खबर दिनभर : रवि लामिछाने रिहा,सांसदबीच चर्काचर्की,रोकिएन भूकम्पको परकम्प
रवि लामिछाने हिरासतमुक्त
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने ८४ दिनपछि हिरासतमुक्त भएका छन् । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख धरौटी बुझाएपछि रिहा भएका हुन् ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले आज धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।
लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालय कास्कीले उनीविरुद्ध सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीनवटा मुद्दा दर्ता गराएको थियो ।
लामिछाने काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुछिएका छन् । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ । जिल्ला अदालत काठमाडौंमा लामिछाने आफैं उपस्थित हुने प्रहरीले बताएको छ ।
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चा लगायतका विषयमा कुराकानी भएको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ८७ सालमा संविधान संशोधन हुन्छ भनेर दिएको अभिव्यक्तिपछि दुई नेताबीच भेटवार्ता भएको बुझिएको छ ।
मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन् । देशको कुनैपनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो नेकपा एमालेसँग मात्रै रहेको उनले बताए ।
बिहीवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउनसक्ने समेत बताए । उनले देश साना राजनीतिक दलहरु नभइ बलिया राजनीतिक दलहरुले मात्रै बनाउनसक्ने भएकाले सोहीअनुरुप जनमतलाई ध्रुवीकृत गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले भने, ‘यो मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । कुनैपनि देशको विकासका सन्दर्भका बारेमा एक प्रकारले भन्दा तीन वटा मान्यताहरु राष्ट्र निर्माणका सन्दर्भमा अपरिहार्य हुन्छ । भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी । दृष्टिकोणयुक्त नेतृत्वको प्रश्नमा नेकपा एमालेसँग कसैले प्रतिष्पर्धा गर्न सक्दैन । नेकपा एमाले जस्तो बलियो पार्टी अरु कसैको छैन । यो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व दिन सकेन भने अरु कुन पार्टीले दिनसक्छ रु त्यसअर्थमा मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको छ । त्यो राजनीतिक स्थायित्व कसैले दिनसक्छ भने त्यो नेकपा एमाले पार्टीले मात्रै दिनसक्छ । देश बनाउने हो भने सानातिना पार्टीमा अल्मलिने होइन, बलिया पार्टीतर्फ जनमतलाई धु्रविकृत गर्न जरुरी छ ।’
महासचिव पोखरेलले स्ववियु चुनावबाट देशभक्तिका पक्षमा, विकास र समृद्धि, सामाजिक न्यायका पक्षमा उभिने युवाहरुलाई अनेरास्ववियुको झण्डामुनि उभ्याउने कामको नेतृत्व गर्नुपर्ने बताए ।
संघीय सांसदहरुबीच चर्काचर्की
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सभापति र सदस्यबीच चर्काचर्की भएको छ ।
संसदीय समिति सभापति एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादव र समिति सदस्य नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच चर्काचर्की भएको हो ।
आज समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल थियो । छलफलमा कार्यसूची बाहिरको विषय राखेको र लामो समय लिएको भनेर सुवाललाई सभापति यादवले रोक्न खोजेपछि यादव र सुवालबीच चर्काचर्की भएको हो ।
सुवालले औंला ठड्याएर सत्ताधारी दलका सांसदले जति पनि समय बोल्ने आफूलाई बोल्न समय नदिने विषयमा असहमति रहेको बताउँदा सभापति यादवले आफूबाट कसैलाई विभेद नरहेको भन्दै औंला नठड्याउन आग्रह गरेका थिए ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति चयन
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा विश्वभक्त दुलाल (आहुति) चयन भएका छन् ।
पार्टीको पहिलो राष्ट्रिय सम्मेलनले आहुति नेतृत्वमा ५१ सदस्यीय केन्द्री समिति गठन गरिएको छ । बिहीबार सम्मेलनका निर्णय सार्वजनिक गर्दै महासचिव आहुतिले छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरू एक हुनका लागि पहल गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै, क्रान्तिकारी शक्तिहरूका बीचमा संयुक्त मोर्चा निर्माण गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नयाँ उचाईमा संघर्षको उठान गर्ने निर्णय पनि गरिएको छ ।
माघ २० गतेसम्म सबै ब्यूरोस्तरीय प्रशिक्षण सम्पन्न गर्ने, फागुन र चैत्र महिनामा २ महिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । पार्टीको राष्ट्रिय सम्मेलन गत १९ देखि २१ पुससम्म काठमाडौंमा भएको थियो ।
अख्तियारकै कार्यालयमा घुससहित पक्राउ परेका ‘हाकिम’ विरुद्ध मुद्धा दायर
नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (हाकिम) ध्रुव प्रसाद सापकोटा विरुद्ध मुद्दा दायर गरिएको छ । बिहीबार उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका उनी गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए ।
घुस रकम बोकेर पुगेका सापकोटाले अनुसन्धान अधिकृतसँग आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएका थिए । लगत्तै उनी पक्राउ परेका थिए ।
अछामको मल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुँदा उनले मेसिनरी सामान खरिदमा घुस लिएको आरोप छ ।
उपल्लो मुस्ताङमा बढे पर्यटक
सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को लोमान्थाङ कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी पर्यटक यहाँ आएका बताउँदै सन् २०२४ मा चार हजार ६१ जना विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका जानकारी दिए ।
उनका अनुसार सडक सञ्जाल विस्तार, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तव्यमा समेटिनु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल सञ्चालन, अनलाइनमार्फत रुट परमिट लिने प्रणाली सुरुलगायत कारणले यहाँ पर्यटक आगमन बढेको हो ।
सन् २०२२ मा तीन हजार एक सय १२, सन् २०२१ मा तीन सय ३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका एक्याप कार्यालयले जनाएको छ । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ विदेशी नागरिक यहाँ पुगेका कार्यालय प्रमुख पौडेलले जानकारी दिए।
कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमा अवस्थित छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाउँ विकास समिति र वारागुङ मुक्तिक्षेत्र–५ को साङ्तालाई सुरक्षा संवेदनशिलताका कारण सरकारले निषेधित क्षेत्र तोकेको छ । मनाङ र गोरखाका केही भूगोल पनि निषेधित क्षेत्रमा समेटिएका छन् ।
उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन थप ५० डलरका दरले शुल्क तिर्नुपर्ने एक्यापका प्रमुख पौडेलले जानकारी दिए ।
लोमान्थाङ गाउँपालिका–१ मा पर्ने नेचुङ भन्दा माथि पर्यटकलाई जान रोक लगाइएको छ । सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमतिसहित निर्धारित शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।
निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताए ।
निषेधित क्षेत्रमा शुल्कमा केही छुटको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेको भन्दै पर्यटकको आगमन बढे स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने उनले उल्लेख गरे ।
प्रेस काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
उच्च अदालत पाटनमा प्रकाशनगृह ‘दियो मिडिया प्राइभेट लिमिटेड’ले प्रेस काउन्सिल नेपालविरुद्ध दायर गरेको रिट निवेदनमाथि अन्तिम सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो ।
“मिति २०८१/९/१९ को यस अदालतबाट भएको आदेशअनुसारको कार्य सम्पन्न नभएकाले उक्त आदेशमा उल्लिखित कागजहरुको प्रतिलिपि मगाई मिसिल सामेल राख्नू” आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनमा प्रत्यर्थीका तर्फबाट लिखित जवाफसमेत प्राप्त भइसकेको देखिँदा पूर्ण सुनुवाइका लागि नियमानुसार पेस गर्नू ।”
अदालतले यही पुस १९ गते सर्वोच्च अदालतमा यसअघि चलेको उत्प्रेषणको रिट निवेदन, लिखित जवाफ एवं सो रिटमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको प्रतिलिपि र अन्तरिम आदेशसम्बन्धी छलफलका लागि पेस गर्न आदेश गरेको थियो ।
काउन्सिलले उक्त प्रकाशनगृहलाई गलत र भ्रामक सूचना सम्प्रेषण गरेको, नियामक निकायलाई अटेर गरेको उल्लेख गर्दै सो प्रकाशन गृहलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध उक्त प्रकाशनगृहले उच्च अदालतमा रिट दायर गरेको थियो ।
मेडिकल व्यवसायी प्रसाईं तीन लाख धरौटीमा रिहा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं तीन लाख धरौटी बुझाएर रिहा भएका छन् । नेपाल राष्ट्र बैंकका उच्च अधिकृत तथा व्यवसायीलाई धम्की दिएको आरोप लागेका प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाँल तीनरतीन लाख धरौटीमा रिहा भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
अदालतको आदेशपछि उनीहरू दुवै जना धरौटी बुझाएर रिहा भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले जनाएको छ ।
प्रसाईं विरुद्ध आपराधिक लाभ र संगठित कसुरको मुद्दा दायर भएको थियो । उनी सहित तीन जनाविरुद्ध सो मुद्धा दायर भएकामा रामचन्द्र मैनाली फरार थिए ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका संरचनाबाट सेवा शुरु गर्न माग
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरुबाट स्वास्थ्य सेवा शुरु गर्नुपर्ने सांसदहरुले माग राखेका छन् ।बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बौल्दै सांसदहरुले यस्तो माग राखेका हुन् ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सांसद डा.तोषिमा कार्कीले विश्वविद्यालयको लागि बनाइएको संरचनाले सुदूपश्चिमलाई जिस्क्याएर बसेको भन्दै स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने माग राखिन् ।
उनले सेती प्रादेशिक अस्पतालमा बिरामीको थेगि नसक्नु भीड भएको उल्लेख गर्दै विश्वविद्यालयका लागि बनाइएको संरचना प्रयोग गर्न विधेयक कुर्न नहुने बताइन् ।
उनले सेती प्रादेशिक अस्पतालमा एउटै बेडमा तीन/तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै कुनै प्रकोप आएको खण्डम उक्त अस्पतालले धान्न नसक्ने बताइन् ।
उनले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रलयबीच समन्वय गर्न लगाएर सेती अस्पतालमा अपुग भएका स्वास्थ्य सेवाहरु विश्वविद्यालयका लागि बनाइएको संरचनामा विस्तार गर्नको लागि निर्देशन दिन समितिसमक्ष माग गरिन् ।
उनले विधेयकहरु विधेयकका लागि मात्र ल्याइन्छन् कि सेवा दिनको लागि ? भन्दै प्रश्न समेत गरिन्।
उनले भनिन्,‘विधेयकहरु विधेयकका लागि मात्र ल्याइन्छन् कि सेवा दिनको लागि रु संरचनाहरु जनतालाई सेवा दिनको लागि निर्माण गरिन्छन कि जिस्क्याउनका लागि ? ७५ विघा जमिनमा झन्डै ८ अर्ब जति खर्च गरेर त्यत्रा ठूलाठूला संरचनाहरु बनाइएका छन् धनगढीमा । त्यस संरचनाले सुदूपश्चिमलाई जिस्याएर बसेको छ । तर बिरामीहरु काठमाडौंसम्म आउनुपर्ने अवस्था छ । त्यहाँ नजिकै सेती प्रादेशिक अस्पताल छ । त्यहाँ यस्तो बेजोक स्थिति छ । बिरामीको चाप यत धेरै छ कि एउटै बेडमा दुईतीन जना बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था छ । अस्पतालको गेटदेखि नै बिरामीको यति धेरै भिड छ । यदि कुनै प्रकोप आएछ भने त्यो अस्पतालले धान्ने सक्दैन । त्यहाँ नजिकै ७५ विघाका संरचना हासेर गिज्याएर बसेको अवस्था छ । ति संरचनाहरुले स्वास्थ्य उपचार सेवा दिनको लागि यो विधेयकलाई कुरेर बस्ने हो रु कहिले प्रतिष्ठान भनिन कहिले विश्वविद्यालय भनिने तर अलपत्र रहेर बसेको अवस्थामा स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रलयबीच समन्वय गर्न लगाएर सेती अस्पतालमा अपुग भएका सेवाहरु त्यहाँको संरचनामा बिस्तार गर्नको लागि निर्देशनको माग गर्दछु ।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसाधारणका छोराछोरीको समेत चिकित्सा शिक्षमा पहुँच पुग्ने गरी ल्याउनुपर्ने बताए । उनले चिकित्सा शिक्षा अत्याधिक महंगो भएकाले सर्वसाधारण वञ्चित हुनुपरेको बताए ।
उनले विश्वविद्यालयका प्राध्यापकहरु र कर्मचारीहरु मुलुकको विकासका लागि निःस्वार्थ भावनाले लाग्नुपर्ने समेत बताए । उनले भने, ‘चिकित्सा शिक्षा सर्वसाधारण जनताका छोराछोरीले पाउने गरेर विधेयकमा राख्यौं भने चिकित्सा शिक्षा पढ्न एक करोड चाहिन्छ भने सामान्य जनताले पाउने भएन । त्यसकारण यो विषय पनि यस विधेयकमा राख्दा सहिद दशरथ चन्दको नाममा आएको विश्वविद्यालयले हामीलाई पढाउने रहेछ भन्ने आशा जनताले पनि देख्छन् । अर्को, विश्वविद्यालयका प्राध्यपक, कर्र्मचारी र विद्यार्थीहरु बीच देश र जनताको निस्वार्थर्पूर्वक सेवा गर्ने छलफल गर्नुपर्छ भनेर लेखिदिनुपर्छ । नत्र देशको लागि चिकित्सकहरु चिन्तित नै नहुने भयो । उसलाई पनि त देशको चिन्ता हुनुपर्छ नि । यो विषय पनि यहाँ राखौँ ।’
नेकपा ९एमाले० का सांसद रघुजी पन्तले सबै विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षा मन्त्री राख्न नहुने धारणा राखे । उनले त्रिभूवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री राखेपनि अन्य विश्वविद्यालयको कुलपति प्रदेश प्रमुखलाई बनाउनुपर्ने माग राखे । उनले छिमेकी मुलुक भारतमा समेत सोही अभ्यास भइरहेको बताए ।
उनले भने, ‘यस विधेयको संरचना हेर्दा संघीय सरकारले शहीद दशरथचन्द विश्वविद्यालय खोल्ने कुरा देखाउँछ । किनभने कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री राखेर ल्याइएको छ । त्रिभूवन विश्वविद्यालयको कुलपतिसम्म प्रधानमन्त्रीलाई राख्दा पुग्ला । तर अन्य विश्वविद्यालयमा पनि प्रधामन्त्रीलाई कुलपति र शिक्षामन्त्रीलाई सहकुलपति राखिराख्न जरुरी छैन । त्यसैले यो त प्राविधिक विषय हो । यसको केन्द्रीय सरकारसँग कसरि यसको लिंक गर्ने त्योबारेमा सोचौं । संघीय सरचना भएका देशहरुमा कतिपय ठाउँमा प्रदेश प्रमुखलाई कुलपति बनाइएको हुन्छ । तर त्यसबाट पनि त्यहाँ टसल आएको छ ।’
बैठकमा अधिकांश सांसदहरुले चिकित्सा शिक्षामा सर्वसाधारणको सहज पहुँच पुग्नेगरी विधेयक ल्याउनुपर्ने धरणा राखेको थिए । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएर शिक्षा समितिमा आएको हो ।
सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।
नेप्से परिसूचकमा आज दोहोरो अङ्कको गिरावट
सेयर बजार आज दोहोरो अङ्कले घटेको छ । अघिल्ला ६ कारोबार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज १८।१४ अङ्कले घटेर २६३५।०९ विन्दुमा कायम भएको हो ।
बजार घटे पनि कारोबार रकम भने उकालो लागेको छ । आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज होटल बाहेक सबै समूहको शेयर घटेको छ । विकास बैंक, फाइनान्स, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
समग्रमा यो साताभर बजार ४४ अङ्कले बढेको छ ।
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई
प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको हो ।
दशरथ चन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा सवै विकेट गुमाएर ७१ रन बनायो । बहत्तर रनको विजयी लक्ष्य बैतडीले १२ दशमल दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।
बैतडीका लागि कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ कञ्चनपुरकी मन्जु विष्टले दुई विकेट लिइन् ।
यसअघि पहिला ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि रेवती धामीले ४१ रनको योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
लिङतर्फ बैतडीका लागि जानकी थापाले दुई विकेट लिइन् । उनी वुमन अफ दी फाइनल घोषित भइन् । बैतडीकी ऋतु कनौजिया प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।
यस्तै कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी घोषित भइन् ।
विजेता तथा उपविजेता खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत राष्ट्रिय टोली तयारीका निर्देशक एवं ओलम्पियन दीपक विष्ट, क्यानका केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरालगायतले पुरस्कार प्रदान गरे ।
समापन समारोहमा क्यान अध्यक्ष चन्दले क्रिकेटलाई सबैको साझा खेल बनाइने बताए । क्रिकेटलाई व्यावशायिक बनाइनुका साथै भविष्यमा महिला प्रिमियर लिग पनि आयोजना गरिने उनले बताए ।
ओलम्पियन विष्टले क्रिकेटले नेपाललाई विश्वभरी चिनाएको बताए । क्रिकेटको विकासका लागि उल्लेख्य काम गरेकामा क्यान नेतृत्वको उनले प्रशंसा गरे ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस १९ गतेदेखि सुरू भएको प्रतियोगितामा प्रदेशका सात जिल्लाको टोली सहभागी थिए ।
अझै रोकिएन भूकम्पको परकम्प
तिब्बतको दिङ्गीलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको ७।० म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि परकम्पको श्रृंखला अझै रोकिएको छैन ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ९:२० सम्म ६१६ वटा परकम्पहरू मापन गरिएको छ । ती परकम्पहरू २ देखि ५.७ म्याग्निच्युडसम्मका छन् ।
मंगलबारदेखि हरेक आधा घण्टामा दुईदेखि तीनवटा परकम्प अनुभव गरिएको छ । पछिल्ला केही परकम्पहरूको मापन प्रक्रिया अझै जारी रहेको छ । बुधबारसम्मका तथ्यांकअनुसार प्रत्येक आधा घण्टामा औसतमा १० वटासम्म परकम्प गइरहेका छन् ।
मंगलबार बिहान ६:५० मा गएको प्रमुख भूकम्पले तिब्बत र वरपरका क्षेत्रमा व्यापक धक्का दिएको थियो। परकम्पहरूको लगातारका कारण स्थानीय बासिन्दामा त्रास कायम छ ।