बुढेसकालको नागरिकताले दिलायो खुसी

झापा । पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन ।
नागरिकता पाउनुलाई उनले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताइन् । ‘नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन’, हालै पाएको नागरिकता देखाउँदै उनले भनिन्, ‘बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेसकालमा किन चाहियो भन्दै सबै तर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो ।’
नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ । चार कट्ठा पाखोबारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आएकी उनका तीन छोराको पेट पालनका लागि रोजगारी गर्न भारतको बैंगलोर गएका छन् ।
नीरकुमारीका पति सन्तमानको नागरिकता थियो । छोराहरूको पनि नागरिकता छ । तर, पतिकै बेवास्ताका कारण आफूले यतिका वर्षसम्म नागरिकता नपाएको उनको गुनासो छ । घर नजिकैको भृकुटी र बाहुन डाँगी बजारमा नागरिकता बनाउने टोली पटकपटक आउँदा समेत उहाँको नागरिकता बनाउने पहलै भएन ।
नागरिकता बनेपछि हर्षित नीरकुमारीले पहिलो पटक सामाजिक सुरक्षा भत्ता पाएकी छन् । जग्गाको स्वामित्व पतिबाट आफ्नो नाममा सार्ने उनको इच्छा छ । तीन छोरामध्ये जेठो राजकुमार घर छुट्टिएर बस्दै आएको उनले बताइन् ।
माइलो विजय राई र कान्छो पविराम राई रोजगारीका लागि बैंगलोर गएका छन् । जेठी बुहारीको मृत्यु भइसकेको, माइली बुहारीले घर छाडेर हिँडेको र कान्छो छोरा अविवाहित भएको जनाउँदै उनले नातिनातिना पढाएर माइलो छोराको घरमा बस्दै आएको बताइन् ।
वडा कार्यालयले अपाङ्गता भएर बोल्न नसक्ने, सुन्न नसक्ने, आँखा नदेख्ने र एकल जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरूको नागरिकता बनाइदिने अभियान चलाएको छ ।
सोही क्रममा नीरकुमारी राईको आफूले सनाखत गरेर नागरिकता दिलाएको वडाध्यक्ष दीपक बरालले बताए । ‘जसको कोही छैनन्, उसका लागि वडा कार्यालय छ’, वडाध्यक्ष बराल नागरिकता अभियानबारे भन्छन्, ‘सनाखत गर्ने मान्छे ल्याउनुपर्यो भनेर सिडिओहरू नागरिकता दिन आनाकानी गर्नुहुन्छ । गलत व्यक्तिलाई सिफारिस गरेको रहेछु भने मलाई लगेर थुनिदिए हुन्छ भन्दै मैले नै उनीहरूको सनाखत गरिदिने गरेको छु ।’
सनाखत गरिदिने नातेदारको निधन भइसकेको र सम्पर्कमा नरहेको अवस्थामा कोही पनि वडावासी ज्येष्ठ नागरिकहरूले आफ्नै थाकथलोमा अनागरिकको पीडा भोग्नु नपरोस् भनेर वडाले सिफारिस र वडाध्यक्षको तर्फबाट सनाखत गरिदिएको बराल बताउछन् ।
सुस्तश्रवण, दृष्टिविहीन र आफन्त गुमाइसकेका दशजना ज्येष्ठ नागरिकको चालु आर्थिक वर्षमै सिफारिस दिएर नागरिकता दिलाइसकेको उनले जानकारी दिए । त्यस्ता व्यक्तिहरूको नागरिकता बनाउने क्रममा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउने खर्च समेत वडाले बेहोर्ने गरेको छ ।
आर्थिकरुपमा विपन्न परिवारकै ज्येष्ठ बुबाआमाहरु नागरिकता बनाउनबाट वञ्चित रहेको आफूले पाएको उनले बताए । त्यहीकारण उनीहरूको नागरिकता बनाउँदा लाग्ने खर्च वडा कार्यालयको तर्फबाटै बेहोरिएको उनको भनाइ छ ।
आफन्त गुमाइसकेका सोही वडाका केशरबहादुर राईले ८६ वर्षको उमेरमा हालै नागरिकता पाए । वडाध्यक्ष बराल आफैँले सिफारिस र सनाखत गरेर उनको पनि नागरिकता बनेको हो ।
वि.सं २०१८ मा पहाडबाट तराई झरेका केशरबहादुर मेचीनगरको बाहुन डाँगी आउँदा २२ वर्षको लक्का जवान थिए । उमेर पुगे पनि उसबेला नागरिकता बनाउने चलन थिएन । बिहे गरेर पत्नीसहित उनी रोजगारीको खोजीमा बाहुनडाँगीबाट भौतारिँदै भारतको आसाम पुगे ।
वि.सं २०२४ मा आसामबाट थाकथलो बाहुनडाँगीमै फर्किए । ‘उमेर छउञ्जेल गरिखान बलियो पाखुराले पुगिहाल्यो, सन्तान नभएपछि नागरिकता बनाउनेतिर लागिएन’, उनले भने । पत्नीको मृत्युपछि एक्लो जीवन बिताइरहेका उनीसँग बुढेसकालमा न सन्तानको सहारा थियो, न त नागरिकता नै आधार ।
आसामबाट फर्केर आएपछि पत्नीको मृत्यु बाहुनडाँगीमै भएको उनले बताए । अर्काको घर खेतमा ज्यालादारी काम गरेर जीवन बिताउँदै आएका उनको आफ्नो जग्गा छैन ।
रात काट्नका लागि चौबाटोको कुनोमा सानो झुपडी बनाएर उनी बस्दै आएका छन् । ज्येष्ठ नागरिकको सम्मान र पहिचानका खातिर आफूले केशरबहादुरको नागरिकता बनाउने पहल गरेको वडाध्यक्ष बरालले बताए ।
नागरिकता पाएपछि उनको जीवनमा खुसीको उमङ्ग छाएको छ । आफ्नो झुपडीमा बलियो झ्यालढोका नभएको कारण नागरिकता नहराओस् भनेर उनले छिमेकीको घरमा जतनका साथ राख्न दिने गरेको बताए । ‘मर्ने बेलामा नागरिकता त साथमा भयो नि’, दशमुजा परेको अनुहारमा चमक छर्दै केशरबहादुर भन्छन्, ‘गाउँका अरुले त चाहिँदैन तिमीलाई नागरिकता भनेर टिप्पा खेलाउँथे । वडाध्यक्ष बराल बाबुले चाहिँ हिँड्नुहोस् म बनाइदिन्छु भनेर घरमै लिन आउनुभयो ।’
बुढेसकालमा ज्यालादारी काम गर्न नसकेर कयौँ रात भोकै सुतेका केशरबहादुरले वृद्ध भत्ता थाप्न थालेपछि खान र लाउन चिन्ता गर्नुपरेको छैन । वडाका जनप्रतिनिधिले अशक्त ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता घरघरै पुर्याइदिने गरेका छन् ।
गाउँ बस्ती पुग्ने क्रममा अर्काको घरमा आश्रय लिएर बसेका बोल्न नसक्ने र कान नसुन्ने थुप्रै बुढाबुढीहरुको बिजोग देखेको र उनीहरूसँग नागरिकता समेत नरहेको थाहा पाएपछि नागरिकता प्रमाणपत्र बनाइदिने सोच उब्जिएको वडाध्यक्ष बराल बताउछन् ।
आफन्तले हेरचाह नगरिदिँदा दुःख बिमार भएका बेला चन्दा उठाएर अस्पताल पुर्याउनुपर्ने अवस्थाका उनीहरुले नागरिकता पाएपछि सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य बिमामार्फत उपचार सुविधा नियमित रुपमा पाइरहेको वडाध्यक्ष बरालले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले व्यक्तिको अवस्था होइन, प्रमाण हेरेर नागरिकता दिइने बताए । प्रमाणले नागरिकता पाउन योग्य वृद्ध वृद्धाको नागरिकता बनाउन सकिने उनले बताए । ‘नेपालमा वंशज, जन्म, विवाह र गैरआवासीय पहिचानका आधारमा नागरिकता दिइने कानुनी व्यवस्था छ’, सहायक प्रजिअ नेपालले भने, ‘उमेरले पाका भइसकेका र असहाय व्यक्तिहरूको नागरिकता सिफारिस गरेर वडाध्यक्षहरू प्रशासनमा आउछन् । उनीहरूको प्रमाण र सनाखतका आधारमा नागरिकता दिने गरेका छौंँ । शारीरिक अशक्तहरूको हकमा नागरिकता प्रमाणपत्र घरमै पुर्याइदिने समेत गरेका छौँ ।’
उमेरका आधारमा ज्येष्ठ नागरिकको दर्जामा पुगिसकेका व्यक्तिहरूको नागरिकता प्रमाणपत्र बनाउन वडाध्यक्षहरूले दिएको सिफारिस र सनाखत एउटा आधार भए तापनि वास्तविकता बुझ्न कानुनबमोजिम माग भइआएका प्रमाणहरू र प्रहरीमार्फत आउने प्रतिवेदनलाई मसिनो ढङ्गले हेर्ने गरिएको सहायक प्रजिअ नेपाल बताउछन् ।
बुढेसकालमा शारीरिक दुर्बलताले गर्दा हिँडडुल गर्न मुस्किल हुन्छ । आयस्रोत नभएको अवस्थामा उनीहरूको जीविका कष्टकर हुन्छ । आफन्तको बेवास्ता र राज्यको उपेक्षा थपिँदा उनीहरूको जीवनयापन सास्तीपूर्ण हुन्छ ।
त्यस्तो बेला नागरिकता हुनेहरूले राज्यबाट सामाजिक सुरक्षा भत्ता र बिमाको उपचार पाउने गरेका छन् । तर, नागरिकता नभएकाहरू यो लाभबाट वञ्चित छन् । वर्षौंदेखि बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरू सनाखत गरिदिने नातेदारको अभावमा नागरिकता पाउनबाट वञ्चित रहँदै आएकामा मेचीनगर–२ को वडा कार्यालयले सराहनीय कार्य गरेको स्थानीय पूर्व शिक्षक धर्मानन्द निरौला बताउछन् ।
राज्यले नागरिकता पाउन नसकेका वृद्धवृद्धालाई खोजीखोजी नागरिकता दिने राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने र यस कार्यका लागि स्थानीय तहलाई परिचालन गर्नुपर्ने उनको धारणा छ ।
उनका अनुसार अझै पनि देशभर थुप्रै ज्येष्ठ व्यक्ति नागरिकता नपाइकनै मृत्युवरण गर्न बाध्य छन् । ‘बाहुनडाँगीका कुनाकाप्चासम्म आरा काटेर हिँड्ने गर्नुहुन्थ्यो । कहिले अर्काको घरमा ज्यालादारी गर्नुहुन्थ्यो’, केशरबहादुरको नागरिकता बनेकोमा खुसी व्यक्त गर्दै पूर्व शिक्षक निरौलाले भने, ‘अब त बुढो हुनुभयो, रोगी हुनुभयो । अर्काकोमा काम गर्न जानसक्नु हुन्न । यस्तो बेलामा नागरिकता बनेपछि कमसेकम राज्यको वृद्ध भत्ताले बाँच्ने सजिलो आधार त बन्यो नि ।’