पोखराका तालहरूमा ५३ प्रजातिका जलपंक्षी

गण्डकी । पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौवटा तालमा गरिएको जलपक्षी गणनामा ५३ प्रजातिका जलपंक्षी फेला परेका छन् ।

टाइगर माउण्टेन पोखरा लज र पोखरा पक्षी समाजको अगुवाइमा ४३ स्वयंसेवक गणकबाट यही पुस २२ र २३ गते जलपंक्षी गणना गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।

सिमसार क्षेत्रमा रैथाने र आगन्तुक चराको विवरण सङ्ख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाइ सचेतना अभिवृद्धि गर्न सन् २००४ बाट पोखरा उपत्यकामा जलपक्षी गणना गरिँदै आइएको छ ।

उनका अनुुसार पोखरा उपत्यकाभित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपक्षी गणना गरिएको थियो ।

गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुुई हजार १२ जलपक्षी फेला परेका छन् । त्यस्तै बेगनास तालमा १४ प्रजातिका एक सय ५८, रुपा तालमा २६ प्रजातिका तीन सय ६४, गुँदे तालमा १३ प्रजातिका तीन सय एक, खास्टे र न्युुरेनी तालमा १६ प्रजातिका एक सय ८९, दिपाङमा १३ प्रजातिका दुई सय १७, मैदीमा १० प्रजातिका एक सय २१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ जलपक्षी भेटिएका छन् ।

गणनाका क्रममा फेवा र दिपाङग तालमा चराको सङ्ख्या केही वृद्धि भएको, रुपा र मैदीमा बराबर तथा अन्यमा घटेको छ । सन् १९८७ देखि नेपालमा नियमित रुपमा हुँदै आएको एशियाली जलपक्षी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चरा विज्ञ झलक चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *