आवश्यकता अनुसारको विकास प्रदेश सरकारको दायित्व : मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नागरिकका आवश्यकता अनुसारको विकास र गुणस्तरीय सेवा प्रदान गर्नु सरकारको दायित्व रहेको बताएका छन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाको १७औँ हिउँदे अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नरहेको टिप्पणी गरे । विकट क्षेत्रका नागरिकलाई विकासमा जोड्ने गरी प्रदेश सरकारले योजना तयार पारेको बताए ।
उनले सीमान्तकृत वर्गको नागरिकको जीवनस्तर सुधारका लागि सरकारले रणनीतिक योजना कार्यान्वयन गर्नेमा जोड दिए । प्रदेश सरकारले चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निर्वाचनपछि राजनीतिक विचारभन्दा माथि रहेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहका प्रमुख/उपप्रमुखले संघ तथा प्रदेश सांसदसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
सो गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा सुरु हिउँदे अधिवेशनमा अध्यक्ष मल्लले राक्सिराङ क्षेत्रमा हुने गाँजा खेतीलाई वैध बनाउन माग गरे । सरकारले कानुन निर्माण गरेर गाँजा खेती गर्ने वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो ।