सांसद घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिबारे माफी माग्नुपर्छ : सांसदहरू

काठमाडौँ । नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको राष्ट्रिय सभामा समेत विरोध भएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै सत्तारुढ दल नेकपा एमाले सांसद रुक्मिणी कोईरालाले उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् ।

नेपाली समाजको मूल्य, मान्यताविपरित गरिमामय सदनमा यति निष्कृष्ट धारणा राख्ने अधिकार उनलाई कसले दियो ? भन्दै सांसद कोईरालाले प्रश्न समेत गरे ।

उनले त्यस्तो अभिव्यक्तिले समाजमा पर्ने असरको समेत हेक्का नराखी अभिव्यक्ति दिएका सांसद घिमिरेले माफी माग्नुपर्ने बताए ।

उनले भने ‘हिजो प्रतिनिधि सभामा एकजना माननीयज्यूले बोल्नेक्रममा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्नेजस्तो घोर आपत्तिजनक विषय राख्नुभएको छ । नेपाली समाजको मुल्यमान्यता विपरित गरिमामय सदनमा यति निष्कृष्ट धारणा धारणा राख्ने अधिकार उहाँलाई कसले दियो ? समाजमा पर्ने असरलाई उहाँले अलिकति पनि हेक्का नराखी गलत भाष्य स्थापित गर्न खोज्ने माननीयले अविलम्ब माफी माग्नुपर्छ ।’

नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्राको पदोन्नति किन भएन ? प्रश्न गरिन् । उनले मधेसी महिला भएकै कारणले मिश्राको पदोन्नति नगरिएको कारण स्वास्थ्यमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताइन् ।

उनले भनिन् ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको पदोन्नति किन भएन ? मधेसी भएको कारणले कि मधेसी महिला भएको कारणले ? यो विषयमा सम्बन्धित मन्त्रीले सदनमा जवाफ दिओस् भन्ने म माग राख्न चाहन्छु । नेपाल सरकारका मन्त्रीहरू कहिले कर्मचारीलाई शून्य नम्बर दिएर र कहिले पदोन्नति रोकेर के गर्न खोजिराख्नु भएको छ ? यसको जवाफ पनि उहाँहरुले दिनुपर्यो ।’

उनले सरकार कहिले कर्मचारीलाई शून्य नम्बर दिएर त कहिले पदोन्नति रोकेर के गर्न खोजिरहेको हो भनेर समेत प्रश्न गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *