इटहरा सरोकार समाज र काठमाडौँ मेडिकल कलेजबीच विशेष छुट सम्झौता


काठमाडौँ । इटहरा सरोकार समाज र काठमाडौं मेडिकल कलेज, सिनामंगलबीच स्वास्थ्य सेवा प्रदान सम्बन्धी विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौतामा समाजका सदस्यहरूले ओपिडी उपचारमा २५ प्रतिशत र भर्ना भई उपचार गराउँदा ५० प्रतिशत छुट पाउने उल्लेख छ ।
समाजका अध्यक्ष डा. विष्णुप्रसाद दाहाल र काठमाडौं मेडिकल कलेजकी कार्यकारी अध्यक्ष सोईना शर्माले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा इटहरा सरोकार समाजका सदस्यहरू, विशेष गरी काठमाडौं उपत्यकामा बसोबास गर्ने सदस्य तथा उनीहरूको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सांसद डा. सुनिल शर्मा, इटहरा सरोकार समाजका अध्यक्ष दाहाल र अन्य सदस्यहरूका साथै नोबेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा बरालको पनि उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार साधारण ओपिडी, भर्ना उपचारका साथै विशेष सेवाहरू (IVF, Liver Transplant लगायत) मा छुट उपलब्ध हुनेछ । यद्यपि, स्वास्थ्य बीमा, औषधि, इम्प्लान्ट, सर्जिकल सामग्री, कन्सुमेबल आइटम्स तथा सरकारद्वारा निःशुल्क प्रदान गरिने सेवाहरूमा छुट लागू नहुने स्पष्ट गरिएको काठमाडौँ मेडिकल कलेजले जनाएको छ ।
सम्झौताको अवधि एक वर्ष कायम रहनेछ र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिनेछ । आपत्कालीन सेवाका लागि अस्पताल र समाज बीच सम्पर्कमा रहने फोन नम्बरहरू समेत उपलब्ध गराइएको जनाइएको छ ।
