रवि लामिछाने आइतबार मात्रै अदालतमा उपस्थित हुने
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने आइतबार मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने भएका छन् ।
रास्वपाका सह-कोषाध्यक्ष दीपक बोहराका अनुसार पार्टी सभापति लामिछाने आइतबार बिहान मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनेछन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,रवि दाईका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ जाने क्रममा हुनुहुन्छ।सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।’
लामिछाने हवाई मार्गबाटै काठमाडौं आउने तयारी भएपनि नेता कार्यकर्ताका कारण स्थलमार्गबाटै काठमाडौं आउन लागेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने बिहीबार साँझ मात्रै रिहा भएका थिए । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि हिरासतमुक्त भएका हुन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी सहित सहकारी ठगीमा मुछिएका सात जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
लामिछाने काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनमा मुछिएका छन् । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा समेत मुद्धा दायर भएपछि आइतबार आफैं अदालतमा उपस्थित हुनेछन् । लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई छाडेको थियो ।