साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छ : विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोबास गर्ने समुदायहरूको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेलेको बताएकी छन् ।

शुक्रवारदेखि काठमाडौंमा सुरु भएको ‘हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले नेपाल हिमवत्खण्डको केन्द्रस्थल र विश्वमा मानव सभ्यताको आदिभूमि भएको उल्लेख गरिन् । उनले प्राचीन समयको साझा पौराणिक भूगोलका बासिन्दाहरू आज विविध मुलुकका नागरिक भएतापनि हामी बीचमा सभ्यताकोसाझा धागो र संस्कृतिको सुन्दर सेतु रहेको बताइन् । उनले प्रत्येक राष्ट्रका आफ्नै कर्तव्य र दायित्वहरू रहेको उल्लेख गर्दै यसलाई मुलुकको विशिष्ट र प्राकृतिक विशेषता मान्नुपर्ने बताइन् ।

उनले भनिन् ‘हिमवत्खण्डभित्र बसोबास गर्ने विविध समुदायबिच कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने छ । प्राचीन समयको साझा पौराणिक भूगोलका बासिन्दा हामी आज विविध मुलुकका नागरिक भएका छौं । तथापि हाम्रा बीचमा सभ्यताको उही साझा धागो र संस्कृतिको त्यही सुन्दर सेतु छ । जसले हामीलाई आपसमा जोडेको छ र भविष्यमा पनि जोडिरहने छ । अवश्य पनि हाम्रा बीचमा भाषिक भिन्नताहरू छन् । हाम्रा सोच्ने तरिकाहरू फरक छन् र हाम्रा आफ्नै कर्तव्य र दायित्वहरू छन् । ती विविधतालाई हामीले हाम्रा विशिष्ट र प्राकृतिक विशेषता मान्नुपर्छ भन्ने मलाई लाग्दछ । हाम्रा राष्ट्रहरूका सन्दर्भमा पनि यी कुराहरू उत्तिकै लागू हुन्छन् ।’

उनले हिमवतखण्ड नेपालमा सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको उल्लेख गरिन् । यही भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको उनको भनाइ छ । आउँदो आईतवारसम्म चल्ने सम्मिलनमा सात वटै प्रदेशका साथै भारत, चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्याण्डमा बसोबास गर्ने नेपाली सहभागीहरूको समेत सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *