ब्रिटिस लाहुरेको सपना छोडेर खेलाडी बने दीपक

छिञ्चु । चाहना ब्रिटिस आर्मीमा भर्ती हुने र धेरै पैसा कमाउने भए पनि समय र परिस्थितिले दीपक हमाललाई त्यसो हुन दिएन ।

आफू र आफ्नो घरपरिवारको आर्थिक अवस्थाका कारण पनि दीपक लाहुरे हुन चाहन्थे । लाहुरे भएपछि धेरै पैसा कमाउने र घरको आर्थिक अवस्थालाई बलियो बनाउने योजना थियो ।

तर सबैका सबै योजना पूरा कहाँ हुन्छन् अनि सबै सपनाहरू विपनामा साकार पनि त हुँदैनन् । सायद त्यसैले होला दीपकको त्यो सपना सपनामै सीमित हुने रहेछ र उहाँ खेलाडी दीपकका रुपमा अगाडि बढे ।

वि.सं २०४९ असोज १५ गते सुर्खेतको छिञ्चुमा जन्मिएका दीपक आफ्नो सपनालाई त्यागेर उसु खेलतर्फ मोडिनु पनि समयको चक्र नै मान्नुपर्छ । विभिन्न समयमा भएका खेलहरूमा स्वर्ण र कास्य पदकको विजेता बन्नु थियो सायद ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता दीपक ‘प्लस टू’को अध्ययन सकेपछि मात्रै पूर्ण रुपमा खेल क्षेत्रमा होमिने अवसर प्राप्त गरेका हुन् । सुरुमा फिटनेसका लागि खेलकुद रोजेका उसु खेलाडी दीपक पछिल्लो समय राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनिन्छन् । खेलजगत्ले नै उहाँलाई दीपक बनाएको छ ।

दीपकले २०६८ सालमा फिटनेसका लागि सेन्सन केन्द्रीय खेलकुद परिषद्बाट उसु खेललाई रोजेका थिए । प्रकाश लामाबाट प्रशिक्षण लिएका उनले दुई वर्षपछि २०७० सालमा नेसनल च्याम्पियन सुरु गरेका थिए । त्यसलगत्तै उनले २०७० मा नवौँ राष्ट्रिय उसु च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे ।

आफ्नो डेब्यु प्रतियोगितामा उनले पदक त जित्न सक्नुभएन तर पनि सम्भावनाको यात्रामा पछि हट्नु भएन । लगातारको मिहेनत र निरन्तरको प्रयासले नै सम्भावनाको ढोका खोल्न भने सफल भए उनी ।

डेब्यु प्रतियोगितामा चौथो भएका उनले २०७३ सालमा विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदमा मध्यपश्चिमबाट खेलेका उनले थाइल्यान्डमा स्वर्ण पदकसमेत जितेका थिए । यसले एकातिर हौसला र अर्कोतिर अझ दृढ भएर लाग्ने प्रेरणा मिलेको थियो उनलाई ।

आफ्नो दोस्रो सहभागितामै स्वर्ण जित्न सफल हमालले रसियामा सन् २०१८ मा भएको १४ औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भए । पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता खेलेका उनले खासै पदवी नै हात पार्न नसके पनि ६८ राष्ट्रमध्ये आफूलाई २० औँ स्थानमा उभ्याउन सफल भए ।

त्यस्तै, सन् २०१९ मा चीनको सङ्घाइमा भएको १५औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उनी उत्कृष्ट खेलाडी २० भित्र पर्न सफल भए । त्यसपछि स्वदेशमै आयोजना भएको १३ औँ सागमा स्वर्ण जित्दै हमालले इतिहास रच्न सफल भए ।

विश्वलाई हलचल बनाउने कोभिड–१९ का कारण २ वर्ष अन्तरराष्ट्रिय सहभागिता जनाउन नपाउनुभएका उनले गत वर्ष चीनको हाङचाओमा आयोजना भएको १९ औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा सहभागी २० मध्ये उनले १२ औँ स्थान हासिल गरे ।

हालै चीनको जिङज्याङ सहरमा आयोजना भएको वल्र्ड कपको छनोटमा उनले दुई कास्य पदक हात पारेका थिए । उनले नानछ्वान र तुइलिनमा तेस्रो स्थान हात पारे । यसले उनलाई अझै मिहेनतको खाँचो छ भन्ने कुरा आफैँले महसुस गराएको छ ।

यससँगै उनी आगामी अक्टोबरमा जापानमा हुने प्रतियोगितामा छनोट हुन पनि सफल बने । यसमा सफलता हात पार्ने मात्र होइन, आफूप्रतिको खेलको क्षेत्रको विश्वाससमेत दिलाउने गरी मिहेनत गरिरहेका छन् ।

यतिबेला उसु वल्र्डकपलगायतका प्रतियोगिताका लागि खेलाडीहरूले तयारी गरिरहेका छन् । ‘उसु वल्र्डकप लगायतका प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित प्रकाश महर्जन गुरुले प्रशिक्षण गराइराखेको उनले बताए ।

उनले भने, ‘नेपाल उसु महासङ्घले पनि वैदेशिक प्रशिक्षण गराउने आश्वासन दिएको छ । यसले गर्दा ममा अझै पनि हौसला थपिएको छ’, उनी भन्छन्, ‘वैदेशिक प्रशिक्षण राम्रो भएमा अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन धेरै नै मद्दत पु¥याउँछ ।’

एउटै खेलको दुई वटा महासङ्घ हुँदा समस्या भएको बताउछन्, दीपक । ‘दुई वटा महासङ्घ हुँदा खेलाडीले दुःख भोग्नु परिरहेको छ । कुन कामका लागि कुन महासङ्घमा जाने भन्ने समस्या छ,’ उनी भन्छन्, अन्तरराष्ट्रिय मान्यता प्राप्त महासङ्घले भने खेलाडीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । तर, पनि दुई वटा सङ्घ हुँदा समस्या त भइहाल्छ । एउटाले एउटा विषयको उठान गरिरहेको बेलामा अर्कोले अर्कै विषयवस्तुको उठान गरिदिन्छ ।’

पछिल्लो समय उसुका दुई महासङ्घ छन् । जनक बर्तौला नेतृत्व महासङ्घलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छभने वीरबहादुर लामा नेतृत्वको महासङ्घलाई नेपाल ओलम्पिक कमिटी र अन्तरराष्ट्रिय उसु महासङ्घको मान्यता छ ।

‘कर्णालीको हुँभन्दा गर्व लाग्छ’

दीपकले राष्ट्रिय प्रतियोगिताहरू कर्णाली प्रदेशबाट खेल्दै आउनुभएको छ । कर्णालीबाट खेल्दा आफूलाई गर्व लाग्ने दीपक बताउछन् । ‘आफू जन्मिएको ठाउँ चिनाउन पाउँदा गर्व लाग्दो रहेछ । मलाई विभागीय टोलीबाट धेरै पटक ‘अफर’ आयो । तर मैले विभागका नामबाट भन्दा आफ्नै प्रदेशबाट खेल्ने निर्णय लिएर अहिलेसम्म अघि बढिरहेको छु’, उनले भने, ‘कुनै पनि विभागमा गइनँ तर, विभाग बाहिरका खेलाडीका लागि समस्या नै समस्या छन् । सबैभन्दा ठूलो समस्या त आर्थिककै छ ।’ खेल जीवनबाट आफू सन्तुष्ट भए पनि राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाउँदा भने निकै नै गाह्रो हुने दीपकको अनुभव पनि छ । सरकारले आश्वासन मात्र दिन्छ खेलाडीका लागि पछि सम्मको भविष्य सोचेर सेवा सुविधा नदिएको भए खेललाई अगाडि बढाउन सकिने उनको भनाइ छ ।

कर्णाली आफैँमा दुर्गम जिल्ला हो, त्यसमा पनि खेललाई अगाडि लैजानमा निकै चुनौतीपूर्ण रहेको उनी बताउछन् । उनी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको विशेष प्रशिक्षणमा सहभागी भएका छन् ।

परिषद्ले बिहानको खाजा खर्च मात्रै दिँदै आएको छ । आफ्नो घर छोडेर बाहिर बस्नुको पीडासँगै खाजा खर्चले काठमाडौँमा बसेर प्रशिक्षण गर्न निकै समस्या हुने गरेको उनको गुनासो छ । यसले उनलाई खेलबाटै अघि बढेर भविष्यका लागि खेलाडी उत्पादन गर्ने र आफू कोचका रुपमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जागेको छ ।

सन् २०१७ मा पहिलोपल्ट रसियाका लागि नेपालबाट खेल खेल्न जाँदा प्रशिक्षकहरू साथमा नहुँदा आफूहरू एक्लो भएको महसुस भएको त्यो दिनलाई उनले अहिले पनि भुल्न सकेका छैन्न ।

रसिया खेल खेलियो तर आफ्नो समर्थनमा कोही नहुँदा ‘नर्भस’ भएर पनि खेल हारिएको हो कि जस्तो लाग्छ उनलाई । अन्य देशका खेलाडीहरूको उत्साहका लागि गरिएका व्यवस्थापनको व्याख्या गर्ने हो भने एउटा बनावटी कहानी जस्तो लाग्न सक्छ धेरैलाई । त्यो खेलसँगै आफ्नो प्रशिक्षकहरूको पनि साथ भएको भए सायद खेल जित्न पनि सकिन्थ्यो जस्तो उहाँलाई अहिले पनि लाग्दछ ।

बाल्यकालसँगै लाहुरेको सपना

सानैदेखि निकै चकचके स्वभावका उनी पढ्नमा भन्दा खेल्नमा बढी समय खर्चिन चाहन्थे । दीपकको बाल्यकाल भेरीगङ्गामा नै बित्यो । १–५ कक्षासम्म उनी घर नजिकैको अमिलाचौर प्राथमिक विद्यालयमा अध्ययन गरेका थिए । त्यसपछि उनले छिञ्चु बजारमा रहेको शारदा माध्यमिक विद्यालयबाट १० कक्षा पास गरेपछि अभिभावकले छोराले राम्रोसँग पढोस् र भविष्यमा आफ्नो सहारा बनोस् भन्ने लागेर आफूले सकेको दुःखजिलो गर्दै उनलाई काठमाडौँ पढ्न पठाएका थिए ।

सानै उमेरबाट खेल्न मन पराउने उहाँमा खेललाई नै जीवन बनाउने सोच भने थिएन । उनी भन्छन्, ‘पहिले मेरो सपना भनेको लाहुरे हुने देश र जनताका निम्ति केही गर्छु भन्ने सोचेर २०७७ सालमा ब्रिटिस लाहुरे हुन गएको थिएँ ।’ ब्रिटिसमा भर्ती हुन नसकेपछि शरीरलाई राम्रो बनाउन खेलमा प्रवेश गरेका थिए दीपक । उनी अहिले पनि खेल क्षेत्रलाई अघि बढाउने र कर्णाली देशव्यापी रुपमा कसरी चिनाउने भन्ने चिन्तामै छन् । उनले १३ वर्ष खेल क्षेत्रमै बिताइसकेका छन् । खेलकुदबाट देशका सातै प्रदेश तथा चीन, रसिया, थाइल्यान्ड, साउथ कोरिया जापानलगायतका देशमा भएका प्रतियोगिताहरूमा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *