तीन संगठनको प्यानललाई हराउँदै स्वतन्त्र उम्मेदवार कार्की विजयी

काठमाडौं । सुनसरीको धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्वतन्त्र उम्मेदवार पेसलराज कार्की विजयी भएका छन् । उनले विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त प्यानललाई पराजित गर्दै सभापति पद हासिल गरेका हुन् ।

कार्कीले अनेरास्ववियुका क्रिस श्रेष्ठलाई ४१३ मतका साथ पराजित गरे । श्रेष्ठले ३६४ मत प्राप्त गरेका थिए । स्ववियु सचिव पदमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विश्वेश्वरप्रसाद बडु निर्वाचित भए भने कोषाध्यक्ष पद स्वतन्त्र उम्मेदवार नाम्छाङ राईले जिते ।

सुनसरीका विभिन्न क्याम्पसमा भएका निर्वाचनका नतिजा फरक-फरक देखिए । जनता क्याम्पस इटहरीमा चुनाव नै हुन सकेन भने पिण्डेश्वर विद्यापीठमा सहमतिका आधारमा अनेरास्ववियुले नेतृत्व पायो ।

अन्य क्याम्पसहरूमा नेविसंघको प्रभाव देखियो । सुनसरी बहुमुखी क्याम्पस, सप्तकोसी बहुमुखी क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पूर्वाञ्चल क्याम्पस धरानमा सभापति पदमा नेविसंघका उम्मेदवारहरू विजयी भए ।

विशेषगरी महेन्द्र क्याम्पस धरानमा नेविसंघले लगातार दोस्रो कार्यकाल जितेको छ । अघिल्लो पटक यहाँ अनेरास्ववियुले नेतृत्व लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *