विश्व शान्ति कायम गर्न प्रेरित गर्दै बौद्ध गुरुहरू

लुम्बिनी । विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रमा बौद्ध गुरुहरूले अहिले विश्व शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन् ।
अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा जारी चौथो त्रिपिटक वाचन समारोहमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध धर्म गुरुहरूले विश्व शान्ति तथा मानव कल्याणका लागि गरेको कामनाले सबैको ध्यानाकर्षण गराएका हुन् ।
समारोहमा नेपाल, भारत, श्रीलङ्का, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरीया, जापानलगायत १६ देशका लामा, बौद्ध भिक्षु भिक्षुणी गरी करिब दुई हजारको सहभागिता रहेको छ ।
महासङ्घले मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बौद्ध साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा यही फागुन २० देखि २५ गतेसम्म सुरु गरिएको आध्यात्मिक कार्यक्रममा बुधबारदेखि चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिएको हो ।
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी विकास कोषका अध्यक्ष लाह्र्याक्याल लामा र महासङ्घका अध्यक्ष भिक्षु बोधिसेन महास्थविरले दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका हुन् ।
शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि करिब ४५ वर्षसम्म विभिन्न स्थानमा निरन्तर प्रदान गरेका उपदेश तथा आध्यात्मिक ज्ञान सग्रहित ग्रन्थ त्रिपिटक हो ।
महासङ्घका कोषाध्यक्ष भिक्षु बोधिज्ञानले विश्वका विभिन्न शक्ति राष्ट्र बिचको द्वन्द्व अन्त्य गरी सुखपूर्वक मानिसको जीवनयापनको अधिकारलाई सुनिश्चित गर्न यस्ता आध्यात्मिक गतिविधि महत्वपूर्ण हुने विचार व्यक्त गरे ।
अभिधर्म, सूत्र र विनय गरी तीन भागमा वर्गीकरण गरिएको त्रिपिटकलाई बौद्ध साहित्यमा मूल ग्रन्थ मानिएको छ । उक्त ग्रन्थलाई विभिन्न भाषामा अनुवाद गरिएको छ । थेरवाद, महायानलगायत सबै सम्प्रदायका बौद्ध धर्मावलम्बीले अवलम्बन गर्ने यो ग्रन्थलाई सम्बन्धित सम्प्रदायको धार्मिक प्रभावअनुसार अभ्यास गर्ने गरेको पाइन्छ ।
बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए । त्यसपछिका ४५ वर्ष उनले मानिसहरूलाई धर्म–दर्शन तथा सामाजिक जीवनका कुरा बताए । बुद्धका ती उपदेशलाई उनीहरू ‘बुद्ध वचन’ का रूपमा स्मृतिमा सँगाल्थे र छलफल समेत गर्थे । तर त्यस बेला लिपिबद्ध गर्ने काम हुन सकेन ।
बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भिक्षु तथा धर्मगुरुले सूत्रपिटकअन्तर्गतको दीर्घ निकायको बह्रमजाल सूत्र वाचन गरेर त्रिपिटक वाचनको सुरुआत गरेका हुन् ।
पाली भाषामा लेखिएको त्रिपिटक ग्रन्थलाई विभिन्न भाषामा अनुवाद गरिएको छ । यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयदेखि महापरिनिर्वाण हुुनुअघिसम्म दिएका प्रवचन सङ्ग्रह गरिएको छ । पाली भाषामा लेखिएको त्रिपिटकमा ८४ हजार धार्मिक उपदेश समावेश गरिएका छन् ।
तिनै सङ्ग्रहको एकमुष्ट समूहलाई नै बुद्ध धर्मको अमूल्य र पवित्र ग्रन्थ मानिएको हो । शान्ति, अहिंसा, कुशल कार्य र मन शुद्धीकरण गर्नका लागि त्रिपिटकको ज्ञान र अध्ययन आवश्यक छ । त्रिपिटक बौद्ध धर्मको एउटै ग्रन्थ नभई गौतम बुद्धका उपदेश, वचन र सूत्रको तीन थरी दृष्टिकोण हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्यले अन्तर्राष्ट्रिय समुदायलाई लुम्बिनीका पुरातात्त्विक महत्वका सम्पदा स्थलबारे प्रचार तथा तीर्थाटनलाई प्रेरित गर्न, बौद्ध शिक्षा, साहित्य तथा दर्शनको महत्वबारे जानकारी गराउन त्रिपिटक वाचन कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बुद्ध वचनको सग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधर्म पिटकको वाचन गरिनेछ । धर्म र विनयको सङ्कलनसहित प्रथम सङ्गायन सम्पन्न भएको एक शताब्दीभित्र बौद्ध धर्ममा विभिन्न फरक मतहरू देखा पर्न थाले ।
प्रथम संगायनदेखि विभिन्न बौद्ध उपदेशलाई सङ्ग्रह गरिएको भए पनि विभिन्न समयमा भएका संगायनपछि विनयलाई तीन पटक विभाजित गरेको पाइन्छ । त्रिपिटक बाचनले गुन्जिएको ग्रन्थले त्यस आसपास क्षेत्रमा सहभागीलाई शान्ति तथा आनन्दको अनुभूति गराएको पाइएको छ ।
बौद्ध साहित्य तथा दर्शनको विकास क्रममा विभिन्न प्रकृतिका मानिस भिक्षु सङ्घमा प्रवेश गरेकाले पनि विवाद आएको पाइन्छ । सम्राट अशोकले भिक्षु सङ्घलाई एकीकरण गर्ने उद्देश्यले महास्थविर मोग्गली पुत्त तिस्सको अध्यक्षतामा पाटलिपुत्रमा तृतीय संगायन गरेको इतिहास पाइन्छ ।
यो संगायन बुद्ध धर्मको इतिहासमा निकै महत्वपूर्ण भएको मानिन्छ । यस संगायनले पारित गरेका नियम अनुसार बुद्ध दर्शनको प्रचार–प्रसार गर्न भिक्षुहरूलाई विश्वका विभिन्न मुलुक पठाएपछि यो धमका रुपमा संसारभर फैलिएको हो ।
सम्राट अशोकलाई बौद्ध मार्गी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका भिक्षु मोगालीपुत्र तिष्य महास्थविरले पाटलीपुत्रमा लगभग ईसापूर्व २४९ अर्थात गौतम बुद्ध महापरिनिर्माण भएको २३६ वर्षमा सम्राट अशोकको समयमा तृतीय बौद्ध सङ्गायन सफलतापूर्वक सम्पन्न गरेका थिए ।
मोगालीपुत्र तिष्यले धर्म र विनयमा राम्रो ज्ञान हासिल गरेका कारण उनको नेतृत्वमा करिब एक हजार भिक्षुले पाटलिपुत्रमा करिब नौ महिनाको समयावधिमा बौद्ध धर्मका तीनै वटा पिटकहरूको सङ्कलन गरिएको हो । उक्त सङ्गायन स्थविर वादीहरूको सङ्गायन थियो । अहिले आधिकारिक पाली त्रिपिटकको आधार यही सङ्गायनले तय गरेको थियो ।
बुद्धको महापरिनिर्वाणपछि भिक्षु महाकाश्यप महा स्थविरको नेतृत्वमा पहिलो संगायन सम्पन्न गरिएको थियो । बुद्धका उपदेश संरक्षण गर्ने उद्देश्यले भएको उक्त संगायनमा सात सय अर्हत भिक्षुसहित ती उपदेश सङ्कलन गर्न थालियो ।
बुद्धले आफूले विभिन्न ठाउँमा दिएका उपदेश तीक्ष्ण स्मरण शक्ति भएका भिक्षु आनन्दलाई सुनाउने गरेका थिए । प्रथम संगायनमा यिनै भिक्षु आनन्दले सुनाएका उपदेश भिक्षु सङ्घबाट अनुमोदन गरिएका थिए ।
ती उपदेश त्रिपिटकभित्रको ‘सूत्र पिटक’ मा सुरक्षित रहेको मानिन्छ । सङ्घमा बुद्धद्वारा निर्दिष्ट नीति नियमलाई बौद्ध धर्मलाई कालजयी बनाउन नीति नियमलाई भिक्षु सङ्घले सङ्ग्रह गरेको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक इन्द्र काफ्लेका अनुसार बौद्ध दर्शनसम्बन्धी गम्भीर कुरा ‘अभिधम्म पिटक’ मा सङ्कलित छन् । ‘अभिधम्म पिटक’ को विषयवस्तु भिक्षु महाकाश्यपको रचना मानिन्छ ।
केही विद्धानले प्रथम संगायनपछि मात्रै यसको रचना भएको मानेका छन । त्यसैगरी वैशालीमा दोस्रो संगायन सम्पन्न गरिएपछि असन्तुष्ट पक्षलाई कारवाही गरिएको थियो ।
उक्त कारवाहीमा परेकाले महासाङ्घिक भेला गरेर महायानी सम्प्रदायको विकास भएको पाइन्छ । तेस्रो सङ्गायनपछि श्रीलङ्का पुगेको त्रिपिटक नै हालको पालि त्रिपिटकको आधार बन्न पुग्यो ।
सम्राट् अशोकले आफ्नी अर्की छोरी चारूमतीलाई धर्म प्रचारका लागि नेपाल पठाएको इतिहास भेटिन्छ ।
सम्राट अशोकले लुम्बिनी र कपिलवस्तु दुई स्थानमा अशोक स्तम्भ राखेको ठाउँ पहिचान भएको र कनकमुनि बुद्धको जन्मस्थल निगालिकोटमा प्रदेश सरकारले कानुनमुनी बुद्धको प्रतिमा राख्ने योजना बनाएको जनाइएको छ ।
सम्राट अशोकले बौद्ध धर्म विकास तथा प्रचार प्रसारमा विशेष योगदान गरेको पाइन्छ । तेस्रो बौद्ध सङ्गायनले बौद्ध धर्ममा देखिएका टुटफुट, विभाजन र अधार्मिक गतिविधिलाई अन्त्य गरी धार्मिक शुद्धता कायम गरिएको थियो ।
समयको विकास क्रमसँगै स्थविरवादभित्रै पनि सामान्य असमझदारी देखिन थालेपछि धर्मको नियम र विनयलाई कडाइका साथ पालना गरियो ।
बौद्ध साहित्यको विकासक्रममा पहिलो संगायनदेखि छैठौसम्मका संगायन गौतमबुद्धका शिष्य, तथा अनुयायीबाट भएको पाइन्छ । ‘त्रिपिटक’ अन्तर्गत ‘सूत्र पिटक’ मा दीर्घ निकाय, मज्झ्मि निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय जस्ता विशाल ग्रन्थ छन् ।
यही पिटकअन्तर्गतको खुद्दक निकाय एउटै ग्रन्थ नभएर खुद्दकपाठ, धम्मपद, उदान, यतिवुत्तक, सुत्तनिपात, विमानवत्थु, थेरगाथा, थेरीगाथा, जातक, निद्देश, महानिद्देश र चुल्लनिद्देश, पटिसम्भिदामग्ग, अपदान, बुद्धवंश, चरिया पिटकजस्ता ठूला–साना ग्रन्थलाई एकीकृत गरिएको हुन्छन् ।
‘विनय पिटक’ भित्र पाराजिकपालि, पाचित्तियपालि, महावग्गपालि, चुल्लवग्गपालि र परिवारपालि हुन्छन् । यस्तै, ‘अभिधम्म पिटक’ मा धम्मसङ्गिणिपालि, विभङ्गपालि, धातुकथापालि, पुग्गपञ्जत्ति, कथावत्थुपालि, यमकपालि, पठ्ठानपालि हुन्छन् ।
समारोहमा सहभागी हुन काठमाडौँस्थित नयाँ बानेश्वरबाट आउनु भएका समाजसेवी तथा शिक्षक प्रदीप शाक्यले थेरवादी सम्प्रदायसँग सम्बन्धित त्रिपिटक पुरानो ग्रन्थ भएको बताउँदै महायानी सम्प्रदायले मौलिक संस्कृत भाषामा रहेका अन्य ग्रन्थलाई आधार मान्ने गरेको जानकारी दिनुभयो ।
महायानीले ‘कंग्यूर’ र ‘तेंग्यूर’लाई मूल ग्रन्थ मानेका छन् । यसमा सूत्र र शास्त्रको वर्गीकरण गरिएको छ । बुद्धका उपदेशलाई सूत्र जसलाई कंग्यूर तथा सोही सूत्रको आधारमा विभिन्न विद्वानले गरेको व्याख्यालाई शास्त्रलाई तेंग्यूरका रुपमा व्याख्या गरिएको छ ।
बौद्ध साहित्यमा ‘त्रिपिटक’ बाहेक अन्य ग्रन्थहरू पनि समावेश गरिएकाले सामान्य रुपमा मानिसलाई चार आर्य सत्य, पञ्चशील, अष्टशिलको अध्ययन जीवनउपयोगी हुन सक्छ ।
बोधिसत्व प्राप्त गर्ने विषयलाई लिएर हिनयान र महायानी बौद्ध दर्शनमा भिन्न दृष्टिकोण पाइन्छ । अर्हत्व प्राप्त गर्ने विषय थेरवादको उद्देश्य हो भने महायानीले बोधिसत्व प्राप्त गर्ने विषयलाई प्रमुख दृष्टिकोण बनाएका छन् ।
सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि शाक्यमुनि बुद्धका रुपमा परिचित भए । विश्व ब्रम्हाण्डका समग्र जीव प्राणीको कल्याण गर्ने तथा जीवन र दर्शनलाई हेर्ने दृष्टिकोण नै बौद्ध दर्शनका रुपमा विकास भएको पाइन्छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो पटक अन्तर्राष्ट्रिय सामूहिक त्रिपिटक वाचन सुरु भएको उक्त कार्यक्रममा आध्यात्मिक एवं धार्मिक गतिविधिले त्यस क्षेत्रको महिमा थप उचाइमा पुगेको छ ।
करिब डेढ दशकदेखि भारतको बोधगयामा हुँदै आएको छ । सामूहिक वाचनमा विभिन्न देशका गरी करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी छन् । यहाँ सहभागी हुने पर्यटकलाई लुम्बिनी तथा त्यस आसपासका सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् ।
मायादेवी मन्दिरलगायत, बेबी बुद्धको मूर्ति राखिएको स्थान, शान्तिदीप, विश्वशान्ति स्तूपलगायत शान्त वातावरणमा मन पराउने पर्यटकका लागि यो क्षेत्र निकै उपयुक्त छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट लाखौँको सङ्ख्यामा तीर्थालु, तथा अध्येताहरू सो स्थानमा आउने गरेका छन् ।
बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पाले आध्यात्मिक ज्ञानमार्फत प्राप्त हुने सकारात्मक ऊर्जाले विश्वमा शान्ति भई सबैले सुख पाउने विश्वास व्यक्त गर्दै उक्त समारोहको सन्देश सम्पूर्ण मानव समुदायका लागि प्रभावकारी हुने बताए ।
ईपू ६२३ मा लुम्बिनीमा मायादेवीको गर्भबाट गौतम बुद्धको जन्म भएको हो भने जन्मस्थानलाई कलात्मक शैलीको मायादेवी मन्दिर मन्दिर बनाइएको छ । मन्दिर परिसरमा बाहिर अखण्डदीप छ, त्यसलाई शान्ति दीप पनि भनिन्छ ।
यस क्षेत्रमा रहेको सेक्रेट गार्डेन, स्तूप क्षेत्र, पुरातात्त्विक सम्पदा स्थल, मन्दिरको अवलोकन गर्न तथा बुद्धका जीवनीसँग सम्बन्धित खोज तथा अनुसन्धानका लागि लुम्बिनी आसपास क्षेत्र बौद्ध तीर्थालु, अनुसन्धानकर्ता, पर्यटक, कूटनीतिज्ञले भ्रमण गर्ने गरेका छन् ।
गौतम बुद्धका सन्देश आध्यात्मिकता, शान्ति, विश्व बन्धुत्व र करुणा, झल्किने वातावरणको सिर्जना गर्न सहयोग पुग्ने लुम्बिनी क्षेत्रमा थेरवादी र महायानी बौद्धमार्गीका अलग अलग विहार तथा गुम्बा छन् । यहाँ दुर्लभ पंक्षी संरक्षण गर्ने उद्देश्यले सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ ।