्ठित आइएसओ २७००१ : २०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस) को मान्यता पाउन सफल भएको छ ।
यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको र ग्राहकहरूको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ ।
यस उपलब्धिसँगै, एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ ।
एनसेलको विश्वसनीयता र सूचना सुरक्षालाई अझ सुदृढ बनाउँदै कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्ले यी मान्यताहरू प्राप्त गरेका हुन् ।
‘यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुङ्गा हो । यसले एनसेल निरन्तर सुधार र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधैँ समर्पित रहेको स्पष्ट पार्दछ । सीइओका रुपमा, म यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्ड प्राप्त गर्ने परिवर्तनकारी अनुभव साझा गर्न पाएकोमा हर्षित छु । यसले टेलिकम उद्योगमा उत्कृष्टताप्रति हाम्रो प्रतिबद्धतालाई उजागर गर्दछ । हाम्रो टिमको समर्पणमा म अत्यन्त गर्व गर्छु, र नवीन प्रविधि भित्राउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै सूचना सुरक्षा र डेटा गोपनीयताका उच्चतम मापदण्डहरू कायम राख्नेछौँ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
यी मान्यताहरू ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्मा गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरूमा एनसेलले उच्चतम मापदण्डहरू पुरा गरेको प्रमाण भएको कम्पनीले जनाएको छ । यसले ग्राहकहरूलाई उनीहरूका व्यक्तिगत र संवेदनशील जानकारीहरू एनसेलले उच्च जवाफदेहीताकासाथ ह्यान्डल गर्ने र डेटाहरू सुरक्षित रहने प्रत्याभूति प्रदान गर्दछ ।
कम्पनीका अनुसार ग्राहक र साझेदारहरूका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ । त्यसै गरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको जनाएको छ ।
आइएसओ मापदण्डहरू पालना गरेर, एनसेलले ग्राहकहरूलाई उनीहरूको डाटा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रिया पुरा गरेको एक सुरक्षित प्रणालीले संरक्षण गरिरहेको सुनिश्चितता प्रदान गर्दछ ।
एनसेलका सिस्टमहरू सम्भावित अवरोधहरू न्यूनीकरण गर्ने, जोखिमहरू कम गर्ने, र व्यवसाय निरन्तरतालाई बढाउने गरी डिजाइन गरिएको छ र सबै प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
यस उपलब्धिसँगै, एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा एउटा नयाँ मापदण्ड स्थापित गरेको छ ।