कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार

पर्वत । जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधवार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो ।

बुधवार दिउँसो पसेको चितुवालाई आज बिहानमात्र नियन्त्रणमा लिन सफल भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।

पोखराबाट आएका वन्यजन्तु उद्धार टोलीले कार्यालयका वन अधिकृत रामबहादुर विकको नेतृत्वमा चितुवालाई जीवितै उद्धार गरी नियन्त्रणमा लिइएको विकले जानकारी दिए ।

बिहीबार साँझ फार्ममा पुगेको उक्त टोलीले रातभर प्रयास गरेपछि आज बिहान उद्धार गरेको उनले बताए ।

उद्धार गरिएको चितुवालाई सुरक्षित स्थानमा लगेर छाडिने वन अधिकृत विकले उल्लेख गरे । चितुवा ४० किलो तौलको छ भने करिब सात वर्ष हुनसक्ने उनले अनुमान गरे ।

फार्मभित्र पसेर चितुवाले ३० वटा कालिज मारेको छ भने सयौँ कालिज चितुवा पस्ने बेला जालीबाट भागेका कृषक पुनले जानकारी दिए । उनका अनुसार चितुवाको आक्रमणबाट करिब सात लाखको क्षति भएको छ ।

जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको कृषि फार्ममा लगाइएको सात फिट उचाइको तारजाली पार गरेर चितुवाले कालिजमाथि आक्रमण गरेको बताए । यसअघि पनि उक्त क्षेत्रमा चितुवाले बाख्रा, कुकुर, गाईभैँसीलाई आक्रमण गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *