गाउँ फर्किनेको कथा

काठमाडौँको घर बेचेर गाउँमा फार्मस्टे (भिडिओ)

काठमाडौँ । पछिल्लो समय गाउँ छोडेर सहरमा बसाइँ सराइ गर्ने चलन बढ्दै छ । गाउँमा सम्भावना नदेखेर आफ्नो थातथलो छाडेर सहर छिर्ने क्रम रोकिएको छैन ।

तर, तनहुँको भानु नगरपालिका वडा नम्बर ९ घर भएकी गीता अधिकारी (पाण्डे) भने सहर छाडेर गाउँ फर्किएकी छन् । उनले काठमाडौँको घर बेचेर गाउँमा फार्मस्टे सञ्चालन गरेकी छन् । उनले तनहुँको चितीखोलामा ग्रिन हिमालय फार्मस्टे सञ्चालन गरेकी हुन् ।

गीता र उनको परिवारले सहरको सुख सयलको जिन्दगी चलाइरहेको थियो । सोसोलोजि र रुलरडेब्लोमेन्टमा बिए पास गरेकी पाण्डे एनजिओ आइएनजीओमा काम गर्थिन् । उनले १६ वर्षसम्म गैरसरकारी संस्थामा योगदान दिइन् ।

त्यसपछि भने पाण्डेले गाउँ फर्किने निधो गरिन् । उनले गाउँमा बाबुबाजेको जग्गा जमिनलाई संरक्षण गरेर केही नयाँ काम गर्ने योजना बनाइने । र गाउँमा फार्मस्टे सञ्चालन गर्ने उद्देश्य ल्याएर उनी गाउँ फर्किइन् ।

उसो त, गीतालाई गाउँ नफर्कन सल्लाह दिनेहरू पनि धेरै थिए । तर, उनको आफ्नो दृढ इच्छाशक्तिकै कारण उनी गाउँ फर्किइन् र व्यवसायमा लागिन् ।

‘काठमाडौँको घर बेचर यहाँ आउनु ठुलो कुरा थियो । मान्छेहरूले किन यस्तो गरेको, गाउँ किन फर्किएको भनेर प्रश्न गर्थे,’उनले भनिन्, ‘एकै पटक यो सब गर्न सकेको होइन, धेरै जोखिम र धैर्यताकै कारण यो अवस्थामा आयौँ ।’

ठुलो आत्मबल र विश्वास लिएर उनी काठमाडौँको घर बेचेर तनहुँमा व्यवसाय गर्न थालेको ४ वर्ष भयो । गीता अहिले सफल व्यवसायीका रूपमा स्थापित भइसकेकी छन् । उनले ६ जना युवाहरूलाई आफ्नै फार्मस्टेमा रोजगार दिएकी छन् ।

‘धेरै नाफा कमाउने उद्देश्य नै छैन, आफ्नो जग्गा र गाउँ संरक्षण गर्न सहर छाडेर गाउँ आएका हौँ,’उनले भनिन्, ‘यो फार्मस्टेमा काम गर्न ६ जनालाई रोजगारी दिएका छौँ, यहाँको खर्च चलाउन पुगेको छ ।’

गाउँको स्वाद चखाउने ‘ग्रिन हिमालय फार्मस्टे’

काठमाडौँको घर बेचेर करोडौँ खर्च गरेर चितीखोलामा ग्रिन हिमालय फार्मस्टे बनेको छ । हरियाली वातावरण, थरी थरीका परिकार र रैथाने स्वादले परिचित छ यो फार्मस्टे । ग्रिन हिमालय फार्मस्टे गाउँघरको पुरानो सम्झनालाई ताजा बनाउने एक सुन्दर स्थल हो । यस फार्मस्टेको घरलाई बाँसको डिजाइन र खरको छानोले बनाइएको छ ।

पुर्खाले निर्माण गरेको घरलाई नै पुन निर्माण गरेर आकर्षक बनाइको छ । हेर्दा सामान्य लागे पनि घरभित्र भने कुनै पाँचतारे होटेल भन्दा कम छैन । फार्मस्टेमा बनाइएका संरचनाले नै पर्यटकको मन तान्छ । परापूर्व कालदेखिको लिचीको रुखलाई पनि संरक्षण गरिएको छ । यो लिचीको रुखलाई संरक्षण गर्नकै लागि ‘ट्रि हाउस’ बनाइएको छ ।

यति मात्रै होइन, यस फार्मस्टेमा लोप हुन लागेका विभिन्न सामाग्री पनि राखिएका छन् । गाउँको रीतिरिवाज, संस्कृति र परम्परा झल्काउने ढिकी, जाँतो, हलो, जुवा, ठेकी लगायतका पुराना सामानहरूलाई सजाएर राखिएको छ ।

यहाँबाट यस वरपर देखिने सुन्दर वातावरण पनि अवलोकन गर्न सकिन्छ । यहाँबाट लमजुङको सुन्दर दृश्य पनि अवलोकन गर्न सकिन्छ । प्रकृतिमा रमाउनेहरूको लागि यो ठाउँ निकै नै आनन्ददायी रहेको छ ।

सुन्दर र आन्तरिक पर्यटकको लागि उपयुक्त मानिने यस ठाउँमा मानिसहरूको आउजाउ भइरहन्छ । यहाँ काठमाडौँ, चितवन, धादिङ र तनहुँकै विभिन्न ठाउँबाट पनि मान्छेहरू अवलोकन गर्न आउँछन् ।

यस ठाउँको अवलोकन गर्नका लागि स्कुल, कलेज र विभिन्न सङ्घ संस्थाहरूबाट मानिसहरू आउने गर्दछन् । यहाँको सेवा सुविधा र सुन्दर वातावरणले जो कसैलाई लोभ्याउँछ ।

यहाँ आउने पर्यटकलाई रैथाने स्वाद चखाइन्छ । गाउँमै उत्पादन भएका खाध्यन्नबाट बनाइएका परिकारहरू नै खुवाइन्छ । यहाँ आउने पर्यटकले चाहे जस्तै परिकार खुवाउने गरेको सञ्चालक अधिकारी बताउँछिन् । आफ्नै फर्ममा मौसम अनुसारको जे उत्पादन हुन्छ त्यही पाहुनालाई खुवाउने गरेको अधिकारी बताउँछिन् ।

‘यहाँ आउने पाहुनाहरूलाई गाउँघरमा पाक्ने खानाहरू दिने गर्दछौँ । ढिकीमा कुटेको खाना, घरमै पालेको लोकल कुखुराको मासु, घरमै फलाएको तरकारीहरू नै खुवाउने गरेको छु,’ उनले भनिन् ।

ग्रिन हिमालयन फार्मस्टेलाई अझै आकर्षित बनाउनको लागि बोटिङ पनि सञ्चालनमा ल्याउने योजना रहेको सञ्चालक अधिकारी बताउँछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *