न्यायोचित आवश्यकताको सहज पूर्ति हुनुपर्छ : प्रधानमन्त्री


विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनुपर्ने बताएका छन् ।
कोशी प्रदेशसभाको छैटौँ अधिवेशनको २३ औँ बैठकलाई आज सम्बोधन गर्दै उनले प्रदेश सरकारलाई विकास र सुशासनको लागि उचित नीति बनाउन सुझाव दिए ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुरुआतको थोरै अवधिमा धेरै काम भएको स्पष्ट पारे ।
व्यवस्थामा परिवर्तन आयो तर अवस्थामा परिवर्तन नआएको भाष्य गलत भएको भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई पूरा गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कृषि, उद्योग, पर्यटन, सेवा, शिक्षा स्वास्थ्य, वातावरण र रोजगारीका क्षेत्रमा सरकारले निकै सराहनीय काम गरेको दाबी गर्दै प्रधानमन्त्रीले बेरोजगारी अन्त्य गर्न उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।
उनले मुलुकको आर्थिक विकास गर्न र जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सात वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई रक्षा गर्छ भने ।
प्रधानमन्त्री ओलीले कोशी प्रदेश ज्ञान, सभ्यता र त्यागको भूमि भएको बताउँदै सन्तुलित वातावरण र उचित पर्यावरण बनाउन कोशी प्रदेशका हिमालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
‘प्राकृतिक हिमाल र भूगोल एवं सम्पदाको धनी कोशी प्रदेश हाम्रो लागि गौरव हो,’ प्रधानमन्त्री ओलीले भने, ‘जातजाति, धर्म, संस्कृति र कलाको धनी यो प्रदेशमा अनेक प्राकृतिक सम्पदा र धार्मिक आस्थाका धरोहर छन् ।’ उनले दिगो विकास लक्ष्यमा नेपाल ४८ प्रतिशत प्रगति हासिल गरेको दाबी गरे ।
‘म शान्ति, राष्ट्रिय एकता र विकासका निम्ति अडिग छु । व्यावसायिक दक्षताको कमीका कारण नेपाली श्रमिक उचित पारिश्रमिक नपाउने कारणले वैदेशिक रोजगारमा जाने गरेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रमा नै सामाजिक न्याय र समानता हुन्छ एवं नागरिकको सर्वोच्चता कायम हुन्छ ।’
सरकार भ्रष्टाचारलाई नियन्त्रणको बाटोमा अघि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा एकजुट भएर अघि बढ्न आग्रह गरे ।
उनले कोशी प्रदेश सरकार सक्रियता र सक्षमताका साथ अघि बढ्नुपर्ने र यसका लागि सङ्घीय सरकार सहयोग गर्न तत्पर रहेको बताए ।
प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै देशको मुहारलाई फेर्न सरकार सुशासन र समृद्धको बाटोमा तीव्र गतिमा काम गरिरहेको बताए ।
