जलवायु परिवर्तनका समस्यासँग जुध्न विश्वव्यापी सहकार्य आवश्यक : वनमन्त्री
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका समस्यासँग जुध्न जलवायुमैत्री प्रविधि हस्तान्तरण, क्षमता विकास र वित्तीय सहयोगका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन् ।
शुक्रवार नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आर्थिक हिसाबमा सम्पन्न र उच्च कार्बन उत्सर्जन गर्ने मुलुकहरूले थप जिम्मेवार हुँदै नेपाल जस्ता संवेदनशील राष्ट्रहरूलाई जलवायु अनुकूलन न्यूनीकरणमा साथै जलवायुजन्य क्षति र नोक्सानी सम्बोधन गर्न सघाउ पुर्याउन आवश्यक रहेको बताए । उनले नेपालले अन्तर्राष्ट्रियस्तरमा पनि जलवायु संकटको सामना गर्नका लागि निरन्तर पहलकदमी लिइरहेको बताए ।
उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए । वनमन्त्री ठकुरीले कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, जलाधार संरक्षण, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा जलवायु परिवर्तनले नेपालमा ठूलो असर पारेको बताए ।
उनले भने ‘जलवायु परिवर्तनको यस समस्यासँग जुध्न जलवायुमैत्री प्रविधि हस्तान्तरण, क्षमता विकास र वित्तीय सहयोगका लागि विश्वव्यापी सहकार्य साथै आर्थिक हिसाबमा सम्पन्न र उच्च कार्बन उत्सर्जन गर्ने मुलुकहरूले थप जिम्मेवार हुँदै नेपाल जस्ता संवेदनशील राष्ट्रहरूलाई जलवायु अनुकूलन न्यूनीकरणमा साथै जलवायुजन्य क्षति र नोक्सानी सम्बोधन गर्न सघाउ पु¥याउन आवश्यक देखिन्छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा पनि जलवायु संकटको सामना गर्नका लागि निरन्तर पहलकदमी लिइरहेको छ ।’
वनमन्त्री ठकुरीले पर्वतीय मुद्दामा नेपालले नेतृत्व लिनुपर्ने आवश्यकता रहेको बताए । उनले अन्तर्राष्ट्रिय जलवायु कोष र दुई पक्षीय सहयोगहरू बढाउनेबारेमा जोड दिनुपर्ने बताए ।